काठमाडौं । कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको मंगलबार ७९ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट पीडित श्रेष्ठको जावलाखेलस्थित हेलियस अस्पतालमा निधन भएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि श्रद्धाञ्जलीका लागि ३ घण्टा पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । केही दिनअघि मात्र कांग्रेस सभापति गगन थापाले उनलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए । गत बिहीबार ४४औं बीपी स्मृति दिवसको कार्यक्रममा थापाले केन्द्रीय समितिबाट अनुमोदन गराएर श्रेष्ठलाई वरिष्ठ नेतामा मनोनीत गर्ने बताएका थिए । त्यसअघि उनले अस्पतालमै पुगेर श्रेष्ठसँग भेट गरेका थिए ।
सभापति थापाले कार्यक्रममा श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गर्दै पार्टीभित्रको लामो योगदानको सम्मानस्वरूप वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरिएको बताएका थिए । तर, उक्त प्रस्ताव औपचारिक रूपमा कार्यान्वयन हुन नपाउँदै श्रेष्ठको निधन भएको हो । करिब एक वर्षदेखि क्यान्सरबाट पीडित श्रेष्ठको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गरिएको थियो । करिब तीन महिनाको उपचारपछि स्वदेश फर्किए पनि स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएको थियो । पछिल्ला ९–१० दिनदेखि उनी हेलियस अस्पतालको सघन उपचार कक्षमा उपचाररत थिए ।
स्याङ्जालाई राजनीतिक आधार बनाएका श्रेष्ठ कांग्रेसका प्रभावशाली नेतामध्ये मानिन्थे । ०१६ सालमा वीपी कोइरालासँगको भेटपछि कांग्रेस राजनीतिमा सक्रिय बनेका उनले स्थानीय संगठन निर्माणबाट राजनीतिक यात्रा सुरु गर्दै उनले पार्टीभित्र क्रमशः प्रभाव विस्तार गर्दै राष्ट्रिय राजनीतिमा महŒवपूर्ण स्थान बनाएका थिए । २०४८ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा–१ बाट निर्वाचित भएका उनी संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए । सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्ने लक्ष्यका साथ भएको १२ बुँदे समझदारीको हस्ताक्षरकर्तामध्ये श्रेष्ठ पनि थिए ।
विभिन्न समयमा उनले भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण, उद्योग तथा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । देउवा नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री तथा शिक्षामन्त्री बनेका थिए । सरकारमा रहँदा शिक्षा क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा काम गरेका उनी प्रशासनिक अनुभव र संगठनात्मक क्षमताका कारण कांग्रेसभित्र नीति निर्माणमा प्रभावशाली नेताका रूपमा चिनिन्थे ।
उनी पार्टीको संसदीय दलका प्रमुख सचेतक, उपसभापति तथा कार्यवाहक सभापतिको भूमिकामा पनि रहे । पार्टी विभाजनपछि शेरबहादुर देउवाले कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा श्रेष्ठ कार्यवाहक सभापति बनेका थिए । राजाको प्रत्यक्ष शासनकालमा देउवा जेल परेका बेला उनले पार्टीको नेतृत्व सम्हालेका थिए । पछिल्लो समय भने उनी विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका थिए ।
राजनीतिक आन्दोलनका क्रममा उनले करिब साढे पाँच वर्ष जेल जीवन पनि बिताएका थिए । अर्थशास्त्रमा स्नातक श्रेष्ठको राजनीतिबाहेक व्यापार व्यवसाय पनि थियो ।
गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा पनि उनी सहभागी भएका थिए । स्वास्थ्यमा समस्या देखिए पनि पार्टी गतिविधिप्रति उनको सक्रियता अन्तिम समयसम्म कायम रहेको नेताहरूले स्मरण गरेका छन् ।
उनको निधनसँगै नेपाली कांग्रेसले लामो राजनीतिक अनुभव, संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय भूमिका खेलेका एक पुराना नेता गुमाएको छ । श्रेष्ठका तीन छोरा र छ छोरी छन् ।