नेभिगेशन
नेपाल

छिट्टै बीमा दाबी गर्न नेपाल बीमा प्राधिकरणको आग्रह

काठमाडौं, २९ भदौ - नेपाल बीमा प्राधिकरणले जेनजी समूहले गरेको आन्दोलनबाट जनधनको क्षति भएका बीमितलाई बीमा दाबी गर्न आग्रह गरेको छ । प्राधिकरणले बीमालेखमा भएको शर्त बमोजिम भुक्तानी पाइने कानूनी व्यवस्था भएकाले आवश्यक कागजात सहति आफूले बीमा गराएको कम्पनीमा दाबी गर्न भनेको हो ।

बीमा कम्पनीले बीमालेखमा उल्लेख भएको अवधिभित्र दाबी भुक्तानी नदिएमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण नगरेमा सम्बन्धित बीमितले प्राधिकरणमा उजुरी गर्न सक्ने समेत प्राधिकरणले जनाएको छ ।

कोभिड–१९ महामारीको समयमा बीमा दाबीको भुक्तानी नगरेका केही बीमा कम्पनीहरूले यसपटक जेनजी आन्दोलनका कारण उत्पन्न क्षतिको ठूलो दायित्व सामना गर्नुपर्ने अवस्था आएको छ । यही परिस्थितिमा बीमितहरूलाई दाबी भुक्तानी पाइने वा नपाइने भन्ने अन्योल रहेको बेला प्राधिकरणले छिटो दाबी गर्न आग्रह गरेको हो ।

प्राधिकरणले यसपटक बीमितहरूलाई समयमै राहत मिलोस् भन्ने उद्देश्यले दाबी प्रक्रिया सहज बनाउने पहल गरिरहेको छ । बीमितले दाबी भुक्तानीमा चित्त नबुझे प्राधिकरणमा उजुरी दिन सक्ने व्यवस्था समेत रहेकोले समयमै उचित क्षतिपूर्ति पाउने विश्वास व्यक्त गरेको छ । 

यस पहलमार्फत अघिल्लो पटक जस्तै बीमितहरू अन्यायमा नपरोस् भन्ने सुनिश्चित गर्न प्राधिकरण सक्रिय देखिएको छ । बीमा कम्पनीहरूले दाबी छिटो, पारदर्शी र निष्पक्ष रूपमा समाधान गर्नु पर्नेमा जोड दिइएको छ ।

यस्तै, प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा दाबीहरूको यथाशीघ्र र पारदर्शी रूपमा भुक्तानी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । साथै, बीमा कम्पनीहरूले प्रत्येक साताको अन्त्यमा दाबीको विस्तृत विवरण प्राधिकरणमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

बीमा कम्पनीहरूसँग माग्यो राय 

प्राधिकरणले जेनजी आन्दोलनबाट सिर्जित क्षतिको बीमा दाबीहरू छिटो र सहज रूपमा भुक्तानी गर्नका लागि निर्जीवन बीमा कम्पनीहरूसँग योजना मागेको छ । आइतबार निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै प्राधिकरणले प्राप्त दाबीको भुक्तानी कसरी गर्न सकिन्छ भन्ने बारे तीन दिनभित्र खाका दिन भनेको हो । प्राधिकरणले दाबी भुक्तानीका लागि सहज प्रक्रिया बनाउन पनि निर्देशन दिएको छ ।

हालको असाधारण परिस्थितिमा बीमित पक्षको हित सुनिश्चित गर्न छिटो निर्णय र प्रभावकारी कार्यविधि आवश्यक भएकोले बीमा कम्पनीहरूको सक्रिय भूमिका अपरिहार्य रहेको प्राधिकरणले जनाएको छ ।

सबै कार्यालय सञ्चालन गर्न निर्देशन

प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई पूर्णरुपमा भौतिक उपस्थितिमा सेवा दिन निर्देशन दिएको छ । जेनजी आन्दोलन पनि प्रशासनले कफ्र्यू आदेश जारी गरेका कारण केही दिन बीमा कम्पनीहरूले सीमित जनशक्तिबाट सेवा दिइरहेका थिए ।

तर अबदेखि सबै कर्मचारी अनिवार्य रूपमा कार्यालयमा उपस्थित भएर सेवा दिनुपर्नेछ । प्राधिकरणले देशको परिस्थिति बिस्तारै सामान्य बन्दै गएकाले कम्पनीहरूलाई सबै कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । 

सुरक्षा निकायले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय पूर्णरूपमा सञ्चालन गर्न आग्रह गरेको हो । प्राधिकरणले भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरेको सूचनामा उल्लेख छ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्