नेभिगेशन
प्रदेश

अविरल वर्षाले ६ राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीपहिरोले जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा बागलुङको जैमिनी–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएका छन्। म्याग्दीको बेनी–दरबाङ सडकखण्ड पनि फापरखेतको घुमाउने भीरमा पहिरो खसेपछि बन्द भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी तथा केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बढ्दो विपद् जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने छोटोमार्ग (देउराली–कुलेखानी–फर्पिङ) मा शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म र कान्ति लोकपथमा साँझ ६ बजेदेखि सवारी सञ्चालन रोकेको छ । बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेकाले यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ ।
यस्तै, काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि मनसुन सक्रिय रहेकाले उपत्यकामा प्रवेश तथा बाहिरिने सबै मार्ग प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सकेसम्म रातिको यात्रा नगर्न, अत्यावश्यक यात्रा गर्नुपरे मौसमको अद्यावधिक जानकारी लिन तथा स्थानीय प्रशासनसँग सडक अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

प्रहरी र सम्बन्धित निकायले पहिरो हटाएर अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्