साउन महिनाको सोमबार शिवजीको विशेष पूजा आराधना हुने गर्दछ । व्रतालुहरूका लागि महिनामा ५ वटा सोमबार प¥यो भने अझ उत्तम मानिन्छ । पाशुपत क्षेत्रलगायत देशैभरिका शिवालयहरूमा भक्तजनको जमघट देखिनु यसको विशेषता नै हो । यसपालि पाशुपत क्षेत्रमा पदाधिकारी नयाँ आएर साप्ताहिक बागमती सफाइको काम सुरु गरेका छन् । नौलो प्रचलन धनीका देवता मानेर हजारको टिकट वितरण हुँदा शिवजीलाई पक्षपात भएको गुनासो बढेको छ । जति पैसा भए पनि नपुगेर देवतामा व्यापार यहाँको चलन भएको छ । पशुपतिनाथ मन्दिर परिसरमा मात्रै होइन देशभरिका शिवालयहरूमा साउन महिनाभरि खासगरी सोमबार भीड हुने गर्दछ । देशैभरि खासगरी हाम्रो १० जिल्लाहरूमा आदिम ६४ ज्योतिर्लिंगहरू छन्, कुशेश्वर सिन्धुलीदेखि रुद्रगारेश्वर पशुपति कैलाशमुनिसम्म यी स्थानहरू छन् । पंक्तिकार नेपालका ४ धाम र चौसट्ठी ज्योतिर्लिंगका विषयमा उजागर गर्ने गरी खटेर लागेको छ ।
देवता खोज्न मन्दिरै जानुपर्ने चाहिँ होइन, ईश्वर स्वयं मानिसको मनमन्दिरमा बस्ने गर्छन्, न केवल मानिसको, किन्तु सम्पूर्ण प्राणी जगत्मा ईश्वरको विराजमान हुन्छ । त्यसैले त शास्त्रले भनेको छ ‘अहं सर्वेषु भूतेषु’ अर्थात् ईश्वरको शब्दमा ‘म सबै प्राणीमा रहनेछु’ । शिवजीको आराधनाको अर्थ हुन्छ, सर्व कल्याण, सबै जनको हित ! कुनै पनि सेवाको अर्थ हुन्छ मानवहित ! प्राणीमात्रको रक्षा तर भएको छ ठीक उल्टो संसार युद्धमा संलग्न छ, मनोवैज्ञानिक युद्ध चलेको छ । मनोवैज्ञानिक युद्धमात्रै होइन हतियारको पनि छ । रसिया–युक्रेनले संसारको सातो लिए, हमास–इजरायल–अमेरिकाले पनि । अहिले हामीकहाँ स्वर्णिम बजेट युद्ध चलेको छ र सबैतिर त्रास बढेको छ । बजार महँगी र इन्धन, खाद्यान्न, लत्ताकपडामा धेरै प्रतिस्पर्धा छ ।
संसारको शिर भाग पशुपतिनाथको कृपा छ, यहाँ देशलाई मात्रै नभएर विश्वलाई पनि । शिवको पूजा गर्नु, उनको नाम जप्नु, उनको गुण, रूप चित्रमा प्रवृत्त गराउनु चिन्तन हो, मनन हो । शिव प्राप्ति जीवको उद्देश्य हो, आकांक्षा वा साध्य हो । शरीर अनित्य छ, भौतिक सुख झन् बढी अनित्य छ, विश्वमा ८ अर्ब जनसंख्याको विचार फरक हुनु स्वाभाविक हो । तर, संसारमा अब एक परिवारका हिसाबले हेर्नुपर्ने भइसकेको छ । एक ठाउँमा घाउ लाग्दा संसार कम्पित हुने भएको छ । मानौं शरीरको एक भागमा चोट लाग्दा सबै शरीर शिथिल हुन्छ । सत्य वस्तु भनेको शिव हो, जोसँग साक्षात्कार गर्न सकेमा सर्वकल्याण हुन्छ । सर्व रुद्र कल्याणका लागि भक्ति, साधना, श्रवण, कीर्तन र मनन जरुरी छ । शिवशंकरका बारेमा श्रवण, कीर्तन र मनन गर्नाले महत्तम साधना सिद्धि हुन्छ । भगवान् शिवका आज्ञाले सनतकुमारलाई नन्दीश्वरले शक्ति दिनुभयो । सबैका स्वामी, शिवगणका स्वामी भगवान् नन्दीश्वर हुनुहुन्छ । मुक्तिका साक्षात् कारण, श्रवण, कीर्तन र मनन नै हो, वेद सम्मत छ । मुक्तिको उपाय भक्ति हो, भक्तिको स्वरूप श्रवण हो, कीर्तन हो र मनन हो ।
यी ३ साधनामा रत हुन नसक्नेका लागि अर्को उपाय छ, भगवान्को साकार विग्रहको साधना गर्ने अर्थात् पूजा गर्ने, शिवलिंग स्थापना गर्ने, मूर्तिको नित्य पूजा गर्ने । नित्य पूजा गर्नाले संसार सागरबाट पार हुन सकिन्छ । शक्तिअनुसार आफ्नो धनराशि शिवमूर्तिमा सुम्पिनुपर्ने हुन्छ, अर्पण गर्नुपर्ने हुन्छ । शिवलिंग एवं शिव मूर्तिको पूजा गर्नुपर्ने हुन्छ । भक्ति भावले मण्डप निर्माण गर्ने, तीर्थ स्थापना, मठ निर्माण, क्षेत्र स्थापना, उत्सवको आयोजना गर्नुपर्ने हुन्छ । वस्त्र, गन्ध, फूल, दीप, नैवेद्य समर्पित गर्नुपर्ने हुन्छ । छत्र, ध्वजा, व्यञ्जन, चामर, सम्पूर्ण साधनले राजोपचारले पूजा गर्नुपर्ने हुन्छ । प्रदक्षिणा, नमस्कार, यथाशक्ति जप गर्नुपर्ने हुन्छ । आवाहनदेखि विसर्जनसम्म प्रतिदिन भक्ति भावले गर्नुपर्ने हुन्छ । यसरी अनुष्ठान पूजा गर्नाले, श्रवण, कीर्तन, मनन गर्न नसक्नेहरूलाई पनि सोको फल प्राप्ति हुन्छ । धेरै ऋषि, महर्षि, ब्रह्मज्ञानीहरू शिवजीको पूजा आराधना गरेर उनीहरू भवसागर बन्धनबाट छुटे ।
सबै देवताहरूको मूर्तिमा पूजा हुन्छ । तर शिवजीको मूर्ति वा लिंगमा हुन्छ । यो शंका भने महादेवभन्दा अरूले निवारण गर्न सक्तैनन् । शिवजीलाई दुई रूपबाट चिन्तन गर्न सकिन्छ । सगुण साकार रूप र निर्गुण निराकार रूप । निराकार भएकाले शिवजीको शिव लिंगमा पूजा हुन्छ । शिवलिंग शिवको निराकार स्वरूप हो । शिवको साकार स्वरूप उनको स्वरूप मूर्ति हो । अंग आकारले युक्त साकार हो भने अंग आकारले रहित निराकार हो । यसै कारणले मानिसहरू निर्गुण वा सगुणको स्वरूप पूजा गर्छन् ।
पापरहित सनतकुमारलाई नन्दीश्वरले भन्नुभएको थियो, शिवलिंग स्वयं ब्रह्म स्वरूप हो, यो गोपनीय विषय हो । परन्तु शिवभक्त भएकाले मैले यहाँलाई श्रवण गराएको हुँ ! सोमबार प्रायः महिलाहरू यस्तो व्रतमा हुने गर्छन् र रातो साडीमा सजिन्छन् ।
नन्दीकेश्वर भगवान्ले सनतकुमारको प्रश्नमा महादेवको निराकार स्वरूप शिवलिंगको प्रादुर्भावको प्रसंग सुनाउनुभएको होे । शिवलिंगको शिर भाग र फेद भाग पत्ता लगाउनेबारे ब्रह्मा र विष्णुका बीच विवाद भएछ । यो विवादबाट देवताहरूमा व्याकुलता छाएछ, चिन्ता भएछ, देवताहरूले कैलाशमा गएर चन्द्रशेखर भोलेनाथ शिवजीको स्तुति बिन्ती गरेछन् । महादेव भोले बाबा ब्रह्मा र विष्णुको विवाद भएका ठाउँमा आउनुभएछ । भीषण शिवलिंग अग्नि स्तम्भका रूपमा प्रकट भएछ त्यहाँ र यसको शिर भाग र फेद भागको पत्ता लगाउनू भन्ने आदेश भएछ शिवबाट ! शिवजीको त्यो अग्नि स्तम्भको गहिराइ र उचाइ नाप गर्न अर्थात् यो पत्ता लगाउन ब्रह्मा र विष्णु हिँड्नुभएछ, एक जना माथितिर अर्का तलतिर तर फेद र टुप्पो पत्ता लागेनछ, निराश हुनुभएछ दुवै !
तत्पश्चात् थाकेका ब्रह्मा र विष्णुले मिलेर शिवलिंगको पूजा गर्नुभयो । दुवै हात जोडेर शिवजीको निराकार रूपलाई दाया–बायाँ भागमा राखी चुपचाप खडा भइरहनुभयो । प्राकृत वस्तु र पुरुष वस्तुमा फरक के छ भने दीर्घकालसम्म स्थिर भएर रहनेलाई पुरुष वस्तु भनिन्छ । अल्पकालमात्र रहनेलाई प्राकृत वस्तु भनिन्छ । यसै क्रममा पुरुष वस्तु शिवलिंगमा ब्रह्मा, विष्णु दुवैले विभिन्न साधनहरूद्वारा पूजा गर्नुभयो । हार, नुपुर, केयुर, किरिट, मणिमय कुन्डल, जनै, उत्तरीया वस्तु, पुष्पमाला, रेशमी वस्तु, हार, मुद्रिका, पुष्प, ताम्बुल, कपुर, चन्दन, धूप, दीप, श्वेतछत्र, ध्वजा, चामर अन्यान्य दिव्य उपहार अर्पण गरी पूजन गर्नुभयो । बद्ध जीवलाई पशु भनिन्छ । पशुको मालिकलाई पशुपति भनिन्छ । ब्रह्मा विष्णु दुवैले सर्वप्रथम शिवलिंगको पूजा गर्नुभएकाले शिवजी प्रसन्न भई भन्नुभयो¬ तपाईंहरूले आज मेरो पूजन गर्नुभयो, तपार्इंहरूबाट म प्रसन्न भएँ । अब हरेक सोमबार मेरो पूजा–आराधना गर्नोस्, मनोकामना पूरा हुनेछ, सिद्धि प्राप्त हुनेछ । सृष्टिदेखि पालन गर्नेसम्मको काम अब तपाईंहरू ब्रह्मा र विष्णुले गर्न सक्नुहुन्छ । निराहार व्रत राख्नाले जितेन्द्रीय भएर शक्तिअनुसार पूजा गर्नाले, निश्चल भावले यजन, पूजन, स्तुति, वन्दना गर्नाले सुख भोग र मुक्तिसमेत पाइन्छ ।
धर्मको वृद्धि गर्ने विशेष दिनहरू हुन्छन्, महाकालेश्वर मृत्युञ्जयी हुन चाहनेले त मेरो प्यारो बार शनिबार पारेर विशेष यजन, पूजन गर्ने गर्छन्, ज्योतिर्मय ढंगले म जहिले प्रकट भएँ त्यो समय भनेको मंसिर महिनाको शुक्लपक्ष, पूर्णिमा तिथि, आद्रा नक्षत्र हो । जसले मंसिर महिनामा आद्रा नक्षत्रले युक्त दिनमा पार्वतीसहित मेरो दर्शन गर्छ वा मेरो मूर्तिमा, लिंगमा पूजा गर्छ, विशेष यजन, पूजन गर्छ, त्यो मेरा लागि, मेरो पुत्र गणेश, कुमारभन्दा पनि प्यारो हुन्छ । यो शुभ दिन पूजा गर्न नसक्नेले मेरो दर्शन गर्नाले मात्रै पनि पुण्य प्राप्त गर्न सक्छ र पनि श्रावण महिना मेरो विशेष प्यारो छ । दर्शनका साथमा पूजा पनि गर्नेलाई अक्षय फल प्राप्ति हुन्छ ।
साँच्चै शिवलिंग भोग, सुख र यस दिनेवाला छ । दर्शन, स्पर्श र ध्यानले प्राणीको जन्म–जन्मसम्मको पाप नाश हुन्छ । मृत्यु सरल र बिनाकष्ट अनि अभयसमेत प्राप्ति हुने साधन हो यो ! शिवलिंग प्राकाट्य भएको क्षेत्रबाट अन्य तीर्थहरू प्रकट हुन्छन् । तीर्थमा मानिसको प्रवेश वा त्यहाँबाट बिदाइ हुनाले व्यक्तिले मोक्ष प्राप्ति गर्न सक्छ । भगवान् भन्नुहुन्छ, मेरा दुई रूप छन्– निराकार रूप ब्रह्म भाव हो भने साकार रूप महेश्वर भाव हो र दुवै मेरो सिद्ध रूप हो । परबह्म परमात्मा भनेको मै हुँ । जीवात्माहरू सबैमा अनुग्रह गर्ने मेरो काम हो । सबैभन्दा बृहत् हुनाले जगत्को वृद्धि म स्वयं गर्छु– यो मेरो कार्य हो, यसैले मलाई ब्रह्म भन्दछन् । सर्वत्र छु, सर्वव्यापी छु, सबैका आत्मामा छु, म सबैको ईश्वर हुँ, परमेश्वर मेरो नाम हो । मैले मेरो ब्रह्ममय निराकार दर्शाउन लिंग स्वरूप प्रकट भएको हँु, पछि अज्ञात ईश्वरको साक्षात्कार गर्न जगदीश्वरका रूपमा साकार रूप लिएको हुँ । ममा जे ईश्वर रूप छ त्यही सगुण÷साकार रूप हो । मेरो आदि अन्त्य छैन त्यसैले अनन्त पनि हुँ ।
(लेखक पौडेल धर्म–संस्कृतिको जानकारी राख्छन् ।)