काठमाडौं । अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन नेपालले डेढ दशकभन्दा लामो समयदेखि गर्दै आएको प्रयासले बल्ल राजनीतिक सहमतिको रूप लिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको हो । यसले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानका लागि सिमरामा मात्र केन्द्रित हवाई चाप घटाउने र भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।
भारतको नयाँ दिल्लीमा सोमबार भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा दुवै देशले नागरिक उड्डयनका विषयमा भइरहेको छलफललाई सकारात्मक रूपमा लिएको उल्लेख छ । सम्पर्क सञ्जाल विस्तार र द्विपक्षीय आर्थिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यसहित दुवै पक्ष हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत भएका हुन् ।
सहमतिअनुसार यसको सञ्चालन कार्यविधि अन्तिम रूप दिन तथा दुवै देशका तर्फबाट छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्ताव सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।
राजनीतिक तहमा भएको यो सहमतिले लामो समयदेखि रोकिएको हवाई प्रवेशमार्गको विषयलाई अघि बढाएको छ । तर, सहमतिलाई वास्तविक उडानमा परिणत गर्न प्राविधिक पक्ष टुंग्याउनुपर्नेछ ।
सिमरा रुटको हवाई चाप घट्ने
नेपालबाट अन्तर्राष्ट्रिय विमान बाहिरिने मार्गको विकल्प तुलनात्मक रूपमा धेरै भए पनि नेपाल प्रवेश गर्ने विमानका लागि मार्ग सीमित छ । हाल पश्चिमतर्फबाट नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय उडान सिमरा हवाई मार्गमा निर्भर छन् ।
नेपालबाट बाहिरिने अन्तर्राष्ट्रिय विमानले पश्चिमतर्फ भैरहवा र महेन्द्रनगर तथा पूर्वतर्फ सिमरा, विराटनगर, तुम्लिङटार, मेची र जनकपुर गरी सातवटा हवाई मार्ग प्रयोग गर्न सक्छन् । तर प्रवेशका लागि भने सिमरा मुख्य मार्गका रूपमा प्रयोग हुँदै आएको छ । पूर्वतर्फका मेची र तुम्लिङटारबाट पनि प्रवेश गर्न सकिने व्यवस्था भए पनि ती मार्ग भुटान र चीनको ल्हासाबाट आउने उडानमा सीमित छन् ।
कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, टर्किएलगायत पश्चिम एसियाली मुलुक तथा भारतका विभिन्न सहरबाट आउने विमानले सिमरा हुँदै नेपाल प्रवेश गर्नुपर्ने बाध्यता छ । यसले नेपालको हवाई क्षेत्रको व्यवस्थापनमा असन्तुलन हुँदै आएको हवाइ रुटका जानकारहरू बताउँछन् ।
नेपालमा दैनिक करिब एक सयदेखि एक सय १५ वटासम्म अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुने गरेको तथ्यांक छ । सबै विमानका लागि एउटै प्रवेशमार्गमा निर्भर रहनुपर्दा हवाई चाप बढ्ने र विमानले आकाशमै केही समय प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको छ ।
भैरहवा प्रवेशमार्ग सञ्चालनमा आएपछि पश्चिम एसिया तथा भारतका विभिन्न सहरबाट आउने विमानले सिधै भैरहवा हुँदै नेपाल प्रवेश गर्न सक्नेछन् । यसले काठमाडौं आउने विमानलाई समेत वैकल्पिक प्रवेशमार्ग उपलब्ध गराउनेछ । साथै, विमानस्थलको हवाई चाप व्यवस्थापनमा पनि सहयोग पुग्ने अपेक्षा छ ।
भैरहवाका लागि १७ मिनेटसम्म समय बचत
नयाँ हवाई मार्गको सबैभन्दा प्रत्यक्ष लाभ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पुग्ने देखिएको छ । अहिले पश्चिमबाट भैरहवा आउने विमानले सिमरासम्म पुगेर पुनः पश्चिमतर्फ फर्किनुपर्ने अवस्था छ । यसले अतिरिक्त दूरी, समय र इन्धन खर्च बढाएको गुनासो हवाइ सेवा दिने कम्पनीहरूले गुनासो गर्दै आएका थिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वमहाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार नयाँ मार्गबाट भैरहवाका लागि करिब एक सय ४० नटिकल माइल दूरी कम हुनेछ । यसबाट झण्डै १७ मिनेट उडान समय बचत हुन सक्छ । पोखराका लागि भैरहवा हुँदै प्रवेश गर्दा करिब एक सय १४ नटिकल माइल दूरी र १४ मिनेट समय बचत हुने उनको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार मध्यपूर्व तथा पश्चिम एसियाबाट काठमाडौं आउने विमानले भैरहवा प्रवेशमार्ग प्रयोग गर्न पाए प्रतिउडान करिब १५ मिनेटसम्म समय बचत गर्न सक्छन् । भैरहवा र पोखरा जाने विमानका लागि भने यसको लाभ अझ बढी हुन सक्छ । विमानको उडान समय घट्नु भनेको इन्धन खपत, चालकदलको सञ्चालन खर्च र अन्य हवाई सञ्चालन लागत घट्नु हो ।
सञ्चालन लागत घटेमा वायुसेवा कम्पनीलाई भैरहवा र पोखरामा उडान गर्न आर्थिक रूपमा सहज हुनेछ । यसले भविष्यमा हवाई भाडा घटाउने सम्भावना पनि सिर्जना गर्न सक्छ । यद्यपि, लागत बचतको लाभ यात्रुले भाडामा पाउँछन् वा वायुसेवा कम्पनीकै आम्दानीमा सीमित हुन्छ भन्ने कुरा बजार प्रतिस्पर्धा र कम्पनीको व्यावसायिक निर्णयमा निर्भर रहनेछ ।
४० अर्बको विमानस्थल, चार वर्षदेखि नियमित उडानको प्रतीक्षा
करिब ३५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको गौतमबुद्ध विमानस्थल २०७९ सालदेखि सञ्चालनमा आए पनि सञ्चालनमा समस्या हुँदै आएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको विमानस्थलले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटन, व्यापार र हवाई यातायातसँग जोड्ने अपेक्षा गरिएको थियो ।
तर, पर्याप्त हवाई प्रवेशमार्ग, नियमित उडान र यात्रु व्यवस्थापनको अभावमा विमानस्थलले अपेक्षित गति लिन सकेको छैन । यसअघि जजिरा, थाई एयर एसिया, फ्लाई दुबई, कतार एयरवेज र नेपाल वायुसेवा निगमले भैरहवाबाट उडान गरेका थिए । तर, ती उडान नियमित हुन सकेनन् ।
विमानस्थलको तथ्यांकअनुसार सन् २०२२ देखि २०२६ को मे महिनासम्म ट्रान्जिटसहित एक हजार दुई सय १८ अन्तर्राष्ट्रिय उडान भएका थिए । ती उडानबाट ६९ हजार तीन सय १६ यात्रुले सेवा लिएका थिए । सन् २०२३ मा यात्रुको संख्या चार हजार सात सय ५१ मा सीमित भएको थियो भने सन् २०२५ मा १९ हजार पाँच सय ९० पुगेको थियो । सन् २०२६ को मे महिनासम्म चार हजार एक सय ५३ यात्रुले मात्र अन्तर्राष्ट्रिय उडान सेवा लिएका थिए ।
भारतले पनि मागेको छ हवाई सुविधा
नेपालले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने हवाई मार्ग उपलब्ध गराउन भारतसँग लामो समयदेखि माग गर्दै आएको थियो । यसमध्ये भैरहवा मार्ग तुलनात्मक रूपमा छोटो र व्यावसायिक दृष्टिले उपयोगी मानिँदै आएको छ ।
भारतले यसअघि सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी विषय देखाउँदै थप प्रवेशमार्ग उपलब्ध गराउन आनाकानी गर्दै आएको थियो । विशेषगरी गोरखपुरस्थित भारतीय सैन्य हवाई संरचनासँग सम्बन्धित सुरक्षा चासो पनि यस विषयमा उठ्ने गरेको थियो ।
यसपटकको सहमतिमा भारतले पनि आफ्नो बागडोग्रा विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्ने विषय उठाएको बताइएको छ । यद्यपि, बागडोग्रासम्बन्धी प्रस्तावको अन्तिम स्वरूप र कार्यान्वयन प्रक्रिया प्राविधिक परामर्शबाट टुंगिन बाँकी छ ।