नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

प्रधानमन्त्रीको भारत भ्रमणको सन्देश

प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण सकेर नेपाल फर्किए  । भ्रमणले एउटा सकारात्मक सन्देश दिएको छ– नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक संवादको ढोका खुला छ र दुवै देश विकास साझेदारीलाई अगाडि बढाउन इच्छुक छन् । यो सन्देशले नेपालभित्र निकै सकारात्मक माहोल बनाएको छ । यो सकारात्मक माहोललाई प्रधानमन्त्री बालेन्द्रको टोलीले भारत यात्रालाई सफल घोषणा गरिसकेको छ ।
हुन पनि, प्रोटोकलका दृष्टिले भ्रमण सम्मानजनक रह्यो । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँगको भेट, प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्ता, राष्ट्रपति भवनमा आयोजित औपचारिक स्वागत र सैनिक सम्मानले नेपालका प्रधानमन्त्रीलाई भारतले दिएको राजनीतिक महŒव झल्काउँछन् । कूटनीतिक सत्कारको वास्तविक अर्थ समग्र कार्यक्रम र उच्चस्तरीय भेटघाटको परिणाम कस्तो रह्यो भन्नेमा निहीत हुन्छ ।
भ्रमणका क्रममा विकास तथा आर्थिक सहकार्यका क्षेत्रमा केही महŒवपूर्ण सहमति भएका छन् । भारतले नेपाललाई दिने १५ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहयोगदेखि तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास, पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंग्याउने प्रतिबद्धता, प्रसारण लाइन विस्तार, पारवहन सुविधा र विभिन्न क्षेत्रमा भएका समझदारीले दुई देशबीचको सहकार्यलाई नयाँ आधार दिन सक्छन् । भैरहवाको हवाई प्रवेश मार्गलाई दुईतर्फी बनाउने सहमति पनि सकारात्मक छ ।
नेपालका लागि यी उपलब्धि महŒवपूर्ण छन् । तर सम्झौता हुनु र त्यसको प्रतिफल प्राप्त हुनु फरक कुरा हो । पञ्चेश्वर परियोजनाको उदाहरण हाम्रासामु छ । सन् १९९६ मा महाकाली सन्धि भएयता तीन दशक पुग्न लाग्दा पनि आयोजना कार्यान्वयनको चरणमा पुग्न सकेको छैन । त्यसैले पुनः प्रतिबद्धता व्यक्त हुनुलाई उपलब्धि मान्न त सकिदैन नै अब साराका सारा ध्यान आयोजना निर्माण र त्यसबाट प्राप्त हुने लाभतर्फ आकर्षित भएको छ । भारतले दिने विकास सहयोगको उपयोग पनि नेपालको उत्पादन, रोजगारी र आर्थिक आत्मनिर्भरता बढाउने क्षेत्रमा हुनुपर्छ ।
यद्यपि भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका केही महŒवपूर्ण विषय अझै अधुरा छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवादको समाधानका लागि ठोस प्रगति हुन सकेन । त्यसो त, यो उकुच पल्टिएको विवाद भएकाले अहिले नै छू मन्तर गरेर यसको निराकरण सम्भव छैन पनि । महेन्द्रनगरबाट थप हवाई प्रवेश मार्ग प्राप्त गर्ने नेपालको माग पूरा भएको छैन । व्यापार असन्तुलन, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच र गैरभन्सार अवरोधका विषयमा पनि अपेक्षित परिणाम देखिएको छैन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको भविष्य भारतले कत्तिको महŒव दिएको छ भन्ने उदाहरण पनि बन्न पुगेको छ ।
यसले विकास कूटनीति र राष्ट्रिय स्वार्थबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखाएको छ । विकासको नाममा सीमा र सार्वभौमिकताका प्रश्न ओझेलमा पार्नु हुँदैन । त्यस्तै, राष्ट्रियताको नाममा छिमेकीसँगको आर्थिक सहकार्य र सम्भावनालाई प्रधानमन्त्रीले अस्वीकार गर्ने ठाउँ थिएन । तर भविष्यमा यो भ्रमणले नेपालले भारतसँग यही आधारमा सम्बन्ध अघि बढाउनुपर्छ ।
भारत नेपालको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदारमध्ये एक हो । कतिसम्म भने भारतले नेपालबाट जुन विप्रेषण लैजाने गरेको छ, त्यो संसारबाट बटुल्ने विप्रेषणको निकै महत्त्वपूर्ण अंक हुने गरेको छ । यो कुरालाई धेरैले उति ध्यान दिएको देखिएको छैन । जहिले पनि नेपालले लिएको मात्र कुरा गरिरहँदा नेपालले भारतलाई दिएको रोजगारी, उसको बेरोजगारी कम गर्न खेलेको भूमिका र हरेक वर्ष बढ्दो विप्रेषणलाई कम आँक्न मिल्दैन । खुला सीमा, सामाजिक तथा सांस्कृतिक सम्बन्ध, पारवहन र जलस्रोतले दुई देशलाई गहिरोसँग जोडेको छ । त्यसैले भारतसँगको सम्बन्धमा न अनावश्यक टकराव उचित हुन्छ, न निर्भरतालाई स्वाभाविक ठान्नु । नेपालले आफ्नो जलविद्युत् उत्पादन क्षमता, पर्यटन, कृषि, प्रविधि र भौगोलिक अवस्थिति उपयोग गरेर भारतसँग पारस्परिक लाभको साझेदारी खोज्नुपर्छ । सहयोग माग्ने मात्र होइन, नेपालले दिन सक्ने योगदान पनि स्पष्ट रूपमा प्रस्तुत गरेको पाइएको छैन ।
यसका लागि भ्रमणअघि पर्याप्त गृहकार्य र स्पष्ट राष्ट्रिय एजेन्डा आवश्यक हुन्छ । यस्तो गृहकार्यमा नेपाल आफैँ कमजोर भएको छ, यस्ता कुरालाई सुधार्न अति आवश्यक छ । कुन आयोजना कहिले सम्पन्न गर्ने, कुन सहमति कसले कार्यान्वयन गर्ने र त्यसको अनुगमन कसरी गर्ने भन्ने विषयमा सरकारले स्पष्ट योजना बनाउनुपर्छ । भारतसँग भएका पुराना सम्झौताको कार्यान्वयन अवस्था समीक्षा गर्नुपर्छ । नयाँ सहमति थप्नेभन्दा पुराना प्रतिबद्धता पूरा गराउने विषयलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ ।
यो भ्रमणले नेपालको दीर्घकालीन राष्ट्रिय हितका अधुरा मुद्दा समाधान गर्न बाँकी नै छ । भ्रमणको वास्तविक सफलता अब त्यसका प्रतिबद्धता कार्यान्वयनमा देखिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्