नेभिगेशन
राजनीति

देवानगञ्जमा साम्य, अन्त स-यो अशान्ति

चार दिनपछि बल्ल बल्ल बढ्यो प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता

काठमाडौं । सुनसरीको देवानगञ्जमा गत आइतबार भएको घटनाको असर बिस्तारै मधेस प्रदेशका जिल्लामा परेको छ । बिहीबार सिरहा र जनकपुरधााम अशान्त बन्न पुगेको छ । घटनापछि नेपाली सेना नै अवस्था नियन्त्रणमा लिन देवानगञ्जमा खटिँदा त्यहाँको अवस्था साम्य भइरहँदा तुलनात्मक रुपमा सिरहा अशान्त भएको हो । देवानगञ्जको झडपमा गोली लाग्दा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने बिहीबार सिरहामा एक जनाको मृत्यु भएको छ । गोली लागेर देवानगञ्ज–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । 
मेहताको निधनपछि कप्तानगञ्जमा निरन्तर प्रदर्शन जारी रहँदा सिरहा, धनुषा, सप्तरीमा पनि प्रदर्शन शुरु भयो । मंगलबार र बुधबार फाट्टफुट्ट सुनसरी बाहिर भएको प्रदर्शन बिहीबार भने मधेसमा आठवटै जिल्लामा पुग्यो । सिरहाको गोलबजारमा १५ वर्षीय गणेश यादवको घाँटीमा गोली लागि मृत्यु भयो ।  उनको मृत्युपछि आक्रोसित बनेका स्थानीयले शव सडकमै राखेर दोषीमाथि कारबाही र न्यायको माग गर्दै प्रदर्शन गरे । उनीहरुले शव उठाउन नमानेपछि बिहीबार साँझ प्रहरीले शव उठायो । गोलबजारसहित आसपासका क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दिनभर तनावको अवस्था रह्यो । 
बिहीबार नै गत आइतबारका घाइते कप्तानगञ्जका जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा निधन भयो । 
स्थिति तनावपूर्ण बन्दै गएपछि अहिले प्रदर्शन भइरहेका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासमेत परिचालन गरिएको छ । 
धनुषा जिल्लाको सुरक्षा स्थिति संवेदनशील बनेपछि बिहीबार अनिश्चितकालीन कफ्र्यु जारी गर्दै नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सेना परिचालनका लागि लेखेको पत्र सामाजिक सञ्जालमै सार्वजनिक भएको छ । पत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा १ (क) र २ बमोजिम नेपाली सेना परिचालन गर्न विष्णुदल गणलाई अनुरोध गरिएको छ । सुरक्षा स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले सेनालाई गोली हान्ने अधिकार समेत दिएको छ । पत्रमा भनिएको छ, ‘कारबाहीको दौरान शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्नको लागि आवश्यकता अनुसार नेपाली सेनालाई न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रत्यायोजन गर्दछु ।’
आइतबार सुनसरीमा भएको घटनामा विपक्षी दलहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई सक्रियता देखाउन ध्यानाकर्षण गराएका थिए । तर, प्रधानमन्त्री वालेन्द्र शाहले अवस्था सुधार्न ठोस पहल गरेनन् । विषम् परिस्थितिमा विगतमा प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्ने गरेका थिए । तर, फेसबुकमा स्टाटस पोस्ट गर्नमात्रै सजिलो मान्ने प्रधानमन्त्री शाहले त्यो चलन पछ्याएनन् । बरु सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाए । राष्ट्रपतिसँग बुधबार बेलुका भेटेरै सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई जानकारी गराए । अनुगमनका नाममा जिल्लामा भूमिगत शैलीमा पुगिरहने गृहमन्त्री सुधन गुरुङ पनि घटनाको ३ दिनसम्म कतै देखिएनन्, सुनिएनन् । सर्वदलीय बैठकमा समेत शाह र गुरुङ नआएको विषयमा राजनीतिक दलहरुले असन्तुष्पिट जनाउँदै सरकार जिम्मेवार नदेखिएको टिप्पणी गरे । 
सरकारले बेलैमा सरकारले सम्बोधन गर्न नसक्दा ३ जना युवाको ज्यान गइसकेको छ । बिहीबार गोलबजारमा करिब १५ वर्षका यादवको मृत्युपछि भने सरकार ब्युँझियो । समयमै अग्रसरता नदेखाएको सरकारले ढिलाइ गरेकै कारण मधेस अशान्त बन्न पुगेको भन्दै विपक्षी दलहरुले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको राजीनामा समेत मागेका छन् । 
प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका शंकास्पद रहेको मधेस केन्द्रित दलहरुले संयुक्त विज्ञप्ति निकालेरै आरोप लगाएका छन् । ‘आज पाँचौ दिनसम्म मधेस जलिरहँदा पनि प्रधानमन्त्री मौन रहनु र गृहमन्त्रीको गतिविधि शंकास्पद देखिएकाले पनि घटना उग्र हुँदै गएको हाम्रो निष्कर्ष छ,’ महन्थ ठाकुर, राजेन्द्र महतो, सीके राउत, समिम अन्सारी र रामकुमार शर्माले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘सबै घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले दमनमा संलग्न भएको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीहरुलाई अनुसन्धान अवधिसम्म निलम्बन गरी सुरक्षा व्यवस्थामा भएको सम्भावित कमजोरी तथा बल प्रयोगको औचित्यमाथि निष्पक्ष छानबिन होस् ।’ 
बिहीबार प्रतिनिधिसभाको बैठकमा पनि कांग्रेस, एमाले, नेकपा, राप्रपासहितका दलले मधेसमा अहिले आगो बल्नुमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाएका थिए ।
सबैलाई समेट्न राष्ट्रपतिको आग्रह 
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल लगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कÞायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग आग्रह गरेका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शाहले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितबारे ब्रिफिङ गरेका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहसँग राष्ट्रपतिले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका थिए । ‘देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुभएको हो,’ सल्लाहकार पोखरेलले भने । 
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कÞायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए । राष्ट्रपति भेट्न लामिछाने बुधबार शीतलनिवास पुगेपछि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई बेवास्ता गरेको भन्दै बुधबार विषय उठेको थियो । बिहीबार उनी शितलनिवास पुगेर १५ मिनेट राष्ट्रपतिसँग भेट गरेका हुन् । 
प्रधानमन्त्री शाहले बिहीबार साँझ नै राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार नागरिकहरूको जिउधन सुरक्षाका लागि अझ जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूबीच १५ मिनेट कुराकानी भएको थियो ।

संयमता अपनाउन प्रधानमन्त्रीको अपिल 
प्रधानमन्त्री शाहले बिहीबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दै संयमता अपनाउन सबैलाई आग्रह गरे । ‘अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ । परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ,’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ ।’
घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउन, थप अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेको पनि उनले बताए । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको भन्दै शाहले भने, ‘म सबैमा विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’
उनले सम्बोधनका क्रममा निधन भएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको  उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको पनि जानकारी दिए । 
‘प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो ।  आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ । प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्,’ सम्बोधनका क्रममा उनले भने । शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको भन्दै उनले यस्ता गतिविधिमाथि कडा कदम चालिने चेतावनी पनि दिएका छन् । 
‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ । यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भने ।
संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन नसिकाउने भन्दै उनले भने, ‘देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन ।’

कहिले के भयो ? 
साउन १०: कप्तानगञ्जमा झडप
साउन १२:  प्रधानमन्त्री कार्यालयको विज्ञप्ति 
साउन १२: प्रधानमन्त्रीको फेसबुक स्टाटस
साउन १३: रास्वपा सभापतिको आह्वानमा सर्वदलीय बैठक 
साउन १४: सिरहा र धनुषामा झडप, सिरहामा एकको मृत्यु, गृहमन्त्री पुगे सुनसरी, सुरक्षा परिषद् बैठक, प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन, राष्ट्रपतिसँग भेट
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्