नेभिगेशन
राजनीति
कांग्रेस आधिकारिकताको विवाद फेरि ब्युँतियो

सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता

‘नेपाली कांग्रेस फर नेसनल कज’

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्दा पुनः सर्वोच्च अदालतमा परीक्षण हुने भएको छ । सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्चले यसअघि गरेको फैसलाविरुद्ध बिहीबार पुनरावलोकनको निवेदन दर्ता भएको हो । सर्वोच्चले यसअघि वैशाख ४ गते विशेष महाधिवेशनलाई वैधानिकता दिएको थियो । 
शेरबहादुर देउवाका तर्फबाट भन्दै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले बिहीबार पुनरवलोकन निवेदन दिएका हुन् । उक्त निवेदन अब ३ न्यायाधीशको इजलासमा पेसी तोकिन्छ । उक्त इजलासले निस्सा दिएमा उक्त मुद्दामा पुनः सुनुवाइ अघि बढ्नेछ । निस्सा नदिएमा यसअघि आएको फैसला नै अन्तिम मानिने छ । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा पूर्वसभापति शेरबहादुर देउवा पक्षधरले दिएको पुनरवलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । 
गत वैशाख ४ मा सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो । उक्त निर्णय त्रुटिपूर्ण दाबी गर्दै देउवा पक्ष असन्तुष्ट छ । 
‘केन्द्रीय महाधिवेशन प्रतिनिधिका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ भन्ने वाक्यांश छ,’ सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘उक्त दोस्रो विकल्प केन्द्रको तजबिजमा नभई बाध्यात्मक रहेको देखिन्छ, जुन प्रावधान लोकतान्त्रिक विधि वा पद्धतिको महŒवपूर्ण प्रावधानको रुपमा रहेको पाइन्छ ।’
निर्वाचन आयोगले गत माघ २ मा कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै निर्वाचित नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्चले कानूनी रुपमा खोट लगाउने ठाँउ नभएको भनी सदर गरेको थियो । न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो ।
उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि संस्थापनइतर समूह पुनरवलोकनका लागि गएको हो । सर्वोच्चको फैसला चित्त नबुझेमा पूर्णपाठ आइसकेपछि पुनरवलोकनको निवेदन दिन सकिने कानूनी व्यवस्था छ । 

सर्वोच्चले गगन थापा नेतृत्वको समितिलाई मान्यता दिएपछि हाल उनकै नेतृत्वमा कांग्रेस छ । तर, संस्थापनइतर पक्षले अलग गतिविधि गर्दै छुट्टै पार्टी बनाउने छलफल गर्दैछन् । बुधबार मात्रै इतरपक्षले अलग भेला गर्दै साउन २९ गते राष्ट्रिय भेला बोलाएका छन् । उक्त भेलाबाट नयाँ बाटो तय गर्ने उद्घोष गरे पनि उनीहरू आफूले मान्यता नपाएको कांग्रेसको आधिकारिकता विवादमा अदालतमै अन्तिम संघर्षमा उत्रिएका छन् । बिहीबार देउवाको वारेसमार्फत निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

‘नेपाली कांग्रेस फर नेसनल कज’
नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा ‘एनसी फर एनसी’ अभियान घोषणा गरेको छ । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ अभियान घोषणा गरेका हुन् । 
‘जरा अभियान समाप्त गर्दै हामीले आजबाट नयाँ अभियान प्रारम्भ गर्ने म तपाईंहरूलाई जानकारी गराउँछु । यसका बारेमा हामी विस्तृत रूपमा फेरि छलफल गर्छौं । यो अभियान एनसी फर एनसी । एनसी भनेको नेपाली कांग्रेस । नेपाली कांग्रेस फर नेपाली कांग्रेस होइन, नेपाली कांग्रेस फर नेसनल कज,’ थापाले भने । उनले यो अभियानको साझा उद्देश्य रहेको भन्दै पार्टीले नागरिकहरूको हितमा काम गर्ने बताए । कांग्रेसलाई सत्तासँग होइन अब जनतासँग जोड्ने उनले घोषणा गरे । भदौ २४ गते बीपी जयन्तीको अवसर पारे एनसी फर एनसी अभियान सुरु हुनेछ । 
‘साउन २४ देखि भदौ २४ सम्म हामी सांगठनिक तयारी गर्छौं । यसको डिटेल हामीले बनाइसकेका छौं,’ उनले भने, ‘यसको बारेमा पछि फेरि जानकारी गराउँला ।’ 
कांग्रेसले ‘एनसी फर एनसी’ अभियानअन्तर्गत पार्टीका विभिन्न कार्यसमिति र सदस्यहरूलाई रुचि र क्षमताअनुसार चार प्रमुख क्लस्टरमा आबद्ध गरिने अवधारणा अघि सारेको छ । कांग्रेसका सभापति थापाले पार्टी इलेक्सन मेसिन जस्तो भएको भन्दै अब पार्टीलाई त्यसबाट बाहिर निकाल्ने बताए । उनले भने, ‘हामी चार जना कांग्रेस जम्मा भयौं भने हाम्रो कुरा के भइहाल्छ अबको चुनावमा के हुन्छ रु भन्नेमा । हामी इलेक्सन मेसिन जस्तो भयौं । त्यसबाट बाहिर निस्कनुप¥यो ।’ उनले पार्टीपंक्तिलाई एक पटक रिलबाट निस्किएर रियल लाइफमा फर्किन पनि आग्रह गरे ।
‘कहिलेकाहीँ नेताले पनि तर्साउन खोज्नुहुन्छ । हेरौंला स्थानीय चुनाव भन्नुहुन्छ । हेरौंला प्रदेशको चुनाव भन्नुहुन्छ । हामी बीपी कोइरालाका कार्यकर्ता हौं । हामी एउटा चुनावबाट मात्तिहाल्ने, एउटा चुनावबाट आत्तिइहाल्ने होइनौं । हामी चुनाव हारिएला तर आस्थासँग सम्झौता गर्दैनौं,’ उनले भने । उनले सोसाइटी र सिद्धान्तले पनि नमान्ने गठबन्धनको राजनीति अब कांग्रेसले नबोक्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्