नेभिगेशन
राजनीति

दिल्लीमा सहमति धेरै, नेपालको हितका मुद्दा अधुरा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्लीमा प्रशंसाका शब्दले स्वागत गर्दै पुलकित बनाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक सहयोग घोषणा गर्दा भने भारतको राष्ट्रिय हित र प्राथमिकतालाई उच्च महŒव दिएका छन् । जसका कारण नेपालको चासोका केही प्रमुख मुद्दालाई भारतले ‘बेवास्ता’ गरेको देखिएको छ । 
भारतले नेपालको विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहयोग घोषणा गर्नु महŒवपूर्ण उपलब्धि हो । तर, उक्त रकममध्ये ५६ अर्ब रुपैयाँ मात्रै अनुदान हो । बाँकी १८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका आयोजनाका लागि सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुनेछ । त्यसैले घोषित सहयोगको आकार ठूलो भए पनि त्यसको अधिकांश हिस्सा ऋणमा आधारित छ । यसले नेपालको पूर्वाधार तथा ऊर्जा विकासमा स्रोत जुटाउने अवसर दिए पनि दीर्घकालीन रूपमा ऋणको उपयोग र प्रतिफल सुनिश्चित गर्ने चुनौती थप्छ । ऊर्जा क्षेत्रमा लगानी विस्तारसँगै भारतले आफ्नो आर्थिक तथा रणनीतिक चासोलाई समेत प्राथमिकता दिएको देखिन्छ ।
ऊर्जा व्यापारमा नेपालको अर्को महŒवपूर्ण चासो भने भ्रमणको औपचारिक एजेन्डामा पर्न सकेन । भारतले नेपालबाट आफूले छनोट गरेका आयोजनाको मात्रै बिजुली खरिद गर्ने र चिनियाँ लगानी भएका वा चिनियाँ कम्पनीले निर्माण गरेका आयोजनाको बिजुली खरिदमा अनिच्छा देखाउँदै आएको छ । यसले नेपालको जलविद्युत् विकासमा लगानीको स्रोत र निर्माण कम्पनी छनोट गर्ने स्वतन्त्रतालाई समेत प्रभावित गर्न सक्छ । भारतले आफ्नो ऊर्जा सुरक्षा र रणनीतिक चासोका आधारमा यस्तो नीति लिएको तर्क गर्न सक्छ । तर नेपालका लागि भने उत्पादित बिजुलीको बजार सुनिश्चित हुनु महŒवपूर्ण छ । भारतले चीनसँग सम्बन्ध सुधारका प्रयास गरिरहेका बेला नेपालका ऊर्जा आयोजनामा चिनियाँ संलग्नताका आधारमा गरिने व्यवहारबारे स्पष्ट संवाद आवश्यक थियो । प्रधानमन्त्री शाहको भ्रमणमा यो विषय उठेन । भारतबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण कुन आयोजनामा कसरी उपयोग गर्ने भन्ने विषयमा पनि नेपालको प्राथमिकता र निर्णयाधिकार सुनिश्चित गर्नु आवश्यक छ ।
नेपालले लामो समयदेखि प्राथमिकतामा राख्दै आएको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय आकाश हुँदै थप हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि ठोस सहमति हुन सकेन । संयुक्त वक्तव्यमा हवाई मार्गसम्बन्धी प्रस्तावमा छलफल जारी राख्ने र प्राविधिक परामर्शबाट टुंगो लगाउने उल्लेख छ । काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भने भएको छ । तर, सहमति मात्रै भएको हो, खुला भएको होइन । कहिले खुला गर्ने भन्ने मिति तोकिएको छैन । यो सकारात्मक कदम भए पनि भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न नेपालले खोजेको हवाई मार्गको विकल्प होइन । ठूलो लगानी र वैदेशिक ऋण लिएर निर्माण गरिएका दुवै विमानस्थलले अपेक्षित अन्तर्राष्ट्रिय उडान पाउन नसक्नुमा हवाई मार्गको सीमितता पनि एउटा कारण हो । त्यसैले यस विषयमा नेपालले थप कूटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।
व्यापार सहजीकरणमा पनि नेपालका अपेक्षा सम्बोधन हुन सकेका छैनन् । नेपाली जुट, अदुवा, चिया, प्लाइवुडलगायतका वस्तुको भारतीय बजारमा सहज पहुँचका लागि उद्योगी–व्यवसायीले लामो समयदेखि समस्या उठाउँदै आएका छन् । गुणस्तर परीक्षण, भन्सार प्रक्रिया र अन्य प्रशासनिक अवरोधले नेपाली उत्पादनको निर्यात प्रभावित हुने गरेको उनीहरूको गुनासो छ । यसको असर उद्योगी–व्यवसायीसँगै किसानसम्म पुग्छ । दुई देशबीचको व्यापार असन्तुलन न्यूनीकरण र नेपाली उत्पादनको बजार पहुँच विस्तारका विषयमा भ्रमणका क्रममा ठोस सहमति सार्वजनिक हुन सकेन ।
खुला सीमाको व्यवस्थापन र सीमा विवाद पनि दुई देशबीचका दीर्घकालीन चासो हुन् । खुला सीमाले व्यापार, आवागमन र जनस्तरको सम्बन्धलाई सहज बनाएको छ । तर यसको व्यवस्थापनमा सुरक्षा, अवैध कारोबार र अन्य चुनौती पनि छन् । त्यस्तै, केही क्षेत्रमा बाँकी रहेका सीमा विवाद समाधान गर्नु नेपालको महŒवपूर्ण प्राथमिकता हो । संयुक्त वक्तव्यमा सीमा स्तम्भको मर्मत तथा सम्भारका लागि भइरहेको संयुक्त कामको प्रशंसा गर्दै बाँकी सीमा समस्यामा परराष्ट्र सचिवहरूलाई काम गर्न निर्देशन दिइएको छ । यो प्रक्रियागत सहमति भए पनि विवादित क्षेत्रको समाधानका लागि ठोस समयसीमा वा कार्ययोजना सार्वजनिक भएको छैन ।
भ्रमणका क्रममा रेलमार्ग, पेट्रोलियम पाइपलाइन, सीमापार प्रसारण लाइन, जलविद्युत् आयोजना, बन्दरगाह पहुँच र कृषि–औद्योगिक पार्कलगायतका क्षेत्रमा भएका घोषणा तथा सहमतिलाई पनि कम महŒव दिन मिल्दैन । यी आयोजना कार्यान्वयनमा आए नेपालको पूर्वाधार, ऊर्जा व्यापार र पारवहन क्षमतामा सुधार आउन सक्छ । आठवटा समझदारीले शिक्षा, सुरक्षा, स्वास्थ्य, अनुसन्धान, प्रविधि र प्रशासनिक क्षमता अभिवृद्धिमा सहकार्यका नयाँ ढोका खोलेका छन् । तर घोषणा र कार्यान्वयनबीचको दूरी घटाउनु दुवै देशका लागि मुख्य चुनौती हुनेछ ।
भारत त्यही छिमेकी हो, जसले भोटेकोशी विनाशकारी बाढीलगत्तै त्यही दिन नेपाललाई राहत पठाएको हो । यहाँका राजनीतिक, आर्थिकलगायत सबै मामिलामा विशेष चासो र चिन्ता राख्छ । यस्तो छिमेकीसँग सतर्कतापूर्वक कूटनीतिक संवादले सम्बन्धमा सहजीकरण हुन सक्छ । तर, यसमा सरकारको सुझबुझ आवश्यक छ । आपसी भ्रमण र संवादले सहकार्य र पारस्परिक सहयोग आदानप्रदानको मार्गप्रशस्त गर्छ । बालेनको भ्रमणलाई त्यसको एउटा निरन्तरता मान्न सकिन्छ । 
समग्रमा, शाहको भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिँदै विकास सहकार्यका केही नयाँ आधार तयार गरेको छ । तर नेपालले लामो समयदेखि उठाउँदै आएका हवाई मार्ग, ऊर्जा व्यापारमा समान व्यवहार, नेपाली उत्पादनको बजार पहुँच र सीमा विवादजस्ता विषयमा अपेक्षाकृत ठोस उपलब्धि देखिएन । भारतले आफ्नो हित र प्राथमिकता स्पष्ट रूपमा अघि सारेको अवस्थामा नेपालले पनि आफ्ना राष्ट्रिय सरोकारलाई वार्ताको केन्द्रमा राख्न सक्नुपथ्र्यो । त्यसैले भ्रमणको मूल्यांकन घोषणाको संख्या वा सहयोगको कुल रकमबाट मात्र होइन, नेपालको प्राथमिकता कति सम्बोधन भए र सहमतिहरू कार्यान्वयनमा कति अघि बढ्छन् भन्ने आधारमा गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्