नेभिगेशन
नेपाल

‘म पदको स्वाद लिन आएकी होइन’

काठमाडौं, २९ भदौ - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको स्वाद लिन नभइ काम गर्न आएको बताएकी छन् । सिंहदरबारस्थित नयाँ भवनमा आइतबार औपचारिक रूपमा पदबहाली गरेपछि उनले उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिदै भनिन्, ‘म पदको स्वाद लिन आएको होइन, युवापुस्ताको चाहना र भावनाअनुरूप सेवा गर्न आएको हुँ । भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता सुनिश्चित गर्नका लागि अठोटका साथ काम गर्नुपर्छ । मेरो लक्ष्य ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी नयाँ संसद्लाई जिम्मेवारी हस्तान्तरण गर्नु हो ।’

गत शुक्रबार बेलुकी अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले गृहमन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा पदबहाली गरेकी हुन् । आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ध्वस्त पारिएको थियो । त्यसैले सिंहदरबार परिसरको गृहको नयाँ भवनलाई विकल्पमा प्रयोग गरिएको हो ।

उनले पदबहाली गर्दा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरूको उपस्थिति थियो । पदभार ग्रहणलगत्तै प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणबारे जानकारी लिएकी थिइन् । उनले परिस्थिति असामान्य भएको उल्लेख गर्दै छिटो परिणाम दिनु आवश्यक रहेको बताइन् ।

आन्दोलनमा सरकारी संरचना ध्वस्त पारिनु आफूलाई ‘षड्यन्त्र वा  नियोजित हो कि भन्ने लागेको’ उनले बताएकी छन् । प्रधानमन्त्री कार्कीले हालको संकटलाई दुर्भाग्यपूर्ण भन्दै अनेकौं महत्वपूर्ण संरचना ध्वस्त पारिएको घटनामा दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘मुख्य निकायका प्रमाण र अभिलेख नष्ट भएका छन् । सुरक्षा निकायलाई दिइएका सवारीसाधन जलेका छन् । सिंहदरबारदेखि अदालत र अनुसन्धान आयोगसम्म आक्रमण गरिएको छ । यस्तो काम नेपालीकै हातबाट भएको हो भने यो देशकै लागि लज्जास्पद हो ।’ 

उनले यस्तो घटना नेपालमा पहिलोपटक भएको उल्लेख गर्दै यसलाई नियोजित षड्यन्त्रको रूपमा लिन सकिने आशंका व्यक्त गरिन् । उनले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन् ।

क्षतिग्रूत संरचना पुनःनिर्माणमा उपलब्ध स्रोतसाधनकै प्रयोग गर्नुपर्ने उनले बताइन् । कठिन अवस्थालाई एकताबद्ध भएर सामना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भनिन्, ‘म हिजो महाराजगञ्ज पुग्दा त्यहाँ  जलेको प्रहरी वृत्त पुनःनिर्माण गर्ने जिम्मा व्यवसायीहरूले लिने बताए । यसरी सबै मिलेर पुनःनिर्माणमा जुट्नुपर्छ ।’

मुख्यसचिव एकनारायण अर्यालले समेत सरकारी कार्यालयदेखि सुरक्षा निकायका संरचनासम्म क्षति पुगेको जानकारी दिए । उनले सेवा प्रवाहलाई निरन्तरता दिन पुनःस्थापना अनिवार्य भएको बताउँदै प्राथमिकताका आधारमा बजेट व्यवस्थापन गरेर पुनःनिर्माण सुरु गर्नुपर्ने आवश्यकता औंल्याए ।

आइतबार बिहानै लैनचौर र सहिद गेट पुगेर सहिदका सालिकमा माल्यार्पण गरेकी कार्कीले फर्केर सिंहदरबार आइ पदभार ग्रहण गरेपछि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गरिन् । ‘मुख्य सचिवसँग छलफल गरेर मृतकका परिवारलाई राहत दिन निर्णय भएको छ । प्रदर्शनका क्रममा ज्यान गुमाउने परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयमा मैले हस्ताक्षर गरिसकेको छु,’ उनले भनिन् ।

त्यसैगरी घाइते हुनेलाई उपचार खर्चसहित केही राहत दिने, मृतकका परिवारलाई काठमाडौंमा बस्दा लागेको खर्च बेहोर्ने र शवलाई घरसम्म पुर्‍याउने व्यवस्थासमेत गर्ने निर्णय सरकारले गरेको उनले जानकारी दिइन् ।

कार्कीले विभाजन र आलोचनाबाट होइन, सहकार्य र एकताबाट मात्र संकट पार गर्न सकिने बताइन् । उनले भनिन्, ‘आफ्ना ठाउँमा सबैले योगदान गर्नुपर्छ । एकअर्कामाथि दोष थोपर्ने होइन, सँगै  मिलेर अघि बढ्ने समय हो ।’ 

मुख्यसचिव अर्यालले पनि मुलुकलाई पुनःनिर्माण गर्न अब विदेशमा रहेका नेपालीको पनि योगदान जरुरी रहेको औंल्याए । ‘देशभित्र मात्र होइन, बाहिर रहेका नेपालीले समेत यस अभियानलाई साथ दिनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्