नेभिगेशन
नेपाल

आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

काठमाडौं । जेनजीको आन्दोलनमा सहभागी भई तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएमा माओवादी केन्द्रका नेता– कार्यकर्ता कारबाहीमा पर्ने भएका छन् । पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै तोडफोड तथा आगजनीजस्ता गतिविधिमा आफ्नो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ ।

माओवादी केन्द्रले तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गर्न पनि आग्रह गरेको छ । ‘हाम्रो पार्टीको कार्यालयहरू, दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी, तोडफोड गर्ने कार्य भएका छन्, त्यो तथ्य जनतासामु प्रस्ट छ ।

यो तथ्य जनतासामु प्रस्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

आधारहीन हल्ला फैलाएर पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहन आग्रह गरेको माओवादीले दुष्प्रचारको भ्रममा नपर्न जनतालाई अपिल पनि गरेको छ । जेनजी पुस्ताले उठाएका माग जायज भएको उल्लेख गर्दै पार्टीले आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्व घुसेर विध्वंस मच्चाएको भन्दै भर्त्सना गरेको छ ।

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्