नेभिगेशन
नेपाल

सुमनाले छाडिन् रास्वपा

काठमाडौं, २९ भदौ - राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरेकी हुन् । ‘आइ क्वीट’ भन्दै पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि प्रकट गरेकी उनले करिब चार मिनेटको भिडियो पनि पोस्ट गर्दै ‘नेपाललाई गाह्रो परेको छ, दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नेबेला आएको’ बताएकी छन् ।

श्रेष्ठले आफ्नो पोस्टमा लेखेकी छन्, ‘कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गर्ने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोक्नुपर्ने प्रवृत्ति अब अस्वीकार्य छ । आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गर्ने संस्कारसँग म सहमत हुन सक्दिनँ ।’ उनको भनाइमा रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेपछि आफू लगातार आलोचना गर्दै आएकी थिइन्, तर त्यसले कुनै प्रभाव नपारेको र बरु उल्टै आक्रमण सहनुपरेको बताएकी छन् ।

उनले पार्टी त्यागको घोषणा गर्दै थप लेखेकी छन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छोडें ।’

यससँगै उनले कांग्रेस र एमालेलगायतका दलका तेस्रो पुस्ताका नेताहरूमाथि समेत प्रश्न उठाउँदै वर्तमान परिस्थितिको जिम्मेवारी पुरानो नेतृत्वको ‘बेहोराले’ हो भन्दै ती नेताहरूले आफ्नो भूमिकाबारे गम्भीर विचार गर्नुपर्ने टिप्पणी गरेकी छिन् ।

एकपटक शिक्षामन्त्री पनि भइसकेकी श्रेष्ठले तीन महिनाअघि मात्र रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसयता पार्टीभित्र नेतृत्वको शैलीप्रति उनको असन्तुष्टि बढ्दै गएको खुलेरै देखिएको थियो । उनले नेतृत्वलाई निरन्तर आलोचना गर्दै आए पनि पार्टीले त्यसलाई गम्भीररूपमा लिनुको सट्टा उल्टै असहमतिको आवाज दबाउने प्रयास गरेको आरोप लगाएकी छन् ।

नयाँ सरकारमा मन्त्री हुन जान नलागेको प्रष्टीकरण दिँदै उनले आफूले बोकेका परिवर्तनको एजेण्डा नछाडेको दाबी गरेकी छन् । पार्टी छाड्दा थरिथरिका प्रतिक्रिया आएको भन्दै उनले ‘युवाको बलिदानलाई यत्तिकै जान दिनुहुँदैन’ भनिन् ।

सबै दलका नयाँ पुस्ताले नेतृत्व सुधार्न हटाउने वा हट्नेमा लाग्नुपर्ने उनको तर्क छ । ‘राम्रो गर्न चाहनेले नराम्रो गर्नेको टेको भएर बस्नुहुँदैन । युवापुस्ताले गरेको विद्रोहलाई बदनाम गर्नुहुँदैन,’ उनले भनेकी छन् । उनको पार्टी परित्यागले रास्वपाभित्र बढ्दै गएको असन्तुष्टि सतहमा आएको प्रष्ट भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्