नेभिगेशन
विश्व

शक्ति राष्ट्रहरूको महाभेलामा ट्रम्पलाई सीको विशेष स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा राष्ट्रपति सी चिनफिङ आफैं विमानस्थलमा स्वागत गर्न पुगे । रातो कार्पेट, सैनिक सम्मान, राष्ट्रिय धुन र लडाकु विमानको प्रदर्शनसहित गरिएको स्वागतले विश्वको ध्यान चीनतर्फ खिचेको छ । दुई नेताबीच हात मिलाउने र अँगालो मार्ने दृश्य सामान्य कूटनीतिक शिष्टाचारभन्दा निकै अर्थपूर्ण देखिएको छ । किनकि यो भेट विश्वका तीन शक्तिशाली राष्ट्रका प्रमुख एकै ठाउँमा भेला हुन लागेको समयमा भएको छ ।
चीनको दक्षिणी सहर सेन्जेनमा बुधबार सुरु भएको ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी छन् । बिहीबार यी तीन नेताबीच पहिलोपटक त्रिपक्षीय भेटवार्ता हुँदैछ । विश्वका तीन प्रमुख आणविक शक्ति राष्ट्रका नेताबीच हुन लागेको यो भेटलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विशेष महŒव दिएका छन् ।
सीले ट्रम्पलाई व्यक्तिगत रूपमा विमानस्थलमै पुगेर स्वागत गर्नु पनि प्रतीकात्मक छ । यसअघि गत सेप्टेम्बरमा अमेरिका भ्रमणमा पुगेका सीलाई ट्रम्पले वासिङ्टनमा विमानस्थलमै पुगेर स्वागत गरेका थिए । चीनले यसपटक त्यसैको प्रत्युत्तर दिएको हो । चीनको विदेश मन्त्रालयका अनुसार दुई नेताबीच चीन–अमेरिका सम्बन्ध, एसिया प्रशान्त क्षेत्रको सहकार्य र विश्व परिस्थितिबारे गहन छलफल हुनेछ । 
एपेक सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २१ सदस्य अर्थतन्त्रका नेता तथा प्रतिनिधि सहभागी छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउम, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ, जापानकी प्रधानमन्त्री साने ताकाइची, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज, न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर, सिंगापुरका प्रधानमन्त्री लरेन्स वङ र पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेलगायत सहभागी छन् । रुस र चीन पनि यसका सदस्य हुन् ।
सम्मेलनको मुख्य उद्देश्य क्षेत्रीय व्यापार, लगानी, आर्थिक सहकार्य र प्रविधिको विकास हो । यस वर्षको नारा ‘समृद्धिका लागि एसिया प्रशान्त समुदाय निर्माण’ रहेको छ । चीनले सन् २०१४ पछि पहिलोपटक आयोजना गरेको यो सम्मेलनमा दुई हजारभन्दा बढी व्यावसायिक प्रतिनिधि पनि सहभागी छन् । सम्मेलनअन्तर्गत आयोजित प्रमुख कार्यकारी अधिकृतहरूको बैठकमा विश्वका ठूला कम्पनीका प्रतिनिधि सहभागी भएका छन् । 

तर यसपटकको सम्मेलनको आकर्षण आर्थिक सहकार्यभन्दा बढी तीन शक्ति राष्ट्रका नेताबीच हुन लागेको भेटवार्ता बनेको छ । ट्रम्प, सी र पुटिनबीच बिहीबार हुने बैठकमा आणविक हतियार नियन्त्रण, इरानसँगको युद्ध, युक्रेन द्वन्द्व, अन्तर्राष्ट्रिय सुरक्षा र विश्व शक्तिबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वमा आणविक हतियारको विस्तार रोक्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् । अमेरिकाले चीन र रुस दुवैसँग आणविक हतियार नियन्त्रणबारे संवाद गर्न चाहेको छ । तर चीनले यसअघि आफू र अमेरिका तथा रुसबीच आणविक हतियारको संख्यामा ठूलो असमानता रहेको भन्दै यस्तो वार्ताप्रति अनिच्छा देखाउँदै आएको छ । अमेरिकी अधिकारीहरूले पनि यस भेटबाट तत्काल कुनै ठोस सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् । 
पुटिनका लागि भने यो सम्मेलन पश्चिमा मुलुकको प्रतिबन्ध र कूटनीतिक दबाबबीच रुसको अन्तर्राष्ट्रिय प्रभाव देखाउने अवसर हो । उनले सम्मेलनमा पश्चिमा प्रतिबन्ध, व्यापार अवरोध र निर्यात नियन्त्रणको आलोचना गरेका छन् । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा आफ्नो पक्षलाई बलियो बनाउने उनको रणनीति हुन सक्छ । तर क्रेमलिनका अनुसार ट्रम्प र पुटिनबीच छुट्टै भेटवार्ता पनि हुनेछ । त्यसमा दुवै पक्षका प्रतिनिधि सहभागी हुनेछन् । पूर्णस्तरको द्विपक्षीय वार्ताको भने योजना छैन । 
यस जमघटको रणनीतिक महŒव चीनका लागि अझ ठूलो छ । अमेरिकासँग व्यापार र प्रविधिको प्रतिस्पर्धा गरिरहेको चीन आफूलाई विश्व अर्थतन्त्र र कूटनीतिको केन्द्रका रूपमा स्थापित गर्न चाहन्छ । राष्ट्रपति सीले सम्मेलनमा खुला व्यापार, आर्थिक सहकार्य र संरक्षणवादी नीतिको विरोधमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिसँग सीको यो सन्देश सीधै विपरीत देखिन्छ ।
अमेरिका र चीनबीच व्यापार शुल्क, अर्धचालक चिप, एआइ, दुर्लभ खनिज र ताइवानको सुरक्षालाई लिएर मतभेद कायमै छन् । चीनले आफ्नो प्रविधि र उत्पादन क्षमता विस्तार गरिरहेको छ भने अमेरिकाले चिनियाँ प्रविधिको पहुँच सीमित गर्ने नीति लिएको छ । त्यसैले ट्रम्प र सीबीचको भेट व्यापार युद्धलाई मत्थर पार्ने अवसर पनि हुन सक्छ । तर दुवै देशबीचको प्रतिस्पर्धा अन्त्य हुने अवस्था देखिँदैन । 
यो सम्मेलनलाई केही विश्लेषकले सन् १९४५ को याल्टा सम्मेलनसँग समेत तुलना गरेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिका, बेलायत र सोभियत संघका नेताले विश्व व्यवस्थाबारे छलफल गरेका थिए । अहिले अमेरिका, चीन र रुसका नेताबीच हुन लागेको भेटलाई पनि विश्व शक्तिको नयाँ समीकरणसँग जोडेर हेरिएको छ । यद्यपि, यसपटकको बैठकबाट याल्टाजस्तै विश्व व्यवस्थाको नयाँ बाँडफाँट हुने अपेक्षा गर्नु हतार हुनेछ । तीनै देशका स्वार्थ र प्राथमिकता फरक छन् । यो जमघटले एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रतिस्पर्धालाई पनि उजागर गरेको छ । विशेषगरी अमेरिका र चीनबीचको प्रतिस्पर्धामा एसियाली मुलुकहरू आर्थिक तथा सुरक्षा स्वार्थ सन्तुलन गर्नुपर्ने अवस्थामा छन् । क्यानडाका प्रधानमन्त्री कार्नीले पनि अमेरिकामाथिको आर्थिक निर्भरता घटाउन चीनसँग व्यापारिक सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । यस अर्थमा सेन्जेनको सम्मेलन केवल आर्थिक सहकार्यको मञ्च होइन । विश्वका प्रमुख शक्ति राष्ट्रले एकअर्कासँगको प्रतिस्पर्धा, सहकार्य र प्रभाव विस्तारको रणनीति परीक्षण गर्ने थलो पनि हो । ट्रम्प, सी र पुटिनबीचको भेटले तत्काल विश्वका समस्या समाधान नगरे पनि आगामी दिनमा अन्तर्राष्ट्रिय सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्ने संकेत दिन सक्छ । (एजेन्सी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्