नेभिगेशन
अर्थतन्त्र

ऊर्जा, पूर्वाधार र व्यापारमा सहकार्य विस्तार

हवाई मार्ग, रेलमार्ग र बन्दरगाह पहुँच विस्तारदेखि ऊर्जा क्षेत्रमा लगानीसम्म सहमति

नयाँदिल्ली/काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणका क्रममा दिल्लीमा नेपाल–भारत विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच विकास सहायता, हवाई तथा रेल सम्पर्क, ऊर्जा, व्यापार, पूर्वाधार, शिक्षा, स्वास्थ्य र प्रविधिलगायत क्षेत्रमा सहकार्य गर्ने सहमति पनि भएको छ । 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबारदेखि दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका थिए । प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । भ्रमणको दोस्रो दिन सोमबार मोदी र शाहबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्दै भ्रमणका उपलब्धि सार्वजनिक गरेका हुन् । संयुक्त वक्तव्यमा नेपाल–भारत सम्बन्ध गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित रहेको उल्लेख गरिएको छ । नियमित उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै आर्थिक तथा विकास साझेदारी र जनस्तरको सम्बन्ध थप विस्तार गर्ने प्रतिबद्धता पनि दुवै देशले व्यक्त गरेका छन् । 
भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाहसाँझ स्वदेश फिर्ता भएका छन् । नेपाल फर्किएका प्रधानमन्त्री  शाहले भारतीय समकक्षी मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका उनलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरेका थिए । बिदाइका अवसरमा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी उपस्थित थिए ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए ।
विकास तथा पूर्वाधारमा २४ हजार करोड सहयोग
भ्रमणका क्रममा भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । उक्त सहयोगमध्ये ३ हजार ५ सय करोड भारु अनुदान र ११ हजार ५ सय  करोड रुपैयाँ सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुनेछ ।
अनुदानमध्ये ३ हजार ५०० करोड भारु विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजना निर्माणमा खर्च गरिनेछ । त्यसैगरी, ११ हजार ५ सय करोड रुपैयाँ बराबरको ऋण ऊर्जा क्षेत्रका आयोजनामा लगानी गरिनेछ । कुन आयोजनामा कति रकम खर्च गर्ने र सहयोग उपलब्ध गराउने विधिबारे दुवै देशबीच थप छलफल हुनेछ ।
प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन् । उक्त बाढीले रसुवा र नुवाकोटमा  जनधनको ठूलो क्षति पु¥याएको थियो । भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हवाई रुट र बन्दरगाह
दुई प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिकोणपत्र पनि स्वीकार गरेका छन् । यसले आगामी दिनमा दुई देशबीचको साझेदारीलाई दिशानिर्देश गर्नेछ । आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विषय यसमा समेटिएको छ । जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, खेलकुद, नवप्रवर्तन, डिजिटल सेवा र अन्तरिक्ष प्रविधिमा समेत सहकार्य विस्तार गर्ने उल्लेख छ ।
हवाई सम्पर्क विस्तारका विषयमा पनि दुवै देशबीच सहमति भएको छ । हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ । यसका लागि प्राविधिक छलफल गरी कार्यान्वयनको विधि तय गरिने सहमति भएको छ । नेपाल र भारतले यसअघि उठाउँदै आएका अन्य हवाई मार्गसम्बन्धी प्रस्तावमा पनि छलफल जारी राख्ने भएका छन् ।

नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दीनदयाल बन्दरगाहसम्म पहुँच दिने भएको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाह प्रयोग गर्न पनि नेपाललाई अनुमति दिइने संयुक्त वक्तव्यमा उल्लेख छ ।
सीमापार सम्पर्क सञ्जाल विस्तारका लागि नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन निर्माणलाई तीव्रता दिने सहमति भएको छ । यसै क्रममा अयोध्या र जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेलसेवाको उद्घाटन गरिएको छ । यसले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बौद्ध र शिवशक्ति धार्मिक पर्यटन मार्ग विकास गर्ने सम्भावनाबारे पनि दुवै पक्षले छलफल गर्ने भएका छन् ।
रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ । नेपालमा पूर्व–पश्चिम रेलमार्ग निर्माणमा पनि भारतले सहकार्य गर्ने भएको छ । यसबाहेक, भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गरिएको छ । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माणाधीन जाँच चौकीको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि जनाएका छन् । भारत र नेपालबीच यसअघि नै तीनवटा एकीकृत जाँच चौकी सञ्चालनमा छन् ।
यसैबीच, भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सवारीसाधन चल्ने सीमापार पुलको पनि उद्घाटन गरिएको छ । यसले पश्चिम नेपाल र भारतबीचको प्रत्यक्ष सम्पर्क सहज बनाउनेछ । सीमा स्तम्भको मर्मत तथा सम्भारका लागि भइरहेको संयुक्त कामलाई निरन्तरता दिने र बाँकी सीमा विवाद समाधानका लागि दुवै देशका परराष्ट्र सचिवले काम गर्ने सहमति भएको छ ।

ऊर्जामा के भयो ? 
पेट्रोलियम पूर्वाधार विस्तारमा पनि महŒवपूर्ण सहमति भएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको आयोजना नेपाली जनतालाई समर्पण गरिएको छ । झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शिलान्यास गरिएको छ । भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम चाँडै सुरु गर्न दुवै देशले जोड दिएका छन् । नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावनासमेत खोजिने भएको छ ।
ऊर्जा क्षेत्रको सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । भारतीय कम्पनीको लगानीमा नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनालाई तीव्रता दिने सहमति भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई शीघ्र अन्तिम रूप दिई निर्माण प्रक्रिया अघि बढाउन दुवै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
त्यसैगरी, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम तीव्र बनाउने सहमति भएको छ । जलस्रोतको उपयोगबाट दुवै देशले लाभ लिने र बाढीको प्रभाव न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ । इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली सीमापार उच्च क्षमताका दुई विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि जनाएका छन् ।
शिक्षा र प्रविधि क्षेत्रमा भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा स्थापना गर्ने भएको छ । यसले नेपालको उच्च शिक्षा, प्रविधि विकास र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । चितवनमा भारतीय अनुदान सहयोगमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणा पनि गरिएको छ । नेपालमा भारतको सहयोगमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिलाई दुवै प्रधानमन्त्रीले स्वागत गरेका छन् ।
भ्रमणका क्रममा आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । भारतको गुजरातस्थित राष्ट्रिय विधिविज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी भएको छ । भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि सहकार्य हुनेछ । भारतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम सञ्चालन गर्ने समझदारी भएको छ । आयुर्वेद र अन्य परम्परागत चिकित्सा पद्धतिमा सहकार्य गर्न दुई सरकारबीच अर्को समझदारी भएको छ ।
त्यसैगरी, भारतीय अन्तरिक्ष अनुसन्धान संस्था र नेपालको सञ्चार तथा सूचना मन्त्रालयबीच दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी भएको छ । दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र भारतमा बसोबास गर्ने एकअर्का देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चारलगायत सेवा सहज रूपमा उपलब्ध गराउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गरेका छन् । उनको नेपाल भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ ।

यस्ता छन् समझदारी 
१. शैक्षिक तथा अनुसन्धान सहकार्यः गुजरातको राष्ट्रिय विधिविज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबीच सहकार्य ।
२. सुरक्षा तथा प्रहरी तालिमः भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य ।
३. निजामती कर्मचारीको क्षमता अभिवृद्धिः भारतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम तथा क्षमता विकास ।
४. आयुर्वेद तथा परम्परागत चिकित्साः आयुर्वेद र अन्य परम्परागत उपचार पद्धतिमा दुई देशबीच सहकार्य ।
५. भूउपग्रह सञ्चारः दक्षिण एसिया भूउपग्रह उपयोगका लागि सञ्चार सञ्जाल स्थापना गर्ने सहमति ।
६. दिगो सहरी विकासः सहरी पूर्वाधार तथा दिगो विकासका क्षेत्रमा प्राविधिक सहकार्य ।
७. स्वास्थ्य तथा चिकित्साः स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रमा दुई देशबीच सहकार्य ।
८. पशुपालन तथा मत्स्यपालनः पशुपालन र माछापालनको विकास तथा प्रविधि आदानप्रदानमा सहकार्य ।

‘भारतसँगको सम्बन्ध लयमा फर्कियो’ 
प्रधानमन्त्री बालेन शाहको दुईदिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणका उपलब्धिबारे जानकारी गराएका हुन् ।  
भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले दुवै देशको सम्बन्ध विस्तार गरेर परिणाममुखी बनाउनेगरी छलफल भएको उनको भनाइ छ । ‘लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौं,’ खनालले भने । वर्तमान सरकारले नेपालको राष्ट्र हित प्रवद्र्धन गर्ने कुरामा आर्थिक वृद्धि विकास र समृद्धिलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
‘मित्रराष्ट्र भारतसँग रहिआएको सदियौं पुरानो घनिष्ट, बहुआयामिक र सहयोगात्मक र जनस्तरको सम्बन्ध एवं सहकार्यलाई थप मजबुत बनाइ दुवै देशका नागरिकले लाभ प्राप्त गर्ने कुरामा यो भ्रमण केन्द्रित रह्यो,’ उनले भने ।
त्यस्तै, सीमा विवादबारे सञ्चारकर्मीहरुको प्रश्नमा पनि उनले प्रष्ट पारे । ‘सीमा सम्बन्धि समस्यामा नेपाल र भारतबीच भएका सीमासम्बन्धि विभिन्न खाले संयन्त्रहरुले अत्यन्त रामो काम गरिरहेका छन् । र, त्यही सन्दर्भमा प्राविधिक समितिले गरिरहेको कामहरुलाई अब स्तरमा लैजानका लागि आज दुइटा प्रधानमन्त्रीज्यूहरुले दुइटा विदेश सचिवलाई संयुक्त रुपमा बैठक गर्नका लागि निर्देशन दिनुभएको छ,’ भारतबाट फर्कने क्रममा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालले भने, ‘हामीबीच भएका विभिन्नखाले विवादहरु, अप्ठ्यारोहरुलाई हामी शान्तिपूर्ण बाटोबाट हल गर्न चाहन्छौं भन्ने नेपालको ऐतिहासिक पोजिसन हो । यसलाई सरकारले पनि मानिआएको छ । सीमा विवादलार्ई पनि उच्च तहमा लगेर थप संवाद गरेर निक्र्योलमा पुग्न चाहन्छौं ।’ 
टाइमलाइनमा दिल्लीमा दिनभर 
बिहान १० बजेः राष्ट्रपति भवनमा औपचारिक स्वागत

भारतको राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा औपचारिक स्वागत गरियो । भारतीय सेनाको टुकडीले उनलाई सम्मान गारद अर्पण गरेको थियो ।
बिहान १०ः४० बजे राजघाटमा श्रद्धाञ्जली
बालेन महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे । त्यहाँ उनले गान्धीप्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।
बिहान ११ बजेः मोदीसँग भेटवार्ता
बालेन र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भयो । सुरुमा दुई नेताबीच सीमित सहभागितामा छलफल भएको थियो । त्यसपछि दुवै देशका मन्त्री तथा उच्च अधिकारी सहभागी प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको थियो । करिब १ घण्टा ४० मिनेट  चलेको छलफलमा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार, आर्थिक सहायता र दुई देशबीचको सम्पर्क विस्तारका विषयमा कुराकानी भएको थियो ।
दिउँसो १२ः३५ बजेः सम्झौता र परियोजनाको उद्घाटन
दुई प्रधानमन्त्रीले संयुक्त रूपमा विभिन्न विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गरे । यस क्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सुरुआत गरिएको छ ।
त्यस्तै, पाँचवटा पूर्वाधार परियोजनालाई अघि बढाउने सहमति भएको छ । त्यसमा दार्चुला–धार्चुला जोड्ने मोटरेबल पुल, बनबासा एकीकृत जाँच चौकी, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण, झापाको चारआलीमा ग्यास पाइपलाइन र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना छन् ।
यसै क्रममा दुई देशबीच विभिन्न समझदारी तथा सम्झौतापत्र आदानप्रदान भयो । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरे ।
भारतद्वारा २४० अर्ब रुपैयाँको आर्थिक सहायता
भ्रमणको महŒवपूर्ण उपलब्धिका रूपमा भारतले नेपाललाई २४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ । यसमा भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहनेछ । भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा सहायता प्याकेज घोषणा गरेका हुन् ।
नेपालले यसअघि भारतसँग १०० अर्ब रुपैयाँ अनुदान र थप १०० अर्ब रुपैयाँ ऋण सहयोग माग गरेको थियो ।
दिउँसो १ः१५ बजे मोदीद्वारा दिवाभोज
द्विपक्षीय वार्ता र संयुक्त पत्रकार सम्मेलनपछि मोदीले नेपाली प्रधानमन्त्री बालेन र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गरे ।
दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति मुर्मुसँग भेट
प्रधानमन्त्री बालेनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गरे । दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो ।
अपराह्न ४ः ५० बजे स्वदेश फिर्ती
दिल्लीस्थित औपचारिक कार्यक्रम सकेर बालेन नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं फर्किने कार्यक्रम थियो । निर्धारित समयअनुसार उनी साँझ ६ः३५ बजे काठमाडौं आए ।

प्रमुख समझदारी तथा सहमति

१. २४ हजार करोड रुपैयाँ सहयोगः भारतले नेपाललाई २४ हजार करोड नेरु बराबरको विकास सहायता उपलब्ध गराउने । यसमध्ये ५ हजार ६०० करोड अनुदान र १८ हजार ४०० करोड ऊर्जा क्षेत्रका परियोजनाका लागि सहुलियतपूर्ण ऋण रहने ।
२. ऊर्जा क्षेत्रमा लगानीः भारतको सहयोगमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने ।
३. कृषि औद्योगिक पार्कः भारतको अनुदान सहयोगमा चितवनमा कृषि औद्योगिक पार्क स्थापना गर्ने ।
४. विमानस्थल तथा हवाई मार्गः काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने । यसका लागि प्राविधिक परामर्शमार्फत आवश्यक प्रक्रिया टुंग्याउने ।
५. बन्दरगाह पहुँच विस्तारः नेपालको पारवहन व्यापारका लागि भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह (कान्डला) प्रयोग गर्न नयाँ मार्ग उपलब्ध गराउने । आवश्यक पूर्वाधार बनेपछि ओडिशाको पारादीप बन्दरगाहसम्म पनि पहुँच दिने ।
६. रेलमार्ग विस्तारः रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत सर्वेक्षण सम्पन्न भएको घोषणा । नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा भारतले सहकार्य गर्ने ।
७. अयोध्या–जनकपुर रेल सेवाः भारतको अयोध्या र नेपालको जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा उद्घाटन । रामायण सर्किटसँगै बौद्ध र शिवशक्ति धार्मिक पर्यटन मार्ग विस्तार गर्ने सम्भावना खोज्ने ।
८. सीमा नाका पूर्वाधारः भारतको बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माणको शिलान्यास । भैरहवा, सुनौली र दोधारा–चाँदनीमा जाँच चौकी निर्माण अघि बढाउने ।
९. दुई देश जोड्ने पुलः भारतको धार्चुला र नेपालको दार्चुलाबीच नयाँ मोटर चल्ने पुल उद्घाटन गरी पश्चिम नेपाल र भारतबीचको आवागमन सहज बनाउने ।
१०. सीमा विवाद समाधानः सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त कामलाई निरन्तरता दिने। बाँकी सीमा समस्याको समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम अघि बढाउन निर्देशन ।
११. पेट्रोलियम पाइपलाइन विस्तारः मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन । झापा चारआलीमा पेट्रोलियम भण्डारण तथा वितरण केन्द्र निर्माणको शिलान्यास । सिलिगुडी–झापा पाइपलाइन निर्माण छिटो अघि बढाउने ।
१२. ग्यास पाइपलाइनः नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावना खोज्ने ।
१३. पञ्चेश्वर आयोजनाः पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन छिटो टुंग्याएर कार्यान्वयन सुरु गर्ने ।
१४. सप्तकोशी र सुनकोशी आयोजनाः सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम तीव्र बनाउने । बाढी नियन्त्रण र जलस्रोतको उपयोगमा सहकार्य गर्ने ।
१५. विद्युत् प्रसारण लाइनः इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली उच्च क्षमताका दुई सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन प्रक्रिया अघि बढाउने ।
१६. भारतीय प्रविधि संस्थान (आईआईटी): भारतले नेपालमा आईआईटीको अन्तरदेशीय शाखा स्थापना गर्ने। यसबाट प्राविधिक शिक्षा, रोजगारी र अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा ।
१७. प्रविधि र डिजिटल सहकार्य: स्टार्टअप, डिजिटल सेवा तथा वित्तीय सम्पर्क विस्तारमा सहकार्य बढाउने ।
१८. बैंकिङ र दूरसञ्चार सेवा: एकअर्काको देशमा बसोबास गर्ने नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवा सहज उपलब्ध गराउन सहजीकरण गर्ने ।
१९. राष्ट्रिय प्रहरी प्रतिष्ठान: भारतको सहयोगमा नेपालमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको काम अघि बढाउने ।
२०. पूर्वाधार तथा सामुदायिक विकास: उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनासहित नेपालमा सञ्चालित विकास परियोजनाको कार्यान्वयन तीव्र बनाउने ।
२१. समग्र विकास साझेदारी: विकसित भारत र समुन्नत नेपाल संयुक्त दृष्टिकोणपत्र स्वीकार गर्दै ऊर्जा, जलस्रोत, पूर्वाधार, जलवायु अनुकूलन, विपद् व्यवस्थापन, खेलकुद, अन्तरिक्ष र नवप्रवर्तनमा सहकार्य विस्तार गर्ने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्