नेभिगेशन
दृष्टिकोण

साउनमा शिवजीको पूजा किन ?

देवादिदेव महादेवलाई मनपर्ने साउन महिना । साउन महिनाको प्रत्येक सोमबार शिवालयहरूमा मेला लाग्ने गर्छ । हुन त साउन महिनाभरि नै महादेवका मन्दिरहरूमा पूजाआजा गर्नेहरूको कमी हुँदैन । विशेष गरी श्रद्धाभक्तिका साथ साउन महिनाभरि नै शिवजीको पूजाआजा गरिन्छ । साउनको प्रत्येक सोमबार व्रत बसी महिलाहरूले हरियो चुरा र पहेंलो सारीमा सजिएर पूजाआजका लागि महादेवका मन्दिरमा घुइँचो लाग्ने गरेको छ । 
हिन्दू धर्ममा भगवान्् शिवलाई सबै देवताहरूमा सर्वोच्व मानिन्छ । त्यसैले त देवाधिदेव महादेव भन्ने गरिन्छ । भगवान्् शिव नै यो जगत्को मूल कारक मानिन्छ । त्यसैले भगवान्् शिवलाई निराकार मानिन्छ । शिवलिङ्गका रूपमा हामी त्यस निराकार शिव तत्वको पूजा गर्छौं, जसमा सम्पूर्ण ब्रह्माण्डको बास छ । शिव र लिंग शब्द मिलेर शिवलिंग बनेको छ । ‘शिव’ शब्दको अर्थ परम कल्याणकारी सर्वोच्व शक्ति र लिंगको अर्थ हुन्छ सिर्जना ।
शिवलिङ्ग भगवान्् शिव र शक्ति (देवी पार्वती) का एउटै रूप हुन् । जसको मूलमा देवी पार्वती र माथि स्वयं शिव विराजमान हुनुहुन्छ । जुन प्रकारले यो ब्रह्माण्डमा ऊर्जा र पदार्थ सबैको मूल कारक मानिन्छ । त्यसै प्रकारले शिवलिङ्गमा भगवान्् शिवको पदार्थ र शक्ति (पार्वती) लाई ऊर्जा मानिन्छ । 
शिव पुराणका अनुसार भगवान्् शिवलाई यस संसारको उत्पत्तिको मूल कारण परब्रह्म मानिन्छ । साथै भगवान्् शिव नै पूर्ण पुरुष पनि हुन् र निराकार पनि हुन् । त्यसैले शिवलिङ्गका रूपमा उनलाई निराकारका रूपमा पूजा गर्ने गरिन्छ । शिवलाई निराकारका रूपमा शिवलिङ्गलाई पूजा गरिन्छ भने साकार रूपमा भगवान्् शंकर भोलेनाथका रूपमा पूजा गरिन्छ । शिव पुराणका अनुसार भगवान्् शिवको पूजा साकार र निराकार दुवै रूपमा कल्याणकारी नै हुन्छ । शिवलिङ्गका रूपमा भगवान््लाई पूजा गर्नाले भक्तजनलाई भोग र मोक्ष दुवै प्राप्ति हुन्छ । त्यसैले साउन महिनाभरि विशेष गरेर सोमबारको व्रत बसेर महिलाहरूले शिवलिङ्गको पूजा गर्छन् । दिनभर उपवास बसेर शिवको व्रत बस्नाले अटल सौभाग्य हुने, श्रीमान्को दीर्घायु हुने, परिवारका सबै सदस्यहरूको कल्याण हुने, सुख समृद्धि भई घरमा सबैको उत्तरोत्तर प्रगति हुने धार्मिक विश्वास रही आएको छ । विवाहित महिलाले मात्र होइन यो साउने सोमबारको व्रत अविवाहित महिलाहरूले पनि लिने गर्छन् । अविवाहित महिलाहरूले मनोवाञ्छित फल प्राप्त गर्न, आफूलाई चाहे जस्तो श्रीमान् प्राप्त गर्न र धनधान्यले परिपूर्ण हुन पनि व्रत बस्ने गर्छन् । पार्वतीले पनि साउन महिनाभरि नै व्रत बसेर महादेव पति पाएकी हुन् भनिन्छ । त्यसैले यो साउने सोमबार व्रतको महिमा महŒवपूर्ण मानिएको हो । 
शिव पुराणका अनुसार भगवान् शिवले पार्वतीलाई जीवनका ५ रहस्य बताउनु भएको छ । जसलाई जानेर कुनै पनि मानिसले जीवनका हरेक दुविधा र समस्याबाट मुक्ति पाउन सक्छ । जुन यस प्रकार छन्, 
१) के हो सबैभन्दा ठूलो धर्म र सबैभन्दा ठूलो पाप ? भनी पार्वतीले सोधेपछि भगवान् शिवले भन्नुभयो– मानिसको सबैभन्दा ठूलो धर्म सत्य बोल्नु र सत्यको साथ दिनु हो अनि सबैभन्दा ठूलो अधर्म अर्थात् पाप असत्य बोल्नु या उसको साथ दिनु । त्यसैले कसैले पनि आफ्नो मन आफ्नो कुरा र आफ्नो काममा सधैं त्यसैमा लगाउनुपर्छ जसमा सच्चाइ छ । असत्य बोल्नु या कुनै किसिमबाट झुटोको साथ दिनु मानिसको बर्बादीको कारण बन्न सक्छ । 
२) मानिसले आफ्नो हरेक कामको साक्षी आफैं बन्नुपर्छ । चाहे राम्रो काम गरोस् वा नराम्रो कहिल्यै पनि यो सोच्नु हुँदैन । कैयौं मानिसहरूको मनमा गलत काम गरेको समयमा यही भाव मनमा आइरहेको हुन्छ कि कसैले देखेको छैन, यही कारणले उसले बिना कसैको डरले पाप कर्म गर्दछ तर सच्चाइ अर्कै हुन्छ । मानिस आफ्नो सबै कर्मको साक्षी आफैं हुन्छ । यदि यस्तो भाव सबैले राख्ने हो भने कोही पनि पाप कर्म गर्न आफूलाई रोक्न थाल्छ । 
३) कहिल्यै पनि नगर्नु यी तीन काम भगवान् शिव भन्नु हुन्छ, कुनै पनि मानिसले मन, वचन र कर्मले पाप गर्ने इच्छा गर्नु हुँदैन किनभने मानिसले जस्तो काम गर्छ उसले उस्तै फल भोग्छ । अर्थात् मानिसले आफ्नो मनमा यस्तो कुनै कुरा आउन दिनु हुँदैन जुन धर्मग्रन्थअनुसार पाप मानिन्छ । न आफ्नो मुखबाट कुनै यस्तो कुरा निस्कोस् वा कुनै यस्तो कुनै काम जसले अर्को मानिसलाई चोट पुगोस् वा दुःख होस् । 
४) जीवनमा सफल हुनका लागि ध्यान राख्नु कि संसारमा हरेक मानिसले कोही न कोही मानिस, वस्तु वा परिस्थितिमा आसक्ति अर्थात् लगााव हुन्छ, लगााव र मोह एक यस्तो जाल हुन्छ कि जसबाट छुट्न मुस्किल हुन्छ । भगवान् शिव भन्नु हुन्छ कि मानिसलाई जुन पनि व्यक्ति वा परिस्थितिमा लगाव भइरहने हो भने उसको सफलतामा रुकावट आउनेछ । मानिसलाई उसको दोष खोज्न सुरु गर्नुपर्छ र सोच्नुपर्छ कि केही क्षणको लगावले हाम्रो सफलतामा बाधक बनिरहेको हुन्छ । यसो गर्नाले विस्तारै लगाव र मोहको जालबाट छुट्न र आफ्ना सबै काममा सफलता पनि पाइनेछ । 
५) यो एउटा कुरा सम्झेमा दुःखको सामना गर्नु पर्दैन । भगवान् शिव भन्नुहुन्छ, मानिसको तृष्णा अर्थात् इच्छाभन्दा ठूलो कुनै दुःख हुँदैन र त्यसलाई छोडिदिनसके त्योभन्दा ठूलो सुख कुनै हुने छैन । मानिसको आफ्नो मन वशमा हुँदैन, हरेकको मनमा कैयौं अनावश्यक इच्छाहरू हुन्छन् र यही इच्छाहरूले गर्दा मानिसका दुःखको कारण बन्छ । त्यसैले मानिसले आफ्नो आवश्यकता र इच्छाहरूमा अन्तर सम्झनु र अनावश्यक इच्छाहरूको त्याग गरेर शान्त मनले जीवन बिताउनु ।
(लेखक डंगोल धर्म–संस्कृतिका जानकार हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्