नेभिगेशन
राजनीति
रास्वपा केन्द्रीय समिति बैठक

कमजोरी स्वीकारेर प्रक्रियाको अध्ययन गर्ने निर्णय

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले पार्टीका वरिष्ठ नेतामा वालेन्द्र शाहलाई सर्वसम्मत रूपमा मनोनयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा पार्टी विधानअनुसार शाहलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरिएको हो ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी सचिवालय पनि गठन गरेको छ । सचिवालयमा सभापतिसहित निर्वाचित पदाधिकारी उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य,  सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहने छन् । 
बैठकले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कमजोरी स्वीकार गरी समग्र प्रक्रियाको अध्ययन गर्ने निर्णय गरेको छ । साथै बैठक सञ्चालन, सदस्यता, सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट र विभागसम्बन्धी कार्यविधिसहितका सांगठनिक दस्तावेज पारित गरिएको छ ।
पार्टीले विभागीय नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट स्पष्ट लक्ष्य र रूपरेखासहितको ६ महिनाको कार्ययोजना माग गर्ने निर्णय पनि गरेको छ । सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन प्रत्येक महिना कम्तीमा एक दिन पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूसँग अनिवार्य छलफल गर्ने व्यवस्था गरिने भएको छ ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय युवा दिवस २०२६ लाई भव्य रूपमा मनाउने र त्यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरिएको जनाइएको छ ।
बैठकले नागरिकका गुनासा प्रत्यक्ष सुन्न हरेक तहका पार्टी कार्यालयमा नियमित जनप्रतिनिधि तथा पदाधिकारीको उपस्थिति सुनिश्चित गर्ने संयन्त्र बनाउने निर्णय गरेको छ । साथै आत्महत्या र आत्मदाहजस्ता घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा साझा नगर्न पार्टीका सबै तहका सदस्यलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्