नेभिगेशन
प्रदेश

सीमा सहजीकरणका लागि सशस्त्र सक्रिय

काठमाडौं । सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको ‘बोर्डर इन्टरयाक्सन टिम’ (सीमा संवाद समूह) परिचालन गरिएको छ ।
    झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा १४ जनाको टोली आजदेखि परिचालन गरिएको हो । सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमासुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
    यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रुपन्देहीको डण्डास्थित सीमासुरक्षा गुल्मबाट सो टोली परिचालनको शुभारम्भ गरे । सो क्रममा उनले सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापका बारेमा समेत जानकारी लिएका छन् । सो टोलीले विशेषगरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाको सहजीकरण, मावनबेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तुलगायत सामग्रीको निगरानी, नियन्त्रण तथा जाँचमा कडाइका साथ काम गर्नेछ ।
    टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरुसँग समन्वयमा सीमा इलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम, नियन्त्रणलगायत अन्य ‘अप्रेसनल’ कामकारबाहीमा समेत सहयोग पुग्ने सशस्त्रको विश्वास छ । 
    आइतबारै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनीपतिले टोली परिचालनको शुभारम्भ गरेका छन् । मुख्य सीमा नाकामा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म सादा पोसाकमा रहने छन् ।
यसैबीच, नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले कैलाली–कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ –बीआईटी) परिचालन गरिएको छ ।
    सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले आज कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित गौरीफन्टा सीमानाकामा आयोजित कार्यक्रममा सीमा संवाद समूह (बोर्डर इन्टरयाक्सन टिम) परिचालन गरिएको घोषणा गरेका हुन् । 
    सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने योजनाअनुसार गौरीफन्टा नाकामा ‘बीआईटी’ परिचालन गरिएको बताए । सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुवेदीले सीमा नाकामा कडा सुरक्षा र सहज आवागमनबीच सन्तुलन कायम गर्दै नागरिकसँग प्रत्यक्ष समन्वय बढाउने उद्देश्यले टोली परिचालन गरिएको जानकारी दिए । 
    बाहिनीपति सुवेदीले सीमा समन्वय टोलीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई ‘निगरानी, समन्वय र नियन्त्रण’ को नीतिअनुसार अनुशासित, नागरिकमैत्री र त्रुटिरहित ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशनसमेत दिए ।
    सशस्त्र प्रहरीले सीमा प्रवेश विन्दुहरूमा यस्ता टोली परिचालन गर्दै सीमासुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, नागरिकमैत्री र सूचना–आधारित बनाउने रणनीति अघि बढाएको जनाएको छ । हाल गौरीफन्टा नाकासहित हाल देशका विभिन्न छ जिल्लामा कार्यारम्भ गरिएको हो ।
    कार्यक्रममा सशस्त्र प्रहरी बल नं ३४ गण मुख्यालय कैलालीका गणपति खुमबहादुर केसी, कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रका सशस्त्र प्रहरी इकाइ प्रमुख, सीमावर्ती वडाका जनप्रतिनिधि तथा नेपाल प्रहरी त्रिनगर प्रहरी चौकीका प्रमुख एवं प्रहरी वरिष्ठ नायब निरीक्षक नैनसिंह भाटलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
नारायणी नदीमा तटबन्ध

नारायणी नदीमा तटबन्ध

भन्सार छलीका कपडा बरामद

भन्सार छलीका कपडा बरामद