नेभिगेशन
अर्थतन्त्र

विद्युत् व्यापारबाट नेपाललाई १८ अर्ब ७६ करोड नाफा

काठमाडौं । ऊर्जा व्यापारबाट मुलुकले उल्लेख्य आम्दानी गर्ने सम्भावनाको बाटो फराकिलो भएको छ । नेपालले एक वर्षमा अन्तरदेशीय विद्युत् व्यापारबाट १८ अर्ब ७६ करोड ४८ ला रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा भारत र बंगलादेशमा विद्युत् निर्यात गरी यति खुद नाफा कमाएको हो । 
नेपाल विद्युत् प्राधिकरणको विद्युत व्यापार विभागका अनुसार एक वर्षमा कुल २९ अर्ब ३२ करोड ४७ रुपैयाँको विद्युत् निर्यात भएकोमा सुक्खायाममा आन्तरिक माग र आपूर्ति व्यवस्थापन गर्न १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको विद्युत् आयात गरिएको थियो । कुल आम्दानीबाट आयात खर्च कटौती गर्दा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गर्न सकिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । 
उनका अनुसार गत आर्थिक वर्ष आर्जन भएको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी)ले बढी हो । नेपालले अन्तरदेशीय विद्युत व्यापारबाट आर्थिक वर्ष २०८१÷८२ देखि मात्रै नाफा आर्जन गर्न थालेको हो । उक्त वर्ष ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ नाफा भएको थियो । नेपालले गत आर्थिक वर्षमा गरेको २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको आम्दानी अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को तुलनामा ६७.९६ प्रतिशतले बढी भएको पनि प्राधिकरणले जनाएको छ । यो अन्तरदेशीय विद्युत् व्यापारमा अहिलेसम्मकै नयाँ कीर्तिमान हो । 
सुक्खायाममा नदी तथा खोलाको पानीको बहाबमा आउने कमीका कारण आन्तरिक विद्युत् उत्पादनले माग तथा आपूर्ति व्यवस्थापन गर्न सकिँदैन । त्यो बेला भारतबाट नै विद्युत् आयात गर्नुपर्ने बाध्यता हुन्छ । बर्खा याममा बढ्दो उत्पादनका कारण आयातको तुलनामा निर्यात परिमाण बढ्दा मुलुकले अन्तरदेशीय व्यापारबाट नाफा आर्जन गरिरहेको प्राधिकरणले जनाएको छ । 
सार्वजनिक तथ्यांकअनुसार गत आर्थिक वर्ष ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरिएको छ । यो परिमाण अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६२.८९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा नेपालतर्फबाट २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् भएको थियो । त्यसबाट १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो । प्राधिकरणका अनुसार भारतीय खुला तथा प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्जको डे–अहेड मार्केट तथा रियल टाइम मार्केट र एनटीपीसी विद्युत् व्यापार निगम –एनभीभीएन)मार्फत तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत गत आर्थिक वर्षमा अन्तरदेशीय बजारमा नेपालको विद्युत्ले प्रतियुनिट औसत ७.५६ रुपैयाँ  दर पाएको थियो । 
आर्थिक वर्ष २०८१÷८२ मा सुक्खायामको विद्युत्को माग र आपूर्ति व्यवस्थापन गर्न १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बराबरको १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गरिएको थियो । तर, गत आर्थिक वर्षमा भने आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित हुन पुगेको प्राधिकरणको तथ्यांकमा छ । यो आयात अघिल्लो आर्थिक वर्षको यही अविधको तुलनामा १८.२९ प्रतिशत कम हो । 
नेपालले बर्खामा सबै जलविद्युत्गृह पूर्ण क्षमतामा चल्ने सुरु भएपछि देशभित्र खपत हुन नसकेर बढी भएको विद्युत् भारत र बंगलादेशको बजारमा निर्यात गर्दै आएको छ । दुई देशबीच हालै ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि गरी नेपालतर्फबाट १ हजार ६ सय ५० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएसँगै आगामी दिनमा निर्यात परिमाण बढेर बढाउन सकिने भएको छ । नेपाल र भारतबीच अहिले ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनसँगै बाँकी १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् आयात–निर्यात हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्