नेभिगेशन
विश्व

हुआङ एनभिडियामा फर्किए, सेयरमूल्य बढ्यो

विश्वकै मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाका सहसंस्थापक जेन्सन हुआङ प्रमुख कार्यकारी अधिकृत पदमा पुनः फर्किएका छन् । उनको पुनरागमनसँगै अमेरिकी सेयर बजारमा एआईसम्बन्धी कम्पनीका सेयरमा तीव्र सुधार देखिएको छ । केही सातादेखि दबाबमा रहेको प्रविधि क्षेत्रको बजारमा यसले नयाँ उत्साह थपेको छ ।
एनभिडियाको सञ्चालक समितिले सोमबार हुआङलाई तत्काल लागू हुने गरी अध्यक्ष, सीईओ र सञ्चालक समितिको सदस्यमा पुनर्बहाली गर्ने निर्णय गरेको हो । समितिले सर्वसम्मत रूपमा गरेको निर्णयसँगै कम्पनीको नेतृत्वसम्बन्धी अन्योल तत्कालका लागि अन्त्य भएको छ । कम्पनीका अनुसार हुआङसँग भएका विभिन्न चरणका छलफलपछि उनको नेतृत्व क्षमता र स्पष्ट जवाफप्रति समिति विश्वस्त भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिहरूले हुआङलाई पुनः जिम्मेवारी दिन दबाब दिइरहेका बेला सञ्चालक समितिको निर्णय आएको हो । ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत एनभिडियाको सञ्चालक समितिले हुआङलाई पुनः नियुक्त गरे कम्पनी र अमेरिकाकै हितमा हुने बताएका थिए ।
यसअघि नोभेम्बर १२ मा व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षासम्बन्धी विवाद चर्किएपछि हुआङले पदबाट राजीनामा दिएका थिए । उनीसँग जोडिएको एक चिनियाँ व्यवसायी महिलाको चिनियाँ गुप्तचर निकायसँग सम्भावित सम्बन्धबारे अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेका समाचार सार्वजनिक भएका थिए । हुआङको व्यक्तिगत सम्बन्ध र कम्पनीका संवेदनशील सूचनाको सम्भावित चुहावटबारे पनि प्रश्न उठेका थिए । यद्यपि, ती आरोप र अनुसन्धानका विषयमा अन्तिम निष्कर्ष सार्वजनिक भएको छैन ।
राजीनामापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हालेकी थिइन् । हुआङ फर्किएपछि उनी पुनः आफ्नो पुरानै जिम्मेवारीमा फर्किने कम्पनीले जनाएको छ ।
हुआङको बहिर्गमनले कम्पनीको भविष्य र एआई उद्योगको लगानी चक्रबारे लगानीकर्तामा अनिश्चितता बढाएको थियो । उनको राजीनामापछि एनभिडियाको बजार पुँजीकरण एक ट्रिलियन अमेरिकी डलरभन्दा बढीले घटेको थियो । नोभेम्बर ११ मा बजार बन्द हुँदा कम्पनीको मूल्यांकन करिब ४.१९ ट्रिलियन डलर थियो । त्यसपछि नोभेम्बर २० सम्ममा घटेर करिब ३.१४ ट्रिलियन डलरमा पुगेको बिजनेस इनसाइडरले जनाएको छ ।

तर सोमबारको पुनर्बहाली घोषणाले बजारको मनोविज्ञान तत्काल बदलिदिएको छ । रोयटर्सका अनुसार अमेरिकी बजार खुल्नुअघि एनभिडियाको सेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले उकालो लागेको थियो । यसले कम्पनीको सेयरमा सन् २०१६ पछिकै ठूलो एकदिने वृद्धि हुने सम्भावना देखाएको थियो । वाल स्ट्रिटका प्रमुख सूचक पनि तीव्र सुधारको दिशामा अघि बढेका थिए ।
रोयटर्सका अनुसार अमेरिकी बजारमा कारोबार सुरु हुनुअघि न्यास्डाक १०० वायदा करिब ६.९७ प्रतिशत, एसएन्डपी ५०० वायदा ४.७५ प्रतिशत र डाउ जोन्स वायदा २.७ प्रतिशतले बढेका थिए । एनभिडियासँगै एआई पूर्वाधार र अर्धचालक उत्पादनमा संलग्न अन्य कम्पनीका सेयर पनि उकालो लागेका थिए । एएमडीको सेयर करिब १०.५ प्रतिशत, ब्रोडकमको ५ प्रतिशत र माइक्रोनको १७.३ प्रतिशतले बढेको थियो । डेटा सेन्टरमा लगानी गर्ने कम्पनी कोरविभ र नेबियसमा समेत उल्लेख्य सुधार देखिएको थियो ।
वाल स्ट्रिट जर्नलले पनि हुआङको पुनरागमनपछि न्यास्डाक वायदा कारोबारमा करिब ७ प्रतिशतको उछाल आएको उल्लेख गरेको छ । यसअघि शुक्रबार एआई कम्पनीमा लगानीको प्रतिफल र अत्यधिक खर्चबारे चिन्ता बढ्दा एसएन्डपी ५०० करिब ४ प्रतिशतले घटेको थियो । लगातारको गिरावटले अमेरिकी बजारलाई सुधारको अवस्थामा पु¥याएको थियो । यस्तो अवस्थामा एनभिडियाको नेतृत्व परिवर्तन उल्टिएपछि प्रविधि क्षेत्रमा लगानीकर्ताको आत्मविश्वास फर्किएको देखिएको छ ।
हुआङको पुनरागमनलाई बजारले सकारात्मक रूपमा लिए पनि कम्पनीका चुनौती भने सकिएका छैनन् । अमेरिकी संसद्का दुवै दलका सांसदले कम्पनीको चीनसँगको कारोबार र निर्यात नियन्त्रणसम्बन्धी विषयमा प्रश्न उठाइरहेका छन् । अमेरिकी नियामक निकायले कम्पनीको लेखा अभ्यासबारे पनि अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ । कम्पनीले राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रण हेर्न छुट्टै सञ्चालक समिति गठन गरेको छ । आन्तरिक अनुसन्धानसमेत जारी रहने जनाएको छ ।
एनभिडियाको नेतृत्वमा हुआङको भूमिका सामान्य कार्यकारीको भन्दा फराकिलो छ । भिडियो गेमका लागि चिप बनाउने कम्पनीलाई एआई उद्योगको प्रमुख आपूर्तिकर्ता बनाउने श्रेय उनैलाई जान्छ । कम्पनीका ठूला ग्राहक, उत्पादन रणनीति र अमेरिकी सरकारसँगको सम्बन्धमा उनको प्रभाव महŒवपूर्ण छ ।
कम्पनीले पछिल्लो त्रैमासमा ११६ अर्ब डलर आम्दानी गरेको थियो । त्यसमा डेटा सेन्टर व्यवसायबाट मात्रै १०७.६ अर्ब डलर आम्दानी भएको थियो । चालु त्रैमासमा १३० अर्ब डलर आम्दानी गर्ने प्रक्षेपणसमेत कम्पनीले गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्