नेभिगेशन
मनोरञ्जन

लाखौं प्रशंसकले उचालेको अश्लील प्रेमकथा

टिकटकमा केहीबेर स्क्रोल गरिरहँदा काल्पनिक प्रेमसम्बन्धमा आधारित छोटा भिडियोहरू भेटिनु अब असामान्य कुरा रहेन । प्रशंसकहरूले अत्यन्त मिहिनेत गरेर तयार पारेका सम्पादित दृश्य, पात्रहरूको भविष्य कल्पना गर्दै बनाइएका कथानक, कृत्रिम बुद्धिमत्ता (एआई)को सहायताले सिर्जना गरिएका पोस्टर, र ती पात्रहरू वास्तविक नै हुन् झैं बहस गर्ने लाखौं टिप्पणीहरू अहिले सामाजिक सञ्जालमा सामान्य दृश्य बनेका छन् ।
यही असाधारण प्रशंसक संस्कृतिले विशेषगरी युवा पुस्तालाई लक्षित प्रेमकथामा आधारित उपन्यासलाई स्ट्रिमिङ प्लेटफर्महरूका लागि सबैभन्दा सुरक्षित र सफल लगानीमध्ये एक बनाइदिएको छ ।
टिकटकमा ह्यासट्याग बूकटकअन्तर्गत करिब आठ करोड पोस्ट र ह्यासट्याग रोमान्सबूक्स अन्तर्गत ६५ लाखभन्दा बढी पोस्ट भइसकेका छन् । त्यसैले अहिले स्ट्रिमिङ कम्पनीहरूले कुनै उपन्यासको एउटा दृश्य पनि छायांकन हुनुअघि नै सामाजिक सञ्जालमा ठूलो पाठक समुदाय बनाइसकेका चर्चित कृतिहरूमा लगानी गर्न थालेका छन् ।
यसै तीव्र रूपमा फैलिरहेको विधामा पछिल्लो थपिएको नाम हो, ‘योर फल्टः लन्डन’ ।
स्पेनी लेखिका मर्सिडिज रोजका सर्वाधिक बिक्री भएका उपन्यासहरूमा आधारित यस चलचित्रमा आशा ब्यान्क्स र म्याथ्यु ब्रुमले मुख्य भूमिका निभाएका छन् । उनीहरूका अनुसार चलचित्र प्रदर्शन हुनुअघि नै बनेको विशाल प्रशंसक समुदायको उत्साहले उनीहरूलाई पनि अचम्मित बनाएको छ ।
‘यी चलचित्रहरू यति सफल हुनुको मुख्य कारण नै प्रशंसक हुन्,’ ब्यान्क्सले बीबीसीसँग भनिन्, ‘यसको चर्चा र प्रभाव सामाजिक सञ्जालमै सबैभन्दा धेरै देखिन्छ ।’
यो सफलताको कथा हलिउडबाट सुरु भएको होइन । यसको सुरुवात अनलाइन लेखन प्लेटफर्म ‘वाटप्याड’बाट भएको थियो, जहाँ अर्जेन्टिनामा जन्मिएकी स्पेनी लेखिका मर्सिडिज रोनले पहिलो पटक ‘कुल्पाब्लेस’ ट्रियोलजी प्रकाशित गरेकी थिइन् ।
‘कुल्पा मिया’, ‘कुल्पा तुया’ र ‘कुल्पा नुएस्त्रा’ नामका ती तीनै उपन्यास उनले २० वर्षको उमेर नपुग्दै लेखेकी थिइन् । वाटप्याडमा प्रकाशित भएपछि ती कृतिहरू बेस्टसेलर बने र किशोर–किशोरीमाझ अत्यन्त लोकप्रिय भए ।
पछि तिनै कृतिलाई स्पेनी भाषामा ‘योर फल्ट’ शीर्षकअन्तर्गत चलचित्र शृंखलाका रूपमा रूपान्तरण गरियो । यसले उल्लेखनीय सफलता हासिल गरेको छ ।
अंग्रेजी संस्करण ‘योर फल्टः लन्डन’मा नोहा नामकी युवतीको कथा प्रस्तुत गरिएको छ । उनकी आमाले एक धनी व्यवसायीसँग विवाह गरेपछि उनी लन्डन सर्छिन् । त्यहाँ उनी आफ्ना सौतेनी दाजु निकप्रति आकर्षित हुन्छिन् । परिवारभित्रका तनाव, लुकाइएका रहस्य र दुवैका आवेगपूर्ण निर्णयहरूले उनीहरूको सम्बन्धलाई निरन्तर परीक्षा लिइरहन्छन् ।
अमेजन एमजीएम स्टुडियोजका बेलायत तथा अन्तर्राष्ट्रिय मौलिक सामग्री विभागकी प्रमुख निकोल क्लेमेन्सका अनुसार ‘कुल्पाब्लेस’ चलचित्र शृंखलाले विश्वभर गरेर करिब १० करोड दर्शक कमाएको छ ।
अमेजनले फेब्रुअरीमा सार्वजनिक गरेको विवरणअनुसार यी चलचित्र प्रदर्शनसँगै १७० भन्दा बढी देशमा पहिलो स्थानमा पुगेका थिए । कुल दर्शकमध्ये ९० प्रतिशतभन्दा बढी स्पेनबाहिरका थिए ।
‘योर फल्टः लन्डन’ सन् २०२५ मा आएको ‘माइ फल्टः लन्डन’को निरन्तरता हो । यसपछि ‘आवर फल्टः लन्डन’ पनि प्रदर्शन गरिनेछ ।
ट्रियोलजीको दोस्रो चलचित्रमा नोहाले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गर्छिन् भने निक आफ्नो व्यावसायिक जीवनमा अघि बढ्न थाल्छ । नयाँ सम्बन्ध र पुराना विवादहरूले उनीहरूलाई अझ टाढा पु¥याउने खतरा पैदा गर्छन् ।
ब्यान्क्सका अनुसार दर्शकले यस चलचित्रमा ‘प्रशस्त नाटकीय मोड’ देख्नेछन् । ब्रुम भने कथा अगाडि बढ्दै जाँदा दर्शक कहिले नोहाको पक्षमा त कहिले निकको पक्षमा उभिने विश्वास व्यक्त गर्छन् ।
‘एउटा पात्रको कुरा सही लागिरहेको हुन्छ, तर केहीबेरमै अर्को पात्र नै ठीक रहेछ भन्ने महसुस हुन्छ,’ उनी भन्छन् ।
अंग्रेजी संस्करणमा कलाकारहरू नयाँ छन् भने कथा लन्डनको परिवेशमा अघि बढ्छ ।
२२ वर्षीया ब्यान्क्स भन्छिन्, ‘यति छोटो समयमा अंग्रेजी संस्करण पनि बनाइँदैछ भन्ने सुन्दा मलाई रोचक लाग्यो । तर अन्ततः मानिसहरूले यो कथालाई मन पराएका छन्, त्यससँग आफूलाई जोड्न सकेका छन् । त्यसैले नयाँ भाषामा बनाइनु स्वाभाविक नै हो ।’
उनका अनुसार यो कथा मनोरञ्जनपूर्ण, आकर्षक र लत लाग्ने खालको छ, जसलाई नयाँ दर्शकमाझ पु¥याउन पाउनु खुसीको विषय हो ।
२५ वर्षीय ब्रुम पनि सहमत छन् । उनका अनुसार यति छिटो अंग्रेजी संस्करण बन्नुले लेखिका मर्सिडिज रोन र उनका पुस्तकहरूको प्रभाव कति ठूलो छ भन्ने प्रमाणित गर्छ ।
‘मानिसहरूले अवश्य हेर्नेछन्’
यी दुई कलाकारका लागि सबैभन्दा अनौठो अनुभव भनेको लाखौं पाठक र दर्शकले पहिल्यै अपनाइसकेको कथामा आफूहरू नयाँ रूपमा प्रवेश गर्नु थियो ।
ब्रुम भन्छन्, ‘बुकटोकमा चर्चित पुस्तकहरूका प्रशंसकहरू असाध्यै समर्पित हुन्छन् । त्यसैले मानिसहरूले पक्कै हेर्नेछन् भन्ने थाहा हुँदाहुँदै काम गर्नु निकै रोमाञ्चक अनुभव हो । उनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्, त्यो भने पछि मात्रै थाहा हुन्छ ।’
यद्यपि सबै समीक्षकहरू प्रभावित भएका छैनन् ।
केही समीक्षकहरूले ‘योर फल्टः लन्डन’लाई घिसेपिटे कथावस्तुमा आधारित, अनावश्यक र प्रशंसकले लेखेको कथाजस्तै चलचित्रको संज्ञा दिएका छन् । ‘भेराइटी’ पत्रिकाले ट्रियोलजीको पहिलो चलचित्रलाई ‘सस्तो लोकप्रियताको माध्यम’ र ‘कमजोर किशोर साहित्यको स्वादहीन रूपान्तरण’ भनेको थियो ।
त्यस्तै ‘द गार्डियन’ पत्रिकाले स्पेनी संस्करणलाई ‘अनौठो र कृत्रिम सौतेनी दाजु–बहिनीबीचको प्रेमकथा’ भनेर टिप्पणी गरेको थियो । तर पुस्तक र स्पेनी संस्करणका प्रशंसकहरूले भने यसलाई खुलेर समर्थन गरेका छन् ।
बुकटोक सामग्री निर्माता २२ वर्षीया टिया सन्डर्सका अनुसार यी चलचित्र ‘उत्कृष्ट र सफल रूपान्तरण’ हुन् । उनले भनिन्, ‘मलाई निषेधित प्रेमको पक्ष निकै मन पर्छ । कलाकारहरूको छनोट पनि उत्कृष्ट छ ।’
ब्रुम र ब्यान्क्स दुवै प्रशंसकप्रति आभारी छन् । तर कहिलेकाहीँ सामाजिक सञ्जालबाट आउने अत्यधिक ध्यान भने उनीहरूलाई भारी पनि लाग्ने गरेको छ ।
ब्रुम भन्छन्, ‘कहिलेकाहीँ हाम्रो भविष्यको कथा कल्पना गरेर एआईबाट बनाइएका पोस्टरहरू देख्छु । सुरुमा त आधिकारिक पोस्टर सार्वजनिक भएछ भन्ने लाग्छ, पछि थाहा हुन्छ त्यो त कुनै प्रशंसकले बनाएको रहेछ ।’
यस्तो अवस्थासँग जुध्न उनीहरू एकअर्काको साथलाई महŒवपूर्ण ठान्छन् ।
‘जब हामीलाई धेरै दबाब महसुस हुन्छ, हामी एकअर्कासँग कुरा गर्छौं,’ ब्रुम भन्छन् ।
उनका अनुसार यो सम्पूर्ण उत्साह मुख्यतः अनलाइनमै सीमित भएकाले ‘मोबाइल केहीबेर राखिदिने हो भने त्यसबाट टाढा हुन सकिन्छ ।’
यी दुवैले अभिनय सुरु गर्नुअघि स्पेनी संस्करण हेरेका थिएनन् । उनीहरू आफ्नै ढंगले पात्रहरू निर्माण गर्न चाहन्थे । छायांकन सकिएपछि मात्र उनीहरूले मूल चलचित्र सँगै हेरे ।
ब्यान्क्स भन्छिन्, ‘त्यो निकै रमाइलो अनुभव थियो । हाम्रो काम सकिइसकेको थियो, त्यसैले तुलना गर्ने आवश्यकता नै परेन ।’
ब्रुमका अनुसार ब्रिटिश संस्करणको विशेषता पात्रहरूबीचको फरक सम्बन्ध र अभिनय शैली हो । ब्यान्क्सले भने लन्डनको परिवेशले कथालाई पूर्ण रूपमा नयाँ पहिचान दिएको बताइन् ।

‘विषाक्त सम्बन्धलाई रोमान्टिक बनाउनु सजिलो’

यस चलचित्र शृंखलामाथि एउटा प्रमुख आलोचना पनि हुँदै आएको छ । धेरैले नोहा र निकको सम्बन्धमा देखिने डाह, गोपनीयता र निरन्तर द्वन्द्वले विषाक्त सम्बन्धलाई आकर्षक रूपमा प्रस्तुत गरेको आरोप लगाएका छन् ।

तर ब्रुम त्यससँग सहमत छैनन् ।

उनका अनुसार चलचित्रले त्यस्ता व्यवहारका नतिजा स्पष्ट रूपमा देखाउँछ ।

‘नोहा र निकको सम्बन्धमा ती सबै कुरा बिग्रँदै गएको देखिन्छ । त्यसपछि त्यसलाई समाधान गर्न स्वस्थ संवाद र आपसी समझदारी आवश्यक हुन्छ भन्ने पनि दर्शकले देख्छन्,’ उनले भने ।

ब्यान्क्सका अनुसार उनीहरूले कुनै आदर्श प्रेम सम्बन्ध प्रस्तुत गर्न खोजेका होइनन् । बरु आफूलाई बुझ्ने प्रयास गरिरहेका दुई युवाको यात्रालाई यथार्थ रूपमा देखाउने प्रयास गरिएको हो ।

‘विषाक्त सम्बन्धलाई रोमान्टिक देखाउन सजिलो हुन्छ । उनीहरूको सम्बन्धमा त्यस्ता धेरै पक्ष छन् । तर दर्शकले उनीहरूलाई ती कमजोरीहरूसँग जुध्दै, सिक्दै र परिपक्व बन्दै गएको यात्रा पनि सँगसँगै देखिरहेका हुन्छन्,’ उनले भनिन् ।

बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्