नेभिगेशन
अर्थतन्त्र

३३/११ केभी पनसेरा सबस्टेसन सञ्चालन

काठमाडौं । सप्तरी खड्क नगरपालिकामा निर्माण भएको ३३÷११ केभी पनसेरा सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय क्षेत्रको विद्युत् वितरण प्रणाली सुधारका लागि निर्माण गरेको  यो सबस्टेसनमा लोड दिएर चार्ज गरेको हो । प्राधिकरणका अनुसार सबस्टेसनमा जडित पावर ट्रान्सफर्मरको क्षमता ६÷८ एमभीए  छ । सबस्टेसन सञ्चालनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने प्राधिकरणले जनाएको छ । 
करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो सबस्टेसन आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी वितरण लाइन समेत निर्माण गरिएको छ । नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै खड्क नगरपालिका तथा सुरुंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुरलगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नयाँ सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या उल्लेखनीय रूपमा घटेको । यसले भोल्टेज प्रोफाइल सुधार गर्नुका साथै उपभोक्तालाई थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने छ ।
सबस्टेसनको सञ्चालनले मधेस प्रदेशमा विद्युत सेवाको गुणस्तर सुधारतर्फ महत्त्वपूर्ण उपलब्धि भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताए । उनले विद्युत उत्पादन वृद्धि मात्र सरकारको उद्देश्य नभई उत्पादन भएको विद्युत् प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय र भरपर्दो रूपमा पु¥याउने सरकारको प्राथमिकता रहेको बताए । मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासालाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता निरन्तर रहने स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्