नेभिगेशन
विश्व

अमेरिकी लगानीले बेलायतमा रोजगारी बढ्ने

लन्डन, एडिनबर्ग, म्यानचेस्टरसँगै बेलफास्ट पनि अब अमेरिकाबाट वित्तीय सेवा क्षेत्रमार्फत हुने नयाँ लगानीबाट लाभान्वित हुने भएको छ ।

बैंक अफ अमेरिकाले बेलफास्टमा आफ्नो पहिलो कारोबार सुरु गर्दै एक हजार जनासम्मको रोजगार सिर्जना गर्ने योजना सार्वजनिक गरेसँगै यसको टुंगो लागेको हो । सिटीग्रुपले आफ्नो बेलायतस्थित कार्यालयहरूमा लगानी बढाउने घोषणा गरेसँगै उत्तरी आयरल्यान्डमा आफ्नो उपस्थिति अझै मजबुत बनाउने प्रतिबद्धता पनि समावेश छ ।

अमेरिकाको पेपाल र एसएन्डपी ग्लोबल जस्ता कम्पनीले पनि सवा अर्बभन्दा बढीको संयुक्त लगानी गर्ने घोषणा गरेका छन् । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आउँदो साता हुने बेलायत भ्रमणअघि गरिएको छ ।

बैंक अफ अमेरिकाको सेवा सञ्चालनमा आएपछि बेलफास्टलाई एक प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने र साइबर सुरक्षा र वित्तीय प्रविधिका क्षेत्रमा एक अब्बल केन्द्र बनाउने लक्ष्य राखिएको संयुक्त अधिराज्यको व्यापार मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो लगानी एक महत्वपूर्ण उपलब्धि रहेको र यसले यस क्षेत्रमा विश्वव्यापी वित्तीय सेवामा उत्तरी आयरल्यान्डको बढ्दो भूमिकालाई प्रमाणित गर्ने उल्लेख गरेको छ ।

२०२३ मा बैंक अफ अमेरिकाले बेलफास्ट मेटमार्फत सामाजिक र आर्थिक रूपले पछाडि परेका ६०० व्यक्तिका लागि तीन वर्षे डिजिटल सीप तथा रोजगारी कार्यक्रमको घोषणा गरेको थियो । बैंक अफ अमेरिकाका प्रवक्ताले सञ्चार माध्यमलाई बताएअनुसार बेलफास्टमा नयाँ कारोबार क्रमशः सुरु हुनेछ । अनि रोजगारीका लागि चाँडै भर्ती प्रक्रिया सुरु हुनेछ र कार्यस्थल स्थानसम्बन्धी निर्णय पनि शीध्र नै हुनेछ ।

“अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीचको वार्ताले व्यवसायिक समुदायलाई आवश्यक पर्ने आवश्यक खाकाको स्पष्टता दिएको छ,” बैंक अफ अमेरिकाका अध्यक्ष तथा सीइओ ब्रायन मोइनिहानले भने, “हामी बेलायतमा नयाँ बेलफास्ट अपरेसन सुरु गर्न पाउँदा खुसी छौं । यसले हाम्रो विश्वव्यापी कारोबारलाई सहयोग पुर्‍याउनेछ ।”

“अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीले फेब्रुअरीमा सुरु गरेको दुई देशबीचको व्यापार सम्झौताले ट्रान्सअटलान्टिक व्यापार सुदृढ गर्न आवश्यक विश्वस्तता र आधार दिएको छ,” उनले भने ।

बेलफास्टको नयाँ बैंक अफ अमेरिका कार्यालयमा सम्पत्ति शुद्धीकरणविरुद्धका प्रणाली र साइबर सुरक्षा संयन्त्र सञ्चालन गरिनेछ, जसले उच्च दक्षता भएका रोजगारीहरू सिर्जना गर्नेछ । यो लगानीले बेलफास्टको दक्ष जनशक्ति र डिजिटल पूर्वाधारप्रतिको अन्तर्राष्ट्रिय विश्वास बढाउने र शहरलाई अन्तर्राष्ट्रिय वित्तीय सेवाको गन्तव्यका रूपमा छवि निर्माण मजबुत बनाउने र आर्थिक वृद्धिलाई सहयोग गर्नेछ ।

“बैंक अफ अमेरिकाको लगानी उत्तरी आयरल्यान्डमा साइबर र प्रोफेशनल सेवामा विश्वस्तरको छवि बनाउने क्रमलाई बल दिनेछ,” उप–प्रधानमन्त्री एम्मा लिटिलले भनिन्, “यो लगानी उच्च दक्षतायुक्त रोजगारी ल्याउनेछ र हाम्रो अर्थतन्त्रप्रति ठूलो भरोसा देखाउने संकेत हो ।”

चान्सलर राचेल रीभ्सले यस लगानीले संयुक्त अधिराज्यको अर्थतन्त्रको अद्भुत सम्भावना, अमेरिका–बेलायत सम्बन्ध र विश्वभरका लगानीकर्ताहरूको विश्वास झल्काउने बताएकी छिन् । “बेलफास्टदेखि एडिनबर्गसम्म हजारौँ उच्च दक्षता भएका रोजगारी सिर्जना हुनेछन् । जसले देशभर कामदारहरूको आम्दानी बढाउन आवश्यक आर्थिक विकासलाई सुरु गर्नेछ,” उनले भनिन् ।

व्यापार सचिव पिटर कायलले यी लगानीहरूले मुलुकलाई विश्वको प्रमुख लगानी गन्तव्यका रूपमा पुष्टि गर्ने बताएका छन् । “अमेरिकासँग सम्बन्ध विस्तारले हाम्रो अर्थतन्त्र बलियो बनाउँछ, रोजगारी सिर्जना गर्छ, र हामीलाई विश्वव्यापी वित्तीय प्रणालीमा अग्रणी बनाउँछ,” उनले भने ।

अमेरिकी बैंक सिटीग्रुपले पनि बेलायतभर थप १ अर्ब लगानी गर्ने बताएका छ । जसमा उत्तरी आयरल्यान्डमा उपस्थिति विस्तार गर्ने प्रतिबद्धता पनि समावेश छ । सिटीग्रुप बेलफास्टमा चार हजारभन्दा बढी कर्मचारी रहेको प्रमुख नियोक्ता हो र शहरलाई एक प्रविधि केन्द्रको रूपमा स्थापित गरिरहेको छ ।

- बीबीसी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्