काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय भ्रमणमा पटकपटक पञ्चेश्वर बहुउद्देश्यीय आयोजना दोहोरिंदै आएको छ ।
नेपालको सीमा मिचिने गरि र नेपालको महाकाली नदिको सर्वाधिकार गुम्ने गरी भएको महाकाली सन्धिसँग सम्वन्धित पञ्चेश्वर आयोजनाको विषयमा हरेक प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्ने गर्छ, संयुक्त वक्तव्य जारी हुन्छ र पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र अन्तिम रूप दिने सहमति पनि हुन्छ । तर आयोजना कार्यान्वयनमा लैजाने प्रतिबद्धता कहिल्यै पनि पूरा भने हुँदैन ।
सोमबार सम्पन्न प्रधानमन्त्री बालेन्द्र शाहको दुइृदिने भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा पञ्चेश्वरलाई प्राथमिकता दिइएको छ । संयुक्त वक्तव्यको १८ नं बुँदामा दुवै देशका प्रधानमन्त्रीले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई आयोजनाको डीपीआर शीघ्र अन्तिम रूप दिन तथा कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिएका छन् । साथै, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई तीव्रता दिने सहमति पनि भएको छ ।
सन् १९९६ मा महाकाली सन्धि भएपछि तीन दशकसम्म आयोजना अघि बढाउने विषयमा नेपाल र भारतबीच पटकपटक सहमति भएका छन् । प्रधानमन्त्रीस्तरीय भ्रमणदेखि मन्त्रीस्तरीय बैठक र प्राविधिक समितिका छलफलसम्म पञ्चेश्वरले प्राथमिकता पाउँदै आएको छ । तैपनि आयोजना निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन ।
सन्धिको ६ महिनाको समयसीमा, ३० वर्षसम्म डीपीआर अधुरै
नेपाल र भारतबीच २०५२ साल माघ २९ गते भएको महाकाली सन्धिले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने आधार तयार गरेको थियो । सन्धिमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छ महिनाभित्र संयुक्त रूपमा तयार गर्ने सहमति गरिएको थियो । तर, सन्धि भएको तीन दशक बितिसक्दा पनि डीपीआर अन्तिम हुन सकेको छैन । सन्धिले महाकाली नदीको एकीकृत विकासअन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाउने आधार तयार गरेको थियो । सन्धिमा आयोजनाको डीपीआर संयुक्त रूपमा तयार गर्ने र त्यसका लागि ६ महिनाको समयसीमा राखिएको थियो । विद्युत् उत्पादन बराबर बाँड्ने तथा आयोजनाबाट प्राप्त समग्र लाभको अनुपातका आधारमा लागत व्यहोर्ने सिद्धान्त पनि स्वीकार गरिएको थियो ।
सन्धिअनुसार महाकाली नदीको पानी उपयोगमा दुवै देशको समान हक रहने व्यवस्था छ । तर, नदीको पानीको विगतदेखि भइरहेको उपभोगलाई असर नपर्ने प्रावधानले पछि विवादको आधारसमेत तयार ग¥यो । सन्धि भएको ६ महिनाभित्र डीपीआर तयार गर्ने लक्ष्य राखिए पनि लामो समयसम्म दुवै देशबीच त्यसमा सहमति जुट्न सकेन ।
आयोजना अघि बढाउने उद्देश्यले सन् २०१४ मा पञ्चेश्वर विकास प्राधिकरण स्थापना गरिएको थियो । भारतीय सरकारी परामर्शदाता कम्पनी वाप्कोसले अध्ययन गरी सन् २०१६ मा डीपीआरको मस्यौदा तयार गरेर दुवै देशलाई बुझायो । तर, मस्यौदामा रहेका प्राविधिक, आर्थिक र लाभ बाँडफाँटसम्बन्धी विषयमा सहमति हुन सकेन । त्यसपछि संयुक्त विज्ञ समूह बनाएर प्रतिवेदन परिमार्जन गर्ने प्रक्रिया अघि बढाइए पनि विवाद समाधान भएन ।
मोदीदेखि देउवा र प्रचण्डसम्म एउटै प्रतिबद्धता
२०७१ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पञ्चेश्वर आयोजना अघि बढाउने विषयले उच्च प्राथमिकता पाएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँगको वार्तामा डीपीआर टुंग्याउने र निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर, त्यसपछिका वर्षमा पनि आयोजना अघि बढ्न सकेन ।
विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा डीपीआर एक महिनाभित्र अन्तिम रूप दिने सहमति भएको थियो । तर, उक्त समयसीमासमेत पूरा भएन । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको विसं २०७९ को भारत भ्रमणमा पनि पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र टुंग्याउने प्रतिबद्धता व्यक्त गरियो । प्राविधिक तथा संयुक्त विज्ञ समूहका बैठक भए पनि विवाद समाधान हुन सकेन ।
गत वर्ष पनि नेपाल र भारतले पञ्चेश्वरलगायत ठूला जलस्रोत आयोजनालाई अघि बढाउने विषयमा छलफल र सहमति गरेका थिए । अहिले फेरि प्रधानमन्त्रीस्तरीय संयुक्त वक्तव्यमा डीपीआर शीघ्र टुंग्याएर कार्यान्वयन सुरु गर्ने निर्देशन दिइएको छ । तर, यसपटक पनि डीपीआर अन्तिम गर्ने निश्चित मिति, निर्माण सुरु गर्ने समय र विवाद समाधानको ठोस कार्ययोजना सार्वजनिक भएको छैन ।
यसरी तीन दशकदेखि पञ्चेश्वरको विषय प्रधानमन्त्रीको भ्रमण र संयुक्त वक्तव्यमा दोहोरिँदै आए पनि आयोजना भने कागजमै सीमित छ ।
लाभ बाँडफाँटमा विवाद, भारतलाई बढी सिँचाइ लाभ
पञ्चेश्वर आयोजना अघि बढ्न नसक्नुको प्रमुख कारण आयोजनाबाट प्राप्त हुने लाभ र त्यसअनुसारको लागत बाँडफाँट हो । महाकाली सन्धिले विद्युत् बराबर बाँड्ने व्यवस्था गरे पनि सिँचाइ र बाढी नियन्त्रणबाट प्राप्त हुने लाभको अनुपातमा लागत व्यहोर्ने व्यवस्था गरेको छ । यही व्यवस्थाको व्याख्या र आर्थिक मूल्यांकनमा नेपाल र भारतबीच मतभेद छ ।
भारतले तल्लो क्षेत्रमा सिँचाइ र बाढी नियन्त्रणबाट बढी लाभ प्राप्त गर्ने भएकाले आयोजनाको लागत पनि बढी व्यहोर्नुपर्ने नेपालको तर्क छ । नेपालले सिँचाइ तथा अन्य लाभको मूल्यांकनका आधारमा भारतले ७० प्रतिशत र नेपालले ३० प्रतिशत लागत व्यहोर्ने प्रस्ताव गरेको विवरण सार्वजनिक भएका छन् । भारतीय पक्षले भने करिब ६५ प्रतिशत लागत आफूले र ३५ प्रतिशत नेपालले व्यहोर्ने प्रस्ताव गरेको समाचारहरूमा उल्लेख छ ।
लागत बाँडफाँटमा देखिएको पाँच प्रतिशतको अन्तर मात्र विवादको विषय होइन । दुवै देशले सिँचाइ, विद्युत् र बाढी नियन्त्रणबाट प्राप्त हुने लाभको मूल्यांकन कसरी गर्ने भन्ने विषयमा फरक धारणा राख्दै आएका छन् ।
सिँचाइका दृष्टिले भारततर्फ करिब दुई लाख ४० हजार हेक्टर र नेपालतर्फ करिब एक लाख ३० हजार हेक्टर क्षेत्र लाभान्वित हुने लक्ष्यसम्बन्धी विवरण सार्वजनिक भएका छन् ।
६ हजार ४८० मेगावाटको अवधारणा, अहिले ५ हजार ४० मेगावाटको प्रस्ताव
पञ्चेश्वर आयोजना नेपालको जलविद्युत् क्षेत्रकै सबैभन्दा महत्वपूर्ण जलाशययुक्त आयोजनामध्ये एक हो । प्रारम्भिक अवधारणामा यसको क्षमता ६ हजार ४८० मेगावाट प्रस्ताव गरिएको थियो । पछिल्ला अध्ययनमा भने मुख्य पञ्चेश्वर आयोजनाबाट चार हजार ८०० मेगावाट र रूपालीगाडबाट २४० मेगावाट गरी कुल पाँच हजार ४० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव छ ।
यसअनुसार दुवै देशले बराबर विद्युत् पाउनेछन् । नेपाल र भारतले दुई हजार ५२० मेगावाटका दरले विद्युत् प्राप्त गर्ने प्रस्ताव छ । जलाशययुक्त आयोजना भएकाले वर्षायाममा सञ्चित पानी हिउँदमा उपयोग गरी विद्युत् उत्पादन गर्न सकिने यसको महत्वपूर्ण पक्ष हो ।
पानीको अधिकारमा पनि मतभेद
पञ्चेश्वरको विवाद विद्युत् र लगानीमा मात्र सीमित छैन । महाकाली नदीको पानी उपयोगसम्बन्धी अधिकार पनि महत्वपूर्ण विषय हो । महाकाली सन्धिले नदीको पानीमा दुवै देशको समान हक स्वीकार गरे पनि विगतदेखि भइरहेको पानीको उपयोगलाई असर नपर्ने व्यवस्था गरेको छ ।
भारतले तल्लो शारदा बाँधबाट भइरहेको पानीको उपयोगलाई विद्यमान उपभोग अधिकारसँग जोडेर हेर्दै आएको छ । नेपालले भने महाकाली साझा नदी भएकाले पानीको उपयोग र अधिकारको हिसाब न्यायोचित हुनुपर्ने धारणा राख्दै आएको छ । यसले सिँचाइको लाभ, पानीको उपलब्धता र आयोजनाबाट प्राप्त हुने थप लाभको गणनालाई जटिल बनाएको छ ।
त्यसैगरी, नेपालभित्र पनि महाकाली सन्धि र पञ्चेश्वर आयोजनाको लाभबारे राजनीतिक दल तथा विज्ञबीच लामो समयदेखि मतभेद रहँदै आएको छ । सरकार परिवर्तनसँगै प्राथमिकता र वार्ताको दृष्टिकोण बदलिनु तथा दीर्घकालीन राष्ट्रिय सहमति कायम हुन नसक्नुले पनि आयोजना प्रभावित भएको छ ।