नेभिगेशन
नेपाल
देशभर अविरल वर्षासँगै बाढीपहिरो

पहिरोमा दुईको मृत्यु, सडक र विद्युत् आयोजनामा क्षति

रसुवागढीको उत्पादन बन्द

काठमाडौं । देशभर निरन्तर भइरहेको वर्षासँगै आएको बाढीपहिरोले जनधन तथा भौतिक संरचनामा क्षति पु¥याएको छ । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा सडक अवरुद्ध, जलविद्युत् आयोजनामा क्षति भएको छ । नदीको बहाव बढेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा सोमबार दिउँसो पानीघट्टमा गएका बेला माथिबाट आएको पहिरोले पुरिँदा धामीगाउँकी ४६ वर्षीया मन्दिरा साउद र ७६ वर्षीय लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएका दुवै जनाको उद्धार गरिए पनि उनीहरूको ज्यान बचाउन सकिएन । शव परीक्षणका लागि चिकित्सकको टोली घटनास्थलतर्फ पठाइएको छ ।
यता कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित निर्माणाधीन ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा किम्रुङ खोलामा आएको लेदोसहितको बाढी पसेर ठूलो क्षति पुगेको छ । बाढीले कंक्रिट उत्पादन केन्द्र, गिट्टी प्रशोधन केन्द्र, सुरुङ, अस्थायी टहरा तथा निर्माण सामग्रीमा क्षति पु¥याएको छ भने आयोजनास्थल जोड्ने पहुँच सडक पनि विभिन्न स्थानमा भत्किएको छ । 
प्रारम्भिक रूपमा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । सोही बाढीले किम्रुङ खोलाको झोलुङ्गे पुल बगाउनुका साथै स्याउली बजार क्षेत्रमा घर, रेष्टुराँ र सडकमा समेत क्षति पु¥याएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा लेदोसहितको पहिरो झर्दा कालीगण्डकी करिडोर सोमबार करिब आठ घण्टा अवरुद्ध भएको थियो । डोजर प्रयोग गरी पहिरो हटाएपछि सडक सञ्चालनमा आएको भए पनि जोखिम कायमै रहेकाले सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
मकवानपुरमा लगातारको वर्षापछि बाढी, पहिरो र खोलामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले हेटौंडा–ललितपुर जोड्ने कान्ति लोकपथमा अनिश्चितकालका लागि सवारी आवागमन बन्द गरेको छ । साथै हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी हुँदै काठमाडौं जाने सडकमा सोमबार साँझदेखि मंगलबार बिहानसम्म सवारी सञ्चालन रोक लगाएको छ ।
सर्लाही र रौतहटको सीमाबाट बग्ने बागमती नदीमा सोमबार यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ । नुनथरस्थित पधेरादोभान जलमापन केन्द्रमा मध्यान्ह जलसतह उच्च भएको थियो । अपराह्नदेखि जलसतह घट्न थाले पनि माथिल्लो क्षेत्रमा पुनः वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
उता अविरल वर्षाका कारण जोखिम बढेपछि चितवन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । पहिरोको जोखिम रहेका स्थानमा यात्रा गर्दा सुरक्षा निकायसँग समन्वय गर्न तथा नदी किनार र पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

जल तथा मौसम विज्ञान विभागले मंगलबार पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा केही तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै विभागले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

रसुवागढीको उत्पादन बन्द 
 ल्हेन्दे खोलामा पानीको सतह बढेर बाढीको जोखिम बढेपछि नेपाल–चीन सीमामा सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत केन्द्रको विद्युत उत्पादन बन्द गरिएको छ । बाढीको माटो र काठका टुक्रा मिसिएको लेदोबाट विद्युतगृहका उपकरणमा हुने सम्भावित क्षतिलाई मध्यनजर गरी अस्थायीरूपमा विद्युत उत्पादन बन्द गरिएको हो । 
गत वर्ष असार २४ मा आएको बाढीले आयोजनाको बाँध, इन्टेक तथा अन्य संरचनामा क्षति पुग्दा लामो समय उत्पादन बन्द हुनुका साथै ठूलो  नोक्सानी भएको थियो । मर्मत तथा पुनर्निर्माणपछि आयोजना सञ्चालनमा ल्याइएको हो । यसपटक सम्भावित जोखिमलाई ध्यानमा राखेर हाललाई उत्पादन रोक्ने निर्णय गरिएको जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीले बताए । उनका अनुसार सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको छ । ‘आइतबार साँझदेखि विद्युत् उत्पादन बन्द गरिएको छ । खोलाको बहाव र मौसमको अवस्थालाई निरन्तर हेदैछौं । स्थिति सामान्य भएपछि विद्युत् उत्पादन थाल्छौं,’ उनले भने । 
उता लगातारको वर्षासँगै भोटेकोशी नदीको जलस्तर बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक ट्रक तथा नयाँ आयात गरिएका सवारीसाधनलाई सुरक्षित स्थानमा सारिएको छ । त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम बढेपछि सवारीसाधन स्थानान्तरण गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्