नेभिगेशन
खेलकुद

विश्वकपका आलोचकले घृणा फैलाएको आरोप

विश्वकपका क्रममा अमेरिकी भिसा प्रतिबन्धलगायत विभिन्न विषयलाई लिएर फिफामाथि आलोचना भएको थियो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को फिफा विश्वकपका आलोचकप्रति कडा प्रतिक्रिया जनाउँदै उनीहरूले घृणा र झुटा प्रचार फैलाएको आरोप लगाएका छन् । उनले प्रतियोगिता भने ‘खुसी, एकता, सुरक्षा र सहकार्य’को उत्सवका रूपमा सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका छन् ।
सोमबार इन्स्टाग्राममा प्रकाशित खुला पत्रमा ५६ वर्षीय इन्फान्टिनोले स्पेनले उपाधि जितेको तथा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित विश्वकप हेरेका विश्वभरका लाखौँ समर्थकले अनुभूत गरेको खुसी र एकतालाई आलोचकहरूले बेवास्ता गरेको बताएका छन् ।
उनले लेखेका छन्, “तपाईंहरू घृणा र आलोचनामै यति डुब्नुभयो कि त्यो सबै देख्नै सक्नुभएन । कलम र कागजको पछाडि बसेर, वा आफ्नो स्क्रिनको पछाडि बसेर घृणा र झुटा अफवाह फैलाउनेहरूलाई म भन्न चाहन्छु—तपाईंहरू त्यहाँ बसेका बेला हामी फिफामा अग्रपङ्क्तिमा रहेर प्रतियोगिता आयोजना गरिरहेका थियौँ, कडा मेहनत गरिरहेका थियौँ र संसारकै उत्कृष्ट खेल महोत्सव प्रस्तुत गरिरहेका थियौँ । हामीले कुनै हिंसा देखेनौँ, कुनै अप्रिय घटना भएन, शतप्रतिशत सुरक्षा सुनिश्चित भयो, केवल खुसी र उल्लास मात्रै थियो ।”
इन्फान्टिनोको यो टिप्पणी न्यु जर्सीमा भएको विश्वकप फाइनलपछि अर्जेन्टिना र स्पेनका खेलाडीबीच मैदानमै भएको झडपबारे फिफाले अनुसन्धान गरिरहेको जनाएको एक साताभन्दा कम समयपछि आएको हो ।
विश्वकपका क्रममा विभिन्न विषयमा फिफा आलोचित भएको थियो । तीमध्ये केही देशका समर्थक र अधिकारीलाई असर परेको अमेरिकी भिसा प्रतिबन्धबारे बहस तथा इरानजस्ता द्वन्द्वग्रस्त मुलुकका टोलीसँग सम्बन्धित चिन्ता प्रमुख थिए ।
समूह चरणबाटै बाहिरिएको इरानले प्रतियोगिताका क्रममा कठिन परिस्थितिको सामना गर्नुपरेको थियो । मध्यपूर्वमा जारी युद्धका कारण उसले एरिजोनाको टक्सनस्थित प्रशिक्षण शिविर मेक्सिकोको टिजुआनामा सार्नुपरेको थियो । साथै, समूह चरणका तीन खेल खेल्न अमेरिका आउजाउ गर्दा पनि टोलीले व्यवस्थापकीय कठिनाइ झेल्नुपरेको थियो ।
इन्फान्टिनोको पत्र अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको अनुशासनसम्बन्धी विवादमा फिफाको भूमिकामाथि प्रश्न उठिरहेका बेला पनि सार्वजनिक भएको हो । बोस्निया र हर्जेगोभिनाविरुद्ध रातो कार्ड पाएपछि स्वतः लागू भएको एक खेलको प्रतिबन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि स्थगित गरिएको निर्णयमाथि व्यापक आलोचना भएको थियो ।
यस्तै, अर्जेन्टिना र इजिप्टबीचको खेलमा रेफ्रीका निर्णयहरूलाई लिएर पनि समर्थक र विश्लेषकबीच व्यापक बहस भएको थियो ।
यद्यपि इन्फान्टिनोले कुनै पनि घटनाको नाम उल्लेख गरेनन् । उनले विश्वकपका क्रममा आलोचना गरिएका धेरै रेफ्री तथा अनुशासनसम्बन्धी निर्णय संसारका अन्य प्रतियोगितामा पनि सामान्य रूपमा हुने गरेको तर्क गरे ।
उनले भने, “गल्ती हुन सक्ने रातो वा पहेँलो कार्ड, वा केही अवस्थामा खेलाडीलाई प्रतिबन्ध नलगाउने पछिल्ला निर्णयहरू संसारका ठूला लिगहरूमा नियमित र स्वीकार्य अभ्यास हुन् । यस्ता अभ्यास अपनाउने देशहरूले नै यसको आलोचना गर्नु रोचक कुरा हो ।”
भिसा विवाद
इन्फान्टिनोले राजनीतिक तनाव, आन्तरिक संकट तथा स्वास्थ्य चुनौती सामना गरिरहेका देशहरूको सहभागितालाई फुटबलले विभाजनभन्दा माथि उठ्न सक्ने प्रमाणका रूपमा प्रस्तुत गरे ।
इरानको सहभागिता अमेरिका–इरान तनावको पृष्ठभूमिमा भएको थियो भने हाइटीको आन्तरिक संकट र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण पनि भिसा र यात्रासम्बन्धी प्रतिबन्धले ध्यान तानेको थियो ।
सोमाली विश्वकप रेफ्री ओमर अब्दुलकादिर अर्टानलाई वैध भिसा हुँदाहुँदै पनि अमेरिकामा प्रवेश गर्न दिइएको थिएन ।
इन्फान्टिनोले भने, “तपाईंहरूले भिसा नपाएका केही व्यक्तिमाथि मात्रै ध्यान दिनुभयो, तर संसारभरबाट भिसा पाएका लाखौँ मानिसलाई बेवास्ता गर्नुभयो । फुटबलले संसारलाई एक बनाउँछ, र यो कुरा यस गर्मीयाममा प्रभावशाली ढङ्गले प्रमाणित भयो ।”
उनले थपे, “इरान कुनै समस्या वा द्वन्द्वबिना अमेरिकामा प्रवेश ग¥यो । इरानी टोलीलाई प्रवेशाज्ञा दिइयो, किनभने फुटबल शान्तिको प्रतीक हो । यो राजनीतिका लागि होइन ।”
इन्फान्टिनोको भनाइ इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईको अभिव्यक्तिभन्दा बिल्कुल फरक थियो । घालेनोईले विश्वकपमा आफ्नो टोली ‘सबैभन्दा बढी अन्यायमा परेको’ टोली भएको बताएका थिए ।
इन्फान्टिनोले थपे, “गम्भीर स्वास्थ्य समस्या वा अन्य चुनौती झेलिरहेका देशहरूलाई पनि भिसा दिइयो । जब फुटबलले धेरैले जान नसक्ने वा जान नचाहने देश हाइटीलाई विश्वसामु ल्यायो, तब तपाईंहरूले आफ्नो कलम र किबोर्ड केहीबेर थन्क्याएर खेलेका टोलीप्रति सम्मान देखाउने समय आएको हुन सक्छ ।”
यस महिनाको सुरुआतमा मानवअधिकार संस्था फेयरस्क्वायरले इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)मा उजुरी दिएको थियो । उजुरीमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक समर्थन जनाएर आईओसीको राजनीतिक तटस्थतासम्बन्धी नियम पटक–पटक उल्लङ्घन गरेको आरोप लगाइएको थियो ।
तर आईओसीले उक्त उजुरी अस्वीकार गर्दै यो विषय आफ्नो ‘इथिक्स कमिसन’को अधिकारक्षेत्रभित्र नपर्ने जनाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद