नेभिगेशन
विश्व

‘ककरोच’ आन्दोलनमा प्रहरी दमन

प्रधानमन्त्री निवासअगाडि धर्ना दिँदा राहुल गान्धी, प्रियंका, अखिलेश यादवलगायत पक्राउ

नयाँ दिल्ली (एजेन्सीहरू)– शैक्षिक सुधार र सरकारको जवाफदेहिता माग गर्दै युवाहरूले भारतको राजधानी नयाँ दिल्लीमा सुरु गरेको ‘ककरोच’ आन्दोलनले उग्र रूप लिएको छ । विशेषगरी, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै सडकमा हजारौं युवा–विद्यार्थी उत्रिएका छन् । उनीहरूमाथि प्रहरीले सोमबार अश्रुग्यास र लाठीचार्ज गरेपछि आन्दोलनले देशभरबाट थप सहानुभूति र समर्थन पाइरहेको छ । प्रहरी दमनका बाबजुद प्रदर्शनकारीहरूले दिल्लीको जन्तर मन्तरस्थित आफ्नो प्रदर्शनस्थल छोड्न अस्वीकार गरेका छन् । सुरुमा विद्यार्थीहरूमा मात्र सीमित यो आन्दोलनमा अहिले पेसाकर्मी र सर्वसाधारण परिवार पनि जोडिन थालेका छन् । यसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई एउटा दुर्लभ र गम्भीर सार्वजनिक चुनौती दिएको छ ।
करिब दुई महिनाअघि मात्रै एउटा व्यंग्यात्मक अभियानका रूपमा ‘ककरोच जनता पार्टी’ (सीजेपी)को जन्म भएको थियो । भारतका एक न्यायाधीशले बेरोजगार युवाहरू पत्रकारिता र आन्दोलनमा लागेको भन्दै उनीहरूलाई ‘साङ्ला’ भनेपछि त्यसकै विरोधमा ककरोच जनता पार्टी नाम राखिएको हो । पछि ती न्यायाधीशले आफूले नक्कली शैक्षिक प्रमाणपत्र हुनेहरूलाई मात्र त्यसो भनेको स्पष्टीकरण दिए पनि युवाहरूको आक्रोश शान्त भएन । बरु, यो अभियान छोटो समयमै हजारौं युवालाई सडकमा उतार्न सक्ने एक सशक्त आन्दोलनमा परिणत भयो ।

विशेषगरी, भारतको ‘नीट’ परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनापछि यो आन्दोलनले ठूलो रूप लिन पुग्यो । गत मे ३ तारिखमा करिब २२ लाख ८० हजार विद्यार्थीले मेडिकल प्रवेश परीक्षा दिएका थिए । तर, प्रश्नपत्र बाहिरिएको खबर आएपछि केही दिनमै परीक्षा रद्द गरियो र पछि पुनः परीक्षा लिइयो । यस काण्डबाट निराश भएर २० जनाभन्दा बढी विद्यार्थीले आत्महत्या गरेका थिए । यही घटनालाई लिएर प्रदर्शनकारीहरूले शिक्षामन्त्री प्रधानले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने मुख्य माग राखे । तर मन्त्री प्रधानले भने राजीनामा दिन अस्वीकार गर्दै आन्दोलनकारीलाई ‘अराजक तत्वको बी–टिम’ भनेका छन् । प्रधानमन्त्री मोदीले आन्दोलनको जानकारी आफूलाई नभएजस्तै गरेका छन् । 
सोमबारको बृहत् प्रदर्शन, व्यापक बल प्रयोग
सोमबार संसद्को मनसुन सत्र सुरु हुने दिन पारेर दशौं हजार युवा संसद् भवनतर्फ मार्च गर्न भेला भएका थिए । प्रहरीले लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच मध्य दिल्लीमा ठूलो झडप भयो । 
प्रहरीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार ग¥यो । मुख्य प्रदर्शनस्थल जन्तर मन्तरमा बनाइएका मञ्च र पालहरू पनि प्रहरीले भत्काइदियो । आन्दोलन निस्तेज पार्न मोदी सरकारले सादा पोसाकमा पनि व्यापक संख्यामा प्रहरी परिचालन गरेको छ ।

दिल्ली प्रहरीका अनुसार यस झडपमा ११८ जना सुरक्षाकर्मी र ६० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ७० जनालाई हिरासतमा लिइएको छ । आन्दोलनकारीलाई निरुत्साहित बनाउन दिनभर सो क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको थियो । साँझपख इन्टरनेट सेवा चालु भएपछि सामाजिक सञ्जालमा प्रहरी दमनका भिडियोहरू भाइरल भए । भिडियोहरूमा प्रहरीले महिलासहितका प्रदर्शनकारीलाई कुटपिट गरिरहेको र भुइँमा लडेकालाई पनि तानेर लगेको देखिन्छ । केही युवाहरूले प्रहरीलाई नकुट्न बिन्ती गरिरहेका थिए भने केहीले मार खाएरै भए पनि डटेर सामना गरेका थिए ।
प्रहरीले भने प्रदर्शनकारीहरूले उग्र र हिंस्रक व्यवहार देखाएको, ढुंगामुढा गरेको र सार्वजनिक सम्पत्ति तोडफोड गरेको दाबी गर्दै आफ्नो कदमको बचाउ गरेको छ । तर, सीजेपीले प्रहरीको दाबीलाई खारेज गर्दै प्रहरी नै आक्रामक भएको बताएको छ । सीजेपीका संस्थापक अभिजीत दिप्केले सामाजिक सञ्जालमार्फत प्रहरीको अमानवीय कार्यबाट आफ्ना समर्थकलाई बचाउन नसकेकोमा माफीसमेत मागेका छन् ।

विपक्षीको समर्थन र राजनीतिक माहोल
यस आन्दोलनलाई विपक्षी दलहरूको बलियो साथ मिलेको छ । प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले विद्यार्थीका मागहरू जायज भएको बताउँदै प्रधानमन्त्री मोदीलाई ‘भारतले अहिलेसम्म पाएकामध्ये सबैभन्दा युवा–विरोधी प्रधानमन्त्री’ को संज्ञा दिएका छन् । मंगलबार गान्धी र उनको कंग्रेस पार्टीका दर्जनौं सांसदहरूले मोदीको निवासबाहिर धर्ना दिएका थिए तर प्रहरीले उनीहरूलाई त्यहाँबाट बलपूर्वक हटाएको थियो । मन्त्री जितेन्द्र सिंहले गान्धीलाई उक्त स्थान धर्नाका लागि उपयुक्त नभएको भन्दै धर्नास्थलबाट हटाइएको बताएका छन् । तर, कांग्रेस कार्यकर्ताहरूले राहुल, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे, अखिलेश यादव लगायतलाई प्रहरीले पक्राउ गरेर लगेको बताएका छन् । राहुललाई अत्रपाल स्टेडियम र प्रियंकालाई मन्दिरमार्ग थापा लगिएको छ ।
यसबाहेक, चर्चित अधिकारकर्मी तथा शिक्षाविद् सोनम वाङ्चुकले पनि जुन २८ तारिखदेखि प्रदर्शनकारीको समर्थनमा अनिश्चितकालीन भोक हड्ताल सुरु गरेपछि यस आन्दोलनले विश्वव्यापी ध्यान तानेको थियो । गत शनिबार प्रहरीले उनलाई प्रदर्शनस्थलबाट बलपूर्वक हटाएर अस्पताल पु¥याएको थियो, जहाँ उनले अझै पनि आफ्नो अनशन जारी राखेका छन् । किसान नेता, अधिकारकर्मी र बलिउड कलाकारहरूले समेत यस आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । एमनेस्टी इन्टरनेशनलले पनि भारतमा शान्तिपूर्ण विरोध प्रदर्शनलाई कसरी दबाइँदैछ भन्ने कुरा सोमबारको घटनाले देखाएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
सरकारसँगको वार्ता र आगामी दिशा
करिब एक महिनासम्म मौन बसेको सरकारले सोमबार मात्रै आन्दोलनकारीसँग वार्ताको प्रयास गरेको थियो । स्वास्थ्यमन्त्री जेपी नाड्डाले सीजेपीका केही नेताहरूलाई भेटेर उनीहरूका माग सुनेका थिए । नाड्डाले सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्दै धर्ना अन्त्य गर्न आग्रह गरेका थिए । तर, सीजेपीका प्रवक्ता सौरभ दासले १० मिनेटको उक्त भेटमा सरकारले विषयलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन मात्र दिएको र कुनै ठोस निर्णय नदिएको बताए । अर्का नेता आशुतोष रांकाले वार्ताका लागि गरिएको चार घण्टाको पर्खाइलाई ‘समयको बर्बादी’ भने ।
वार्ता सकारात्मक नभएपछि र प्रहरी दमनको यथार्थ बाहिर आएपछि प्रदर्शनकारीहरू झनै आक्रोशित भएका छन् । सोमबार राति नै उनीहरूले जन्तर मन्तरको प्रदर्शनस्थलमा पुनः कब्जा जमाए र आन्दोलन नरोकिने घोषणा गरे । प्रदर्शनमा सहभागी २० वर्षीया विद्यार्थी सोना विष्टले भनिन्, ‘यदि सरकारले जेनजीसँग यस्तो व्यवहार गरेर हामीलाई रोक्न सक्छ भन्ने सोचेको छ भने, त्यो सम्भव छैन । हाम्रो माग पूरा नभएसम्म हामी यहाँबाट हट्ने छैनौं ।’ त्यस्तै, २६ वर्षीया पेसाकर्मी रबिना कश्यपले आन्दोलनसँग आफ्नो प्रत्यक्ष सरोकार नभए पनि आफ्ना देशका मानिसहरूको पक्षमा उभिन प्रदर्शनमा आएको बताइन् ।
एउटा सानो व्यंग्यात्मक अभियानबाट सुरु भएको ‘ककरोच’ आन्दोलन अहिले भारतको शिक्षा प्रणालीमा व्यापक सुधार र जवाफदेहिता माग्ने एउटा राष्ट्रिय जनलहर बनेको छ । प्रहरीको कडा कारबाही, ठूलो जनसहभागिता र पछि नहट्ने युवाहरूको अडानले यो मुद्दालाई अझै लामो समयसम्म भारतको राष्ट्रिय राजनीतिको केन्द्रमा राख्ने विश्लेषकहरूको धारणा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दिल्ली हल्लाउँदै ‘ककरोच’

दिल्ली हल्लाउँदै ‘ककरोच’

चराको आश्रय सङ्कटमा

चराको आश्रय सङ्कटमा