काठमाडौं । गृह मन्त्रालयले सुनसरीमा प्रहरीको गोलीबाट एक युवाको ज्यान गएको र दर्जनौं घाइते भएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ । सोमबार घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा गोली लागेर एक जनाको निधन भएको थियो । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते छन् । घटनामा गोली लागेर मृत्यु हुनेमा देवानगञ्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहता छन् ।
उक्त घटनालाई लिएर गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरूलाई एकैपटक फिर्ता बोलाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ भने उनको ठाउँमा पुष्पराज मल्ललाई खटाइएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा डीएसपी मदन नाथलाई पठाइएको छ ।
उसो त, उक्त घटना हुँदा सुनसरीका दुई सुरक्षा निकायकै प्रमुख जिल्लामै थिएनन् । सीमावर्ती र उच्च सुरक्षा जोखिमका रूपमा चिनिने सुनसरीमा गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गत असार ३ गते सशस्त्र प्रहरी बल नम्बर ४ गण इनरुवाका गणपति एवं सशस्त्र प्रहरी बलका सुनसरी प्रमुख एसपी श्यामकुमार कार्की मुख्यालय तानिएका थिए । उनको स्थानमा नयाँ गणपति पठाइएको छैन । सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेवे गत शुक्रबारदेखि बिदामा थिए । उनको स्थानमा डीएसपी चन्द्रबहादुर खड्का निमित्त प्रमुखको जिम्मेवारी थिए । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा थिए ।
गृह मन्त्रालयले आइतबार भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिलाई एक साताको समय सीमा तोकिएको गृह मन्त्रालयले जनाएको छ । आइतबार रातीको घटनालाई लिएर सोमबार दिनभर उक्त क्षेत्रको अवस्था तनावग्रस्त बन्यो । कफ्र्यु जारी भएपनि प्रदर्शन जारी रहँदा अवस्था नियन्त्रणमा लिन नेपाली सेना खटिएको थियोे ।
सुनसरीको देवानगञ्ज घटनालगत्तै घटनास्थल पुगेका रास्वपाका सांसद लालविक्रम थापाले प्रहरीले गोली चलाउनुपर्ने अवस्था नरहे पनि किन गोली चलाइयो भन्दै प्रश्न उठाएका छन् । अरु राजनीतिक दलले पनि घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
यसैबिच, राष्ट्रिय मानवअधिकार आयोगले देवानगञ्ज घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालयले प्रारम्भिक अनुगमन गरिरहेको जनाएको हो ।
त्यस्तै, जेनजी अभियन्ता तनुजा पाण्डेले सुनसरीमा भएको गोलीकाण्डप्रति गम्भीर आपत्ति जनाउँदै गृहमन्त्री सुधन गुरुङसँग नैतिक तथा प्रशासनिक जिम्मेवारी लिन माग गरेकी छन् । उनले भदौ २३ मा संसद् भवनअगाडि भएको गोली प्रहारको घटनादेखि सुनसरी गोलीकाण्डसम्मका घटनालाई राज्यसत्ताको एउटै दमनकारी मानसिकताको उपज भएको आरोप लगाएकी छन् ।
पाण्डेका अनुसार नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व बोकेको गृह प्रशासनले स्थिति नियन्त्रणका अन्य विकल्प हुँदाहुँदै गोली चलाउने अवस्था आउन दिनु गृह मन्त्रालयको कमाण्ड तथा नियन्त्रण प्रणालीको गम्भीर असफलता भएको बताएकी छन् । पाण्डेले सुनसरी घटनामा कस्तो परिस्थिति बनेको थियो, कसको आदेशमा घातक बल प्रयोग गरियो र किन अन्य विकल्प अपनाइएन भन्ने विषयमा गृह मन्त्रालयले तथ्यपरक र स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन् ।
संघसँग सुरक्षा प्रबन्धको आग्रह
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारसँग आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले सुनसरी देवानगन्जस्थित कप्तानगन्ज घटनापछि नेपाल सरकारलाई अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाउन र जनताको जिउधनको रक्षा गर्न अनुरोध गरेका हुन् । सबैलाई संयमित रहन आग्रह गर्दै उनले सद्भाव कायम गर्न पनि आह्वान गरेका छन् । ‘सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ,’ मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीहरूमा हार्दिक अनुरोध गर्दछु ।’
प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको जनाउँदै उनले आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
कांग्रेसले माग्यो जवाफसँगै निष्पक्ष छानबिन
प्रमुख प्रतिपक्षी दल कांग्रेसले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ । सभापति गगन थापाले सुनसरीको देवानगञ्जमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका छन् । ‘सरकारसँग प्रश्न छ– नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?,’ थापाको प्रश्न छ । उनले घटनाको निष्पक्ष छानबिन गर्न र संयम रहन पनि उनले आग्रह गरेका छन् ।
उनले यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
त्यस्तै, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको बताएका छन् । ‘सुरक्षाकर्मीले पनि कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्छ । सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्छ,’ उनल अलग्गै विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी हो । यो घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ र तत्काल गृहमन्त्रीले यसको जवाफ दिनुपर्छ ।’ संवेदनशील अवस्थामा सबै पक्षलाई उच्चतम संयतता अपनाउन पनि कांग्रेसले आह्वान गरेको छ ।