नेभिगेशन
अर्थतन्त्र

सञ्चालनमा आयो नागढुंगा–सिस्ने खोला सुरुङमार्ग

शिलान्यासको शिलालेखको पुनस्थापना गर्छौँ : मन्त्री लम्साल

काठमाडौं । देशकै पहिलो नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आएको छ । निर्माण सुरु भएको ८० महिनापछि सोमबार उद्घाटन गरी सुरुङमार्ग औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको, नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । यो देशकै पहिलो सुरुङमार्ग हो । पहिलो चरणमा सोमबाबाट दमकल, एम्बुलेन्स, सुरक्षा निकायलगायतका अत्यावश्यक सवारीसाधनलाई आवत–जावत गर्न अनुमति दिइएको छ । सुरुङमार्गमा सार्वजनिक तथा निजी सवारीसाधनले आवत–जावतको अनुमति पाउन भने अझै ३ महिना लाग्नेछ । सुरुङमार्ग उद्घाटन समारोहलाई सम्बोधन गर्दै जाइकाका अध्यक्ष तानाका अकिहिकोले नागढुंगा–सिस्ने खोला सुरुङमार्ग नेपाल–जापानबीचको सात दशक लामो मित्रता, प्राविधिक सहकार्य र नेपालको पूर्वाधार विकासमा ऐतिहासिक कोसेढुंगा भएको बताए । 
उनले नेपालको भूकम्पपछिको पुनर्निर्माणदेखि दिगो विकास र विपद् प्रतिरोधी पूर्वाधार निर्माणसम्मको यात्रामा जापान सहयात्री बनेको बताए । २०७२ सालको भूकम्पपछि नेपाल भ्रमण गरेको स्मरण गर्दै उनले अहिले नेपाल आधुनिक र दिगो पूर्वाधार निर्माणतर्फ आत्मविश्वासका साथ अघि बढिरहेको देख्दा खुसी लागेको बताए । 
‘दैनिक करिब ९ हजार सवारीसाधन गुड्ने नागढुंगा करिडोरमा विगतमा एक घण्टाभन्दा बढी लाग्ने यात्रा अब पाँचदेखि सात मिनेटमै सीमित हुनेछ,’ उनले भने, ‘यसबाट ट्राफिक जाम घट्ने, सडक सुरक्षा बढ्ने, आर्थिक गतिविधि विस्तार हुने र विपद्का बेला पनि आवागमन सहज हुनेछ ।’
उनले हिमालयको जटिल भूगर्भीय बनोटका कारण आयोजना कार्यान्वयनमा अनेक चुनौती आए पनि जापानी प्राविधिक अनुभव र नेपाली इन्जिनियर तथा कामदारहरूको समर्पणले ती सबै चुनौती पार गरिएको बताए । आयोजनामा कार्यरत करिब ९८ प्रतिशत जनशक्ति नेपाली रहेको उल्लेख गर्दै उनले यसबाट प्राप्त ज्ञान र सीपले भविष्यका सुरुङ तथा अन्य पूर्वाधार आयोजनामा महŒवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले उद्घाटनसँगै नेपाल र जापानबीच सुरुङको योजना, सञ्चालन र मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नयाँ प्राविधिक सहयोग कार्यक्रम पनि सुरु हुन लागेको बताए ।
यस्तै, नेपालका लागि जापानी राजदूत माएदा तोरुले नागढुंगा सुरुङ नेपालको पूर्वाधार विकास इतिहासमा नयाँ अध्याय थप्ने आयोजना भएको बताए । जापान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षमा यो आयोजना सम्पन्न हुनु दुवै देशका लागि विशेष महŒवको भएको उल्लेख गर्दै उनले करिब २२.३ अर्ब जापानी येन (झण्डै २१.२ अर्ब नेपाली रुपैयाँ) बराबरको जापानी सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो आयोजना दुई देशबीचको विश्वास र दीर्घकालीन साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए ।
उनले सुरुङले काठमाडौंलाई पोखरा तथा पश्चिम नेपालसँग अझ प्रभावकारी रूपमा जोड्दै मानिस र मालसामानको आवागमनलाई सहज बनाउने, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र आर्थिक गतिविधि विस्तारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । निर्माणका क्रममा चट्टानको भौगर्भिक अवस्था, जमिनको हलचल र भारी वर्षापछि आएको पहिरोजस्ता चुनौती सामना गर्नुपरे पनि जापानको सुरुङ निर्माण अनुभव र नेपाली जनशक्तिको अथक परिश्रमले आयोजना सफल भएको उनले बताए । आयोजनाबाट नेपाली इन्जिनियरहरूले प्राप्त गरेको प्राविधिक ज्ञान र सुरक्षा संस्कृतिले भविष्यका पूर्वाधार आयोजनामा ठूलो योगदान पुग्ने उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले दशकौंदेखि काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा रहेको नागढुंगा नाका राष्ट्रिय सडक सञ्जालको सबैभन्दा व्यस्त र जोखिमपूर्ण खण्डमध्ये एक रहेको उल्लेख गर्दै सुरुङ सञ्चालनसँगै त्यो कठिन अध्याय समाप्त भएको बताए । उनले सिस्नेखोला र बलम्बुबीच आधा घण्टाभन्दा बढी लाग्ने यात्रा अब केही मिनेटमै पूरा हुने तथा घुमाउरो सडक, ट्राफिक जाम र पहिरोको जोखिमसमेत उल्लेखनीय रूपमा घट्ने बताए । सचिव सिग्देलले यो उपलब्धि सरकारको दूरदर्शी योजना र जापान सरकारको निरन्तर सहयोगको प्रतिफल भएको उल्लेख गर्दै जाइकामार्फत प्राप्त सहुलियतपूर्ण ऋणले दुई देशबीचको पुरानो मित्रतालाई अझ बलियो बनाएको बताए । उनले नेपाली र जापानी इन्जिनियर, प्राविधिक तथा कामदारहरूको योगदानको प्रशंसा गर्दै सुरुङ निर्माणबाट प्राप्त अनुभवले भविष्यमा नेपालमा निर्माण हुने अन्य सुरुङ तथा ठूला पूर्वाधार आयोजनाका लागि मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । मन्त्रालय सुरक्षित सञ्चालन, नियमित मर्मतसम्भार र पारदर्शी व्यवस्थापनमार्फत सुरुङको दीर्घकालीन उपयोग सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उनले बताए ।
शिलान्यासको शिलालेखको पुनस्थापना गछौंः मन्त्री लम्साल
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्ने खोला सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनः स्थापना गरिने बताएका छन् । सोमबार सुरुङमार्गको औपचारिक उद्घाटनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लम्सालले आफूहरूले इतिहास मेटाउने नभई सम्मान गर्ने हुँदा शिलान्यासको शिलालेख पुनः राखिने बताएका हुन् । 
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित टुटीपाखामा ४ कात्तिक २०७६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए । उनको नाम अंकित शिलालेख हटाएको भन्दै त्यसको विरोध भएपछि मन्त्री लम्सालको यस्तो भनाइ आएको हो । सडक विभागका अनुसार सुरुङमार्गको डिजाइनबमोजिम सुरुङमार्गको काठमाडौंतर्फ सुरुमा शिलान्यास गरिएको स्थानमा सीसीटिभी क्यामरा राख्ने भवन बनाउनुपर्ने भएपछि एक वर्षअघि नै त्यहाँबाट निकालिएको थियो । निकालिएको शिलालेख विभागको बबरमहलस्थित कार्यालयमा राखिएकोमा २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला भवनमा आगो लगाइएकाले शिलालेख पनि जलेर नष्ट भएको विभागले जवाफ दिएको थियो । 
‘शिलालेख जेनजी आन्दोलनका क्रममा जलेको रहेछ,’ मन्त्री लम्सालले भने, ‘हामी त्यसलाई फेरि पुनस्थापना गर्छौ ।’ उनले इतिहासको सम्मान गर्नुपर्ने बताउँदै आफूहरूले पनि त्यसको पालना गर्ने बताए । उनले नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल अब सुरुङ युगमा प्रवेश गरेको पनि बताए । 
‘सुरुङमार्गको निर्माण दुईवटा कारणले गरिएको हुन्छ, एउटा भनेको यात्राको दूरी छोट्याउन तथा बढ्दो सवारी आवागमनको चाप व्यवस्थापन गर्न र अर्को भनेको पहिरोको जोखिम न्यूनीकरण गर्न हो, अब यिनै उद्देश्यबमोजिम नै सुरुङमार्गहरूको निर्माण हुँदै जानेछ,’ उनले भने । अबको योजनामा धेरै सुरुङमार्गहरू रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्