काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति गम्भीर संशय व्यक्त गर्दै जनताले दिएको अभूतपूर्व जनादेश अपेक्षाअनुसार परिणाममा रूपान्तरण हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा ३३ मिनेट लामो सम्बोधन गर्दै उनले सरकारका गतिविधिले सुशासन, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय एकतामाथि प्रश्न उठाएको दाबी गरे ।
सम्बोधनको सुरुमै उनले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे । ‘सुरक्षा निकायको भूमिका के कस्तो रह्यो ? के त्यहाँ त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो या थिएन? ... विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्न चाहन्छु,’ उनले भने । घटनालाई साम्प्रदायिक विद्वेषमा रूपान्तरण हुन नदिन सबै पक्ष संयमित हुनुपर्ने उनको आग्रह थियो ।
प्रचण्डले अहिलेको राजनीतिक परिस्थिति सहज नरहेको उल्लेख गर्दै निर्वाचनपछि जनतामा जागेको आशा कमजोर बन्दै गएको बताए । ‘सरकारका क्रियाकलापले जनताको त्यो अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन, बरु दिनप्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइनजिकको जनादेश पाए पनि त्यसअनुसार सुशासन र विकासको अनुभूति दिलाउन नसकेको उनको टिप्पणी थियो । ‘अहिले जनताको अपेक्षा अनुसार काम नभएको भन्ने कुरा जताततै सुन्न थालिएको छ,’ भन्दै उनले सुकुम्बासी, ट्रेड युनियन, विद्यार्थी, सीमाना, लगानी, रोजगारी, राजस्व र कर प्रणालीजस्ता विषयमा सरकारका निर्णयले सकारात्मक सन्देश दिन नसकेको दाबी गरे ।
सरकारको कार्यशैलीले संविधान र लोकतन्त्रको भविष्यबारे समेत आशंका जन्माएको उनको भनाइ थियो । ‘कतै यो संविधान पुनर्लेखनै गर्न खोजिएको त होइन, या संविधानलाई कुनै न कुनै रूपमा अझ पछि कमजोर पार्ने उद्देश्यद्वारा अगाडि बढेको त होइन भन्ने प्रश्न आम जनतामा देखा पर्दै गएको छ,’ उनले भने । लोकतन्त्रका सन्दर्भमा पनि ‘कतै निरंकुशतातिर जाने त होइन भन्ने चिन्ता’ व्यक्त भएको उनको भनाइ थियो ।
प्रचण्डले प्रधानमन्त्री शाहको नेतृत्वशैलीप्रति पनि प्रत्यक्ष प्रश्न उठाए । राजनीतिक अनुभव भएका नेताहरू, विज्ञ र बुद्धिजीवीसँग संवाद नगरेको भन्दै उनले भने, ‘उहाँले मलाई बोलाएर एकचोटि ‘तपाईंले पनि भ्रष्टाचारका विरुद्ध लड्छु भनेर सुरु त गर्नुभा’थ्यो, केले तपाईंलाई सफल हुन दिएन’ भनेर सोधे पनि त हुन्थ्यो । केले रोक्या उहाँलाई ? आफ्नै अहंकारले रोक्या हो कि ? ‘म पर्याप्त छु, अब मलाई कोही चाहिँदैन’ भन्ने खालको हो कि? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो ।’
प्रधानमन्त्रीले प्रतिपक्षसँग संवाद नगरेर राजनीतिक सहकार्यको संस्कृति कमजोर बनाएको उनको आरोप थियो । ‘तपाईंहरू जति संवादबाट टाढा जानुहुन्छ, जति प्रतिपक्षहरूलाई अवमूल्यन या अपमानित गर्ने गर्नुहुन्छ, त्यति राष्ट्र पनि, जनता पनि र तपाईंहरू पनि अप्ठ्यारोमा पर्छौं,’ उनले चेतावनी दिए ।
सर्वदलीय बैठकको प्रसंग उठाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठक बोलाएको कदमलाई सकारात्मक भने पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई चिन्ताको विषय भएको बताए । संवेदनशील परिस्थितिमा सरकार प्रमुखले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।
‘म यो कुरा पनि यो रोस्टमबाट खासगरी प्रधानमन्त्री बालेन शाहज्युलाई भन्न चाहन्छु – नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पंक्ति छ । ठुल्ठुला अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत, क्षमता राख्ने नेताहरूको पंक्ति छ । सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पंक्ति पनि छ । लोकतन्त्रको निम्ति झन्डै ७० वर्ष देखि जेल, नेल, यातना थुप्रै थुप्रै भोगेका नेताहरूको पंक्ति पनि छ । उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्या होला मलाई अनौठो लाग्छ,’ उनले भने ।
सरकारको नीति तथा बजेटमाथि पनि उनले कडा टिप्पणी गरे । नीति कार्यक्रम एउटा निश्चित उपल्लो वर्गको हितमा मात्रै केन्द्रित देखिएको दाबी गर्दै उनले श्रमजीवी, किसान र गरिब वर्ग उपेक्षित भएको आरोप लगाए । यही प्रवृत्तिले सामाजिक असन्तुलन बढ्न सक्ने उनको चेतावनी थियो ।
भूराजनीतिक परिस्थितिलाई उल्लेख गर्दै उनले नेपालमाथि बाह्य शक्तिको प्रभाव बढ्ने जोखिम रहेको बताए । राष्ट्रिय स्वाधीनता जोगाउने सबैभन्दा बलियो आधार राजनीतिक दलहरूबीचको सहकार्य र जनताको एकता भएको उनको भनाइ थियो । ‘राष्ट्रको स्वाधीनतालाई, यसको भौगोलिक अखण्डतालाई बचाउन सकिन्छ,’ भन्दै उनले राष्ट्रिय मुद्दामा साझा दृष्टिकोण बनाउन आग्रह गरे ।
देशमा बढिरहेका हत्या, हिंसा, बलात्कार, आत्महत्या र आत्मदाहका घटनाप्रति पनि उनले चिन्ता व्यक्त गरे । यस्ता घटनालाई प्रोत्साहन गर्ने गरी प्रचार गर्न नहुने भन्दै उनले सरकारले यसको मूल कारण पहिचान गरेर समाधान खोज्नुपर्ने बताए ।
प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै उनले संसदमा उठेका प्रश्नको जवाफ दिन आग्रह गरे । ‘प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ यो सदनमा उभिएर, यो एउटा लोकतान्त्रिक परम्परा हो,’ उनले भने, ‘संसद्मा आएर जवाफ दिँदा प्रधानमन्त्रीको कद घट्ने होइन, बरु तपाईंको कद अझ माथि जान सक्छ ।’
सम्बोधनको अन्त्यमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा अहिले विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै सरकार सफल वा असफल हुनु केवल सत्ताको विषय नभई राष्ट्रको भविष्यसँग जोडिएको बताए । ‘यो सरकारलाई असफल हुने छुट पनि छैन । तपाईंहरू असफल हुनुभयो भने तपाईंहरू मात्रै असफल नहुने, नेपाल राष्ट्र नै असफल हुने खतरा छ,’ उनले चेतावनी दिए ।
राष्ट्रिय एकता, संवाद, सहकार्य र लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन सबै राजनीतिक दललाई आह्वान गर्दै उनले स्वाधीनता, सुशासन र समृद्धिका लागि साझा प्रयास आवश्यक रहेको भनाइ राखे ।