नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

अस्थिर राजनीतिमा मुख्यमन्त्रीको अग्निपरीक्षा

मधेस प्रदेशको राजनीति फेरि एकपटक चर्चाको विषय बनेको छ । प्रदेशसभाको दोस्रो कार्यकालमा छैटौँ मुख्यमन्त्रीका रूपमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव पुनः सत्ता सम्हाल्न आइपुगेका छन् । संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका यादव मधेस प्रदेशमा दुईपटक मुख्यमन्त्री बन्ने एकमात्र प्रदेशसभा सदस्यसमेत बनेका छन् । 
तर, सत्ताको यो ‘दोस्रो इनिङ’ उनका लागि अवसरभन्दा बढी अग्निपरीक्षाका रूपमा रहेको छ । मधेस सरकार फेरबदलको शृंखला कति अस्थिर छ भन्ने तथ्य विगतका राजनीतिक घटनाक्रमले स्पष्ट पारेको छ । २०७९ पुस २९ मा मुख्यमन्त्री बनेका यादवले आफ्नो पहिलो कार्यकालमा चार पटक विश्वासको मत लिए पनि पाँचौँ पटक असफल हुँदा पदमुक्त हुनुपरेको तीतो यथार्थ ताजै छ । त्यसयताको छोटो अवधिमै प्रदेशमा चार जना मुख्यमन्त्री फेरिनुले प्रदेशसभाको अस्थिर राजनीतिक दाउपेचलाई स्पष्ट पारेको छ । 
पछिल्लो पटक कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार एमाले र नेकपाको समर्थन फिर्तासँगै ढलेपछि र उपधारा (२) अनुसार बहुमतको सरकार बन्न नसकेपछि प्रदेश प्रमुखले ठूलो दलको नेताका रूपमा सरोजकुमार यादवलाई अवसर दिएका हुन् । 
बारम्बारको सत्ता समीकरण परिवर्तनले मधेस प्रदेशको विकास निर्माण र प्रशासनिक संयन्त्रलाई नराम्ररी थला पारेको छ । आफ्नै दलसँग स्पष्ट बहुमत नभएको अवस्थामा मुख्यमन्त्री यादवले सबै दललाई समेटेर सहमतिको सरकार बनाउने जुन घोषणा गरेका छन्, त्यो वर्तमान परिस्थितिको बाध्यता र माग दुवै हो । प्रदेश सभाको कार्यकाल अब एक वर्षमात्र रहेकोे सन्दर्भमा सत्ताको लुछाचुँडीमै समय बिताउनु मधेसका आमजनतामाथि ठूलो धोकाधडी हुनेछ । त्यसैले सम्पूर्ण दलले सहमतिमा आएर सरकार सञ्चालनमा सहयोग गर्नु जरुरी छ । 
विगतमा मधेस प्रदेशको नामकरण र जनकपुरधामलाई राजधानी घोषणा गराउन निर्णायक भूमिका खेलेका अनुभवी नेता यादवले अब दलीय स्वार्थभन्दा माथि उठेर सबै दललाई विश्वासमा लिन आवश्यक छ । यद्यपि पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री यादवले मधेसका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेर सकारात्मक सन्देश दिन खोजेका छन् । गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता गम्भीर चुनौती झेलिरहेको मधेसमा सीप विकास, महिला स्वरोजगार, वैदेशिक रोजगारीबाट फर्किएकाको व्यवस्थापन तथा युवालाई एआई र विद्युतीय व्यापारजस्ता आधुनिक प्रविधिमा जोड्ने योजना स्वागतयोग्य र  प्रशंसनीय नै छ । एक महिनाभित्रै कार्यक्रम सुरु गर्ने मुख्यमन्त्री यादवको प्रतिबद्धताले जनतामा केही आशा पक्कै जगाएको छ ।
नेपालको राजनीतिमा राम्रा निर्णय र घोषणा प्रशस्तै हुने गरेका छन् तर समस्या कार्यान्वयनको हो । अस्थिर गठबन्धनको जगमा उभिएको सरकारलाई टिकाउँदै महŒवाकांक्षी योजनालाई मूर्त रूप दिनु यादवका लागि चुनौतीपूर्ण हुनेछ । यसका साथै विश्वासको मत प्राप्त गर्नेदेखि लिएर बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्मका बगे्रल्ती चुनौती उनका सामुन्ने छन् ।
साथै नीति र निर्णय जतिसुकै आकर्षक भए पनि ती कागजमै थन्किने पुरानो रोगबाट मधेस अछुतो छैन । अस्थिर जगमा उभिएको सरकारलाई जोगाउँदै यी कार्यक्रमलाई जनताको घरदैलोसम्म पु¥याउनु मुख्यमन्त्री यादवका लागि मुख्य चुनौती हो । साथै विश्वासको मत जुटाउनेदेखि सुशासन कायम गर्नेसम्मका कठिन खुड्किलाहरू उनका सामु छन् ।
यादवका लागि यो कार्यकाल आफ्नो विगतका कमजोरी सच्याउँदै मधेसको समृद्धिको आधारशिला खडा गर्ने सुनौलो मौका पनि हो । प्रदेशका अन्य राजनीतिक दलहरूले पनि अब सरकार गिराउने खेल बन्द गरी साझा सहमतिको यात्रालाई सघाउनुपर्छ । 
विगत लामो समयदेखिको राजनीतिक अनुभवले खारिएका मुख्यमन्त्री यादवका लागि यो कार्यकाल आफ्नो राजनीतिक छवि जोगाउने र मधेसको मुहार फेर्ने अन्तिम अवसर हुन सक्छ । दलहरूले पनि सत्ताको अंकगणितभन्दा प्रदेशको समृद्धिलाई केन्द्रमा राखेर मुख्यमन्त्री यादवको सहमतिको सरकारको अवधारणालाई सहयोग गर्नुपर्दछ । मुख्यमन्त्री यादवका वाचाहरू भाषणमा मात्र सीमित नहोऊन्, मधेसले अब साँच्चै स्थिरता र विकासको बाटो तय गरोस् । यसमै मधेस र मधेसी जनताको हित हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण