नेभिगेशन
राजनीति

प्रधानमन्त्रीको सचिवालयमाथि अर्थमन्त्रीकै कटाक्ष

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको सचिवालयमा प्रधानमन्त्रीको सल्लाहकारतर्फ मन्त्री सरहको सुविधा पाउने गरी मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार, तथा राज्यमन्त्री सरहको सुविधा पाउने गरी दुई जनासहित २७ जना नियुक्त भएका छन्। उक्त नियुक्तिको विषयलाई लिएर आलोचना भइरहँदा मन्त्रिपरिषद्कै सदस्य अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भी कटाक्ष गरेका छन्। कांग्रेस सांसद सीता थपलियाले सचिवालयबारे जवाफ मागेपछि प्रधानमन्त्री कार्यालयले नै उक्त जानकारी दिएको थियो।
अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारहरूको संख्याजस्तो आफ्नोमा नभएको बताए। राज्यको ढुकुटीमाथि व्ययभार थपिने गरी अनावश्यक सल्लाहकार नियुक्त गर्ने काम आफूले नगरेको उनको प्रष्टोक्ति थियो। उनले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको सन्दर्भ उल्लेख गर्दै आफूले भने केवल एकजना मात्र सल्लाहकार नियुक्त गरेको सफाइ पेस गरे।
“तपाईंहरूले सुनिरहनुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ। तर मले केवल एकजना अवैतनिक राजस्व सल्लाहकार मात्र राखेको छु। भनेपछि यो राजस्वको विषयलाई मैले कति महत्त्व दिएको छु भन्ने कुरा यहाँहरूले बुझ्नुहोला,” अर्थमन्त्रीको भनाइ छ।
अर्थमन्त्रीको यस्तो भनाइपछि प्रधानमन्त्री कार्यालय बोलेको छैन। तर, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले भने घुमाउरो जवाफ दिएका छन्। उनले हालसम्म एक जनामात्रै सल्लाहकार नियुक्त गरेको बताएका छन्। अर्थमन्त्री वाग्लेको ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार भन्ने भनाइको जवाफमा उनले मंगलबार विवेकराज कँडेललाई पहिलो सल्लाहकार नियुक्त गरेको क्याप्सनसहित तस्बिर सार्वजनिक गरेका छन्।
“ऊर्जा परिवारमा विवेकराज कँडेललाई हार्दिक स्वागत १ आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहिलो सल्लाहकार अवैतनिक ९ऊर्जा व्यापार तथा पूर्वाधार० नियुक्त हुनु भएको छ,” मन्त्री श्रेष्ठले लेखेका छन्, “वहाँको विज्ञता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र दूरदृष्टिले नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापार विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा क्षेत्रीय ऊर्जा बजारसँगको एकीकरणलाई थप गति दिने विश्वास लिएका छौँ। नेपालको ऊर्जा क्षेत्रलाई थप सक्षम, प्रतिस्पर्धी र भविष्योन्मुख बनाउन वहाँको योगदान महत्त्वपूर्ण रहनेछ भन्ने अपेक्षा गर्दछु।”
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ। एउटै पार्टीका मन्त्रीहरूका बीचमा अप्रत्यक्ष सवाल जवाफ चलेको छ। यसले उनीहरूबीच सम्बन्ध सुमधुर छैन भन्नेहरूलाई बल मिलेको छ। प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध चिसो रहेको बताइएको छ। प्रधानमन्त्रीले अर्थमन्त्री हटाउन चाहेको चर्चाका बीच अर्थमन्त्री वाग्ले पार्टी सभापति रवि लामिछानेसँग आवासीय बैठक गर्न धुलिखेल पुगेका थिए। फर्किएपछि प्रधानमन्त्री बालेन शाहले फेसबुकबाटै बजेटमार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको अतिरिक्त कर हटाइदिएका थिए। निजी क्षेत्रसँगको भेटमा अर्थमन्त्रीलाई सहभागी नगराइएको विषय पनि चर्चामा छ।
मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्ययभार थपिने गरी मन्त्रीले सचिवस्तरका सल्लाहकारसहित नौ सदस्यीय स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको थियो। गत वैशाख पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी ९सचिवसरह० का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने मुख्य स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउनेछन्। उक्त निर्णयअनुसार १७ जना मन्त्रीले ५७ जना सल्लाहकार र १५३ जना स्वकीय सचिवालयमा नियुक्त गर्न पाउनेछन्। यसको अतिरिक्त ऐनले नै व्यवस्था गरेको निजी स्वकीयसहितको सचिवालय छ।
अर्थमन्त्रीको स्पष्टीकरण
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भने पटक–पटक प्रधानमन्त्री बालेन्द्र शाहसित आफ्नो कुनै पनि दूरी र असमझदारी नरहेको स्पष्टीकरण दिइरहेका छन्। मंगलबार पनि उनले प्रधानमन्त्रीसँग निकट समन्वय र सहकार्यमा आफूले कार्यसम्पादन गरिरहेको दाबी गरे। निजी क्षेत्रका प्रतिनिधिहरूसँग अन्तर्क्रियाका क्रममा उनले बाहिर चलेका चर्चा र अफवाहजस्तो प्रधानमन्त्रीसँग आफ्नो कटु सम्बन्ध नरहेको बताए ।
हरेक मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीच बेग्लै छलफल हुने गरेको जानकारी पनि डा। वाग्लेले दिएका छन्। प्रत्येक क्याबिनेट बैठकपछि प्रधानमन्त्रीसँग आफ्नो ३०र४० मिनेटसम्म छुट्टै छलफल हुने गरेको उनले जानकारी दिए।
कर्मचारीलाई बस्ने ठाउँ छैन, स्वकीयले भरिभराउ ?
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरूको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको आरोप लगाएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले हाल परिप्रेक्ष्यमा केही मन्त्रीहरूले पाँचदेखि सात जनासम्म तलबसहितका स्वकीय तथा दर्जनौँ तलबविहीन स्वकीय राखेको आरोप लगाए।
सरकारले मन्त्रालयको संख्या घटाएर सरकारी खर्च कटौती गर्ने उद्देश्य राखे पनि स्वकीय र सल्लाहकारको संख्या बढाएर उल्टै खर्च बढाएको बताए। मन्त्रीको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालयका कर्मचारीका लागि बस्ने ठाउँ अभाव भइरहेको गुनासो आएको उनले बताए।
“मैले अहिले सुनिरहेको छु मन्त्रीहरूले ५–७ जनासम्म तलबै दिएर स्वकीयहरू राखेको र तलब नदिएर राखेको चाहिँ अझ २०–३० जना छन् रे,” अघिल्लो सरकारमा मन्त्रीसमेत रहेका घिसिङले भने, “अब त्यो कसरी व्यवस्थापन गर्नुभएको छ, मन्त्रालयको साथीहरूसँग बुझ्दाखेरि मन्त्रालयको सहसचिव र अरू साथीहरूलाई बस्ने ठाउँ छैन। तर स्वकीय तलब दिएर र नदिएर राखिएका सल्लाहकारहरू र स्वकीयहरूले मन्त्रालयको पूरै फ्लोरहरू नै भरेको छ भन्ने मैले सुनेको छु। यो राम्रो विषय होइन। सरकारले यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्