नेभिगेशन
राजनीति

रास्वपाले केन्द्रीय समिति बैठक गर्दै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । चितवनमा सम्पन्न पार्टीको प्रथम महाधिवेशनको एक महिना पुगेको छ । महिनादिन भएपछि रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।  
बैठकमा चितवनमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल हुने आचार्यले जानकारी दिए ।
एक महिनाको अवधिभित्र महाधिवेशनको समीक्षा हुन नसकेको भन्दै पार्टीभित्र केही नेताहरूले प्रश्न उठाएका थिए ।  महाधिवेशन पछि प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच एक पटक भेट भएको थियो । उक्त भेटमा सरकारको कामकारवाहीबारे सभापति लामिछानेले असन्तुष्टि व्यक्त गरेका थिए भने प्रधानमन्त्रीले सभापति निकट केही मन्त्रीको कामकारवाहीमा असन्तुष्टि पोखेका थिए । अहिले सरकारको कामकारवाहीमा सडकमै आलोचना भइरहेको छ भने रास्वपाका सांसदमाथि क्षेत्रमा जाँदा दुव्र्यवहारको घटना समेत भएका छन् । यी विषयमा पार्टीले आवश्यक चासो राख्नुपर्ने भन्दै केन्द्रीय समिति बैठक डाँक्न सभापतिमाथि दबाब बढेको थियो । महाधिवेशनबाट सभापति, दुई उपसभापति, एक महामहामन्त्री, तीन सहमहामन्त्री सहित ९९ जना निर्वाचित भएका छन् । विधानको व्यवस्था अनुसार ११ पदाधिकारी सहित थप ५१ केन्द्रीय सदस्य मनोनीतबाट पदपूर्ति गर्नुपर्ने हुन्छ । केन्द्रीय समिति बैठकमा रिक्त पदपूर्तिबारे पनि छलफल हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्