काठमाडौं, २९ भदौ - चाडपर्व नजिकिँदै गर्दा उपभोक्तालाई सस्तोमा आवश्यक खाद्य सामग्री उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (सोमबार) देखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
कम्पनीले देशका एक सय ११ स्थानमा पसल सञ्चालन गर्नेछ । यि पसलहरू बिहान ८ बजेदेखि साँझा ७ बजुसम्म खुला रहनेछन् । कम्पनीले विभिन्न ४५ जिल्लाका ४९ पालिकामा पसल सञ्चालन गर्नेछ । गतवर्ष ६३ स्थानमा पसल सञ्चालन गरेको कम्पनीले यसपटक बढाएर एक सय ११ पुर्याएको छ ।
यसपटक उपभोक्ताले अनलाइनबाट समेत सामान अर्डर गर्न पाउनेछन् । यस्तै होम डेलिभरीको व्यवस्था पनि गरेको छ । काठमाडौं उपत्यकाभित्र रहने ग्राहकले कम्तीमा ५ हजार रुपैयाँको सामान अर्डर गर्दा घरमै सामान डेलिभरी पाउनेछन् । यसरी डेलिभरी गरिएको शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले यसपटक दुर्गम क्षेत्रका उत्पादनलाई बढी प्राथमिकता दिएर सुपथ मूल्य पसल सञ्चालन गरिएको जनाएको छ । कर्णाली प्रदेशका उत्पादनहरू—जस्तै फापर, सिमी, कोदो, मार्सी चामल—उपभोक्तासम्म पुर्याउने व्यवस्था गरिएको छ, ती वस्तुमा १० रुपैयाँसम्म छुट दिइएको कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, दक्षिणकाली लगायतका स्थानमा पसल सञ्चालन हुनेछन् । सरकारले सुपथ मूल्य पसलका लागि २५ हजार क्विन्टल खाद्य सामग्री आवश्यक पर्ने अनुमान गरेको छ ।
तर खाद्यले सो भन्दा धेरै परिमाणमा सामग्री बिक्री गर्ने तयारी गरेको छ । हाल खाद्यसँग ३ लाख ९ हजार क्विन्टलभन्दा बढी दाल, चिनी, चामल, तेल स्टकमा रहेको र बजारको मागअनुसार ४५ हजार क्विन्टल आवश्यक पर्ने अनुमान खाद्यको छ ।
खाद्यले सबै किसिमका चामल र गहुँ दानामा प्रतिकिलो ५ रुपैयाँ छुट दिनेछ । यस्तै चिनी र दालमा प्रतिकिलो ५ रुपैयाँ, सबै किसिमका खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ, चिउरा, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिनेछ ।
यस्तै चियापत्ति, जिरा र धनियाँमा प्रतिकिलो १० रुपैयाँ, रैथाने खाद्य वस्तुहरू कर्णालीको सिमी, फापरको दाना, चिनो, कागुनो, उवा, जुम्ली मार्सी, बासमतिमा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ ।
कम्पनीले आजदेखि छठ पर्वसम्म सुपथ छुट सहुलियत मूल्यका पसलहरू सञ्चालन गर्नेछ । सरकारले दिएको बजेट बाँकी रहेमा उपभोक्ताको हितलाई ध्यानमा राखेर छुट पाउने अवधिलाई थप गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
साल्ट ट्रेडिङका ४० स्थानमा पसल
साल्ट ट्रेडिङ कर्पोरेसनल लिमिटेडले पनि देशमा विभिन्न ४० स्थानका पसलमार्फत सुपथ मूल्यमा सामग्री बिक्री वितरण गर्ने भएको छ । कम्पनीले काठमाडौं उपत्यकामा कालिमाटी, सतुंगल, जावलाखेल, इमाडोल, कोटेश्वर, सिफल, कपन, काँडाघारी, महाराजगञ्ज र बालाजुमा पसल राख्नेछ ।
यस्तै, भक्तपुरको सल्लाघारी र कौशलटारमा पनि सहुलियत पसल सञ्चालन गर्नेछ । यसबाहेक तीनवटा घुम्ती पसल पनि सञ्चालनमा ल्याउने भएको छ । उपत्यकाबाहिर पनि कर्पोरेशनले विभिन्न जिल्लामा पसल सञ्चालनमा ल्याउने भएको छ ।
खाद्यले जस्तै विभिन्न प्रदेशअनुसार फरक–फरक जिल्लामा सहुलियत मूल्यमा पसल सञ्चालन गर्न लागिएको कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले विगतका वर्षहरूमा पनि चाडपर्वको समयमा उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा सहुलियत पसल सञ्चालन गर्दै आएको थियो ।