२३ वर्षको उमेरमै माइक साउटर बेलायतको किशोरकिशोरीमाझ लोकप्रिय पप संगीतसम्बन्धी पत्रिका ‘स्म्यास हिट्स’का सम्पादक नियुक्त भए । विद्यालय छाडेर पत्रकारिता सुरु गरेको जम्मा छ वर्षमै यति कम उमेरमा यस्तो महŒवपूर्ण जिम्मेवारी पाउनु उनका लागि असाधारण अवसर थियो ।
साउटर अन्य पत्रिकाका सम्पादकहरूभन्दा निकै कान्छा थिए । वास्तवमा, उनी आफ्नै सम्पादकीय टोलीका अधिकांश सदस्यभन्दा पनि कम उमेरका थिए । आफूलाई बलियो र निर्णय लिन सक्ने नेतृत्वकर्ताका रूपमा स्थापित गर्नुपर्ने दबाब महसुस गर्दै उनले हलिउड चलचित्रमा देखेका शक्तिशाली र अधिकारसम्पन्न पात्रहरूको नेतृत्वशैली पछ्याउन थाले ।
तर उनको नेतृत्वशैली प्रभावकारी हुन सकेन । केही सातापछि संस्थाका प्रमुख कार्यकारी अधिकृत सर रोबिन मिलर उनलाई भेट्न आए । मिलरले साउटरलाई एउटा यस्तो सल्लाह दिए, जुन उनले आजसम्म बिर्सेका छैनन् । मिलरले भनेका थिए, ‘कार्यालयमा मेरो दिन त्यतिबेला सबैभन्दा राम्रो हुन्छ, जतिबेला मैले जितेका भन्दा हारेका बहस धेरै हुन्छन् ।’
सुरुमा यो कुरा अलि उल्टो लाग्न सक्छ । सधैँ आफू गलत साबित भइरहने हो भने आफ्नो नेतृत्व क्षमता र अधिकार कसरी स्थापित गर्न सकिन्छ ? तर यही विचार पछि साउटरको नेतृत्व दर्शनको मुख्य आधार बन्यो । यसले उनलाई सञ्चारजगत्को सर्वोच्च स्थानसम्म पुग्न मद्दत ग¥यो ।
साउटरका अनुसार असल नेतृत्वकर्ताको सबैभन्दा महŒवपूर्ण गुणमध्ये एक हो— आफ्नो विचारसँग असहमत हुनेहरूलाई प्रोत्साहन गर्नु । असहमति यति मूल्यवान् हुँदाहुँदै पनि हामी किन एकअर्काको विचारलाई चुनौती दिन हिचकिचाउँछौँ ?
हामीमध्ये धेरैलाई सामान्यतया सजिलो जीवन मन पर्छ । आफ्नो काममा लागिरहने, अनावश्यक विवादबाट टाढा बस्ने र अरूको नजरमा झन्झटिलो व्यक्ति नबन्ने चाहना हामीमा हुन्छ । त्यसैले आफूलाई केही महŒवपूर्ण कुरा भन्न मन लागे पनि कतिपय अवस्थामा चुप लागेर बस्छौँ ।
सत्तामा रहेका व्यक्तिहरूसामु सत्य बोल्ने विषयमा अनुसन्धान गरेकी नेतृत्वविज्ञ तथा ‘स्पिक आउट, लिसन अप’ पुस्तककी लेखिका प्राध्यापक मेगन रेट्जले मानिसहरू किन आफ्नो कुरा राख्न डराउँछन् भन्ने विषयमा अध्ययन गरेकी छन् । प्रायः खुलेर कुरा राख्ने कर्मचारीहरु टिक्न सक्तैनन् ।
समस्या कर्मचारीमा साहसको कमी हुनु थिएन । बरु, आफूले अधिकारमा रहेका व्यक्तिको विचारलाई चुनौती दिँदा त्यसको परिणाम के हुन सक्छ भन्ने डर थियो ।
रेट्जका अनुसार आफ्नो विचार व्यक्त गर्ने हाम्रो तत्परता केवल आफ्नै आत्मविश्वासमा निर्भर हुँदैन । हाम्रो कुरा सुन्ने व्यक्तिले कस्तो व्यवहार गर्छ र उसले हामीलाई कति सुरक्षित महसुस गराउँछ भन्ने कुराले पनि यसमा ठूलो भूमिका खेल्छ ।
कार्यालयमा मनोवैज्ञानिक सुरक्षाको महŒवबारे चेतना बढ्दै गएपछि नेतृत्वकर्ताहरूले आफ्ना टोलीका सदस्यलाई निर्धक्क भएर बोल्न र आफ्ना विचारसँग असहमत हुन सक्ने बताउन थालेका छन् । तर कर्मचारीलाई ‘यहाँ तिमीहरू सुरक्षित छौ, खुलेर बोल्न सक्छौ’ भन्नु मात्रै पर्याप्त हुँदैन । व्यवहारबाट पनि त्यो कुरा प्रमाणित गर्नुपर्छ । विश्वास एकैपटकमा निर्माण हुँदैन । यो पटकपटकको अन्तरक्रिया र निरन्तर देखिने व्यवहारबाट विकसित हुन्छ ।
सर रोबिन मिलरबाट पाएको सल्लाहलाई सम्झँदै माइक साउटरले कार्यस्थलमा सकारात्मक असहमतिको संस्कृति कसरी विकास हुन्छ भन्नेबारे आफ्नो अनुभव सुनाएका छन् । साउटरका अनुसार यस्तो संस्कृतिको सुरुवात विश्वासबाट हुन्छ । उनी भन्छन्, ‘सबैभन्दा पहिले विश्वासको वातावरण बनाउनुपर्छ, जहाँ प्रत्येक व्यक्तिले आफ्ना भावना, शङ्का र विचार निर्धक्कसँग व्यक्त गर्न सक्छ भन्ने थाहा पाओस् ।
त्यसपछि हामी रचनात्मक असहमतितर्फ अघि बढ्छौँ । यसमा व्यक्तिलाई आक्रमण गरिँदैन, बरु उसका विचारमाथि प्रश्न उठाइन्छ र तिनलाई चुनौती दिइन्छ । त्यसपछि निर्णय गर्ने चरण आउँछ । यसमा नेतृत्वकर्ताले सबैका तर्क सुन्छ, तिनको मूल्याङ्कन गर्छ र निष्कर्षमा पुग्छ ।
अन्त्यमा जवाफदेहिताको चरण आउँछ । नेतृत्वकर्ताले जिम्मेवारी बाँड्छ, कामको समयसीमा र पूरा गर्नुपर्ने मिति तोक्छ । त्यसपछि सबै जना भएको निर्णय कार्यान्वयन गर्न एकजुट हुन्छन् ।
जब मैले यो कुरा बुझेँ, नेतृत्व गर्ने मेरो क्षमतामा ठूलो परिवर्तन आयो । किनकि यसले मलाई मानिसहरूलाई आफूसँगै लिएर अघि बढ्न सम्भव बनायो ।’
विश्वासको जगमा रचनात्मक असहमतिको संस्कृति विकास गर्दा मानिसहरू एकअर्काका वैकल्पिक विचार खोज्न र सुन्न सक्रिय हुन्छन् । यसको उद्देश्य राम्रो नतिजा हासिल गर्नु हो, दोषारोपण र प्रतिस्पर्धाको विनाशकारी वातावरण सिर्जना गर्नु होइन ।
रचनात्मक असहमतिबाट राम्रो निर्णय लिन सकिन्छ । त्यस्ता निर्णयले सहकर्मीबीचको सम्बन्धलाई पनि बलियो बनाउँछन् । यसरी असहमतिलाई सुरक्षित रूपमा व्यक्त गर्न सकिने वातावरणले थप विश्वास पैदा गर्छ र सकारात्मक चक्र निर्माण हुन्छ ।
कसैको विचारलाई चुनौती दिन सक्ने क्षमताको अर्थ तपाईंले भनेकै कुरा सधैँ स्वीकार हुनुपर्छ भन्ने होइन । तर तपाईंको कुरा सुनिनुपर्छ । यस्तो वातावरण त्यतिबेला मात्रै सम्भव हुन्छ, जतिबेला नेतृत्वकर्ता साँच्चिकै छलफलमा सहभागी हुन्छ, ध्यानपूर्वक सुन्छ र अरूले आफ्नो विचारलाई चुनौती दिएकोमा खुसी भएको व्यवहारबाटै देखाउँछ ।
पछि साउटर लन्डनस्थित नृत्य सङ्गीत प्रसारण गर्ने रेडियो स्टेसन ‘किस एफएम’को पहिलो प्रबन्ध निर्देशक बने । जिम्मेवारी सम्हालेपछि उनले सुरु गरेका काममध्ये एउटा थियो—रेडियोको गीत छनोट गर्ने नीतिमा परिवर्तन ।
उनी रेडियोमा केवल ‘नयाँ’ सङ्गीत बजाउन चाहन्थे । दुई वर्षभन्दा पुराना गीत बजाउन नपाइने उनको प्रस्ताव थियो । यो नयाँ नीति लागू भएको प्रतीकका रूपमा उनले रेडियो स्टेसनको गाडी पार्किङ गर्ने ठाउँमा पुराना रेकर्डहरू जलाउने योजना पनि बनाए ।
तर उनको प्रस्तावले कर्मचारी र श्रोताहरू दुवैबाट कडा विरोध सामना गर्नुप¥यो । उनीहरूलाई साउटरले आफूहरूले गहिरो माया गरेको रेडियोको संस्कृति नै नष्ट गर्न खोजिरहेको जस्तो लाग्यो । धेरैले उनलाई यो निर्णय गलत हुने चेतावनी दिए । तर उनले ती आलोचनालाई बेवास्ता गरे ।
साउटरले भन्छन्, ‘अन्ततः हामीले पुराना रेकर्ड जलाउने काम गरेनौँ । सामाजिक सञ्जालको जमाना सुरु हुनुअघि नै यो घटना भएकोमा म खुसी छु । नत्र सायद मलाई जागिरबाटै निकाल्नुपर्ने अवस्था आउँथ्यो होला ।
मेरो वरिपरि सबैले पहिल्यै भनिरहेका थिए, “यो निकै खराब विचार हो ।” तर मैले उनीहरूको कुरा सुनिनँ । किनकि मैले त्यसलाई व्यक्तिगत रूपमा लिएँ ।’ रचनात्मक असहमतिको महŒव बुझ्नु एउटा कुरा हो तर आफ्नै निर्णयमाथि प्रश्न उठ्दा त्यसलाई सहज रूपमा स्वीकार गर्नु अर्कै कुरा हो ।
असहमतिलाई प्रोत्साहन गर्ने संस्कृति व्यक्तिनिरपेक्ष हुनुपर्छ । अर्थात्, कसले विचार प्रस्तुत ग¥यो भन्ने आधारमा होइन, प्रस्तुत गरिएको विचार कति राम्रो वा उपयुक्त छ भन्ने आधारमा त्यसको मूल्याङ्कन हुनुपर्छ ।
सत्तामा रहेकासामु सत्य बोल्ने विषयमा अनुसन्धान गरिरहेकी प्राध्यापक रेट्ज नेतृत्वकर्ताहरूले आफ्नो निर्णयमाथि प्रश्न उठ्दा आफूले कस्तो सङ्केत दिइरहेका हुन्छन् भन्ने कुरालाई प्रायः कम आँकलन गर्ने गरेको बताउँछिन् । नेतृत्वकर्ताहरू आफू सहजै भेट्न सकिने र आफूसँग निर्धक्क कुरा गर्न सकिने व्यक्ति भएको ठान्न सक्छन् । तर उनीहरूका सहकर्मीले भने उनीहरूको व्यवहारलाई बिल्कुलै फरक ढङ्गले अनुभव गरिरहेका हुन सक्छन् ।
रेट्जले यस्ता व्यवहारलाई ‘शट अप सिग्नल्स’ अर्थात् ‘चुप लाग्न बाध्य पार्ने सङ्केत’ भनेकी छन् । उनका अनुसार यस्ता सङ्केत अनायासै व्यक्त हुने हाउभाउ र प्रतिक्रियाबाट प्रकट हुन्छन्, जसले अरूलाई खुलेर बोल्न निरुत्साहित गर्छन् ।
कुनै व्यक्तिले नेतृत्वकर्ताको निर्णय क्षमतामाथि प्रश्न उठाउँदा यस्तो समस्या अझ गम्भीर हुन सक्छ । रेट्ज चेतावनी दिँदै भन्छिन्, ‘यदि तपाईंले त्यस्तो अवस्थामा खराब प्रतिक्रिया दिनुभयो भने भविष्यमा कसैले तपाईंलाई अप्ठ्यारो वा अप्रिय लाग्न सक्ने प्रतिक्रिया दिने आशा नै नगरे हुन्छ ।’
त्यसैले नेतृत्वकर्ताले असहमतिलाई आलोचनात्मक दृष्टिले होइन, जिज्ञासाका साथ लिनुपर्छ । कसैले किन असहमति जनाइरहेको छ र उसले आफूले नदेखेको के कुरा देखिरहेको हुन सक्छ भन्ने बुझ्ने प्रयास गर्नुपर्छ ।
हामीमध्ये धेरैले पर्याप्त सोचविचार नगरी तुरुन्तै प्रतिक्रिया दिन्छौँ । यसले छलफल र बहसका सम्भावना नै बन्द गरिदिन सक्छ । कसैले दिएको वैकल्पिक सुझाव अन्ततः स्वीकार नहुन पनि सक्छ । तर असल नेतृत्वकर्ताले त्यस्तो सुझाव दिने व्यक्तिसँग फेरि सम्पर्क गर्छ, उसको योगदानको कदर गर्छ र आफूले किन फरक निर्णय लिएको हो भन्ने कुरा स्पष्ट पार्छ ।
यसरी उसको दृष्टिकोणमाथि विचार गरिएको र त्यसलाई महत्त्व दिइएको प्रमाणित हुन्छ । यसले आपसी विश्वास बलियो बनाउँछ र भविष्यमा पनि उसलाई निर्धक्क भएर आफ्नो विचार राख्न प्रेरित गर्छ ।
सर रोबिन मिलरले ‘कार्यालयमा मेरो दिन त्यतिबेला सबैभन्दा राम्रो हुन्छ, जतिबेला मैले जितेका भन्दा हारेका बहस धेरै हुन्छन्’ भन्दा युवा माइक साउटरमाथि ठूलो प्रभाव परेको थियो । उनले साउटरलाई प्रभावकारी नेतृत्वकर्ता बन्न हरेक बहस जित्न आवश्यक छैन भन्ने बुझाए । बरु, फरक विचार र असहमतिलाई स्वागत गर्दा अझ राम्रा निर्णय लिन सकिन्छ भन्ने कुरा सिकाए ।
रचनात्मक असहमतिका लागि दुवै पक्षमा साहस चाहिन्छ । एउटा साहस अरूको विचारलाई चुनौती दिने हो भने अर्को साहस आफूलाई चुनौती दिन अरूलाई आमन्त्रण गर्ने हो ।
अब आफैँलाई एउटा प्रश्न सोध्नुहोस्— पछिल्लोपटक कसैले तपाईंको सोच वा निर्णयलाई कहिले चुनौती दिएको थियो ? त्यसबेला तपाईंले दिएको प्रतिक्रियाले भविष्यमा पनि तपाईंलाई चुनौती दिन सकिन्छ भन्ने कस्तो सन्देश उसलाई दियो ?
(साइकोलजी टुडेबाट साभार)