नेभिगेशन
नेपाल

नागरिक अभियन्तालाई बिदाइ

काठमाडौं । नागरिक अगुवा, पूर्वअर्थमन्त्री तथा प्रखर बौद्धिक व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा शनिबार अन्त्येष्टि गरिएको छ । ८७ वर्षको उमेरमा शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित आफ्नै निवासमा उनको निधन भएको थियो । क्यान्सरबाट पीडित पाण्डेलाई ह्याम्स अस्पताल र त्यसपछि पाटन अस्पतालमा उपचार गरिए पनि अन्तिम समय परिवारको इच्छाअनुसार घरमै राखिएको थियो । शुक्रबार साँझ परिवारका सदस्यहरूको उपस्थितिमा उनको निधन भएको नागरिक अभियानकर्मीहरूले जानकारी दिएका छन् ।
पाण्डेको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि, लेखक, अभियन्ता तथा शुभेच्छुकहरू पशुपति आर्यघाट पुगेका थिए । कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए । नेकपाका नेता श्रेष्ठले लोकतान्त्रिककरण र मुलुकको रूपान्तरण प्रक्रियामा पाण्डेको योगदान अतुलनीय रहेको भन्दै उनको निधनले राष्ट्रले एक दूरदर्शी नागरिक अगुवा गुमाएको बताए ।
यसैबीच नेपाली कांग्रेसले पनि शोक वक्तव्य जारी गर्दै पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जारी गरेको वक्तव्यमा पाण्डेको निधनसँगै मुलुकले नैतिक नेतृत्व, प्रखर बौद्धिक व्यक्तित्व र लोकतान्त्रिक मूल्यका दृढ पक्षधर गुमाएको उल्लेख गरिएको छ । लोकतन्त्रको सुदृढीकरण, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन, पारदर्शिता र उत्तरदायी शासन व्यवस्थाका पक्षमा उनले पु¥याएको योगदान इतिहासमा सम्मानका साथ स्मरण गरिने कांग्रेसले जनाएको छ । २०६२÷६३ को जनआन्दोलनका क्रममा नागरिक समाजको नेतृत्व गर्दै निरंकुशताविरुद्ध उनले खेलेको भूमिका लोकतान्त्रिक आन्दोलनको अमूल्य सम्पत्ति भएको वक्तव्यमा उल्लेख छ ।
काठमाडौंमा जन्मिएका पाण्डेले त्रिचन्द्र कलेजबाट प्रारम्भिक उच्च शिक्षा, त्यसपछि भारतको इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तर तथा अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि गरेका थिए । १९६१ मा नेपाल सरकारको प्रशासनिक सेवामा प्रवेश गरेका उनी १९७८ देखि १९८० सम्म अर्थसचिव रहे । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँगको मतभेदपछि उनले पदबाट राजीनामा दिएका थिए । २०४६ सालको जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा २०४७–२०४८ सालसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
डा. पाण्डे २०४६ र विशेषगरी २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनका प्रमुख नागरिक अगुवामध्ये एक थिए । लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनमार्फत उनले लोकतन्त्र पुनःस्थापनाको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । सुशासन, भ्रष्टाचार नियन्त्रण, उत्तरदायी राज्य व्यवस्था, मानव अधिकार र नागरिक स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउने उनी ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष पनि थिए । अर्थनीति, लोकतन्त्र, विकास र सुशासनका विषयमा नेपाली तथा अंग्रेजी भाषामा उनले अनेक पुस्तक लेखेका छन् । नेपालको विकासलाई सुशासन, संस्थागत उत्तरदायित्व, सामाजिक न्याय र नागरिक सहभागितासँग जोडेर विश्लेषण गर्ने बौद्धिक व्यक्तित्वका रूपमा डा. देवेन्द्रराज पाण्डे सदैव स्मरणीय रहनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्