नेभिगेशन
विश्व

हसिनाको स्वदेश फर्कने प्रयासले बढायो तनाव

निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको प्रयासले बंगलादेशमा राजनीतिक तनाव चर्किएको छ । उनको पार्टी अवामी लिगले देशव्यापी आन्दोलन चर्काएपछि बिहीबार देशका विभिन्न क्षेत्रमा हिंसा, आगजनी र सडक अवरोधका घटना भएका छन् । यसले प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारमाथि सुरक्षा चुनौती थपेको छ ।
हसिनाको स्वदेश फिर्ती, अवामी लिगमाथिको प्रतिबन्ध, सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र विपक्षी शक्तिबीचको प्रतिस्पर्धा तथा भारतसँगको सम्बन्ध अहिलेको अशान्तिका प्रमुख कारण बनेका छन् । रोयटर्सको समाचार अनुसार बिहीबार अवामी लिगका समर्थकले आह्वान गरेको देशव्यापी बन्दका क्रममा दुई सत्तारूढ दलका कार्यकर्ता मारिएका छन् । विभिन्न स्थानमा बजार, सांसदका घर र सवारीसाधनमा आक्रमण तथा आगजनी भएका छन् । ६ जिल्लामा बम विस्फोट र रेलमार्गमा क्षति पुगेको प्रहरीले जनाएको छ । राजधानी ढाकामा मात्रै अवामी लिगसँग सम्बन्धित भएको आशंकामा १०७ जना पक्राउ परेका छन् । सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै सीमा सुरक्षा बलका ९७ प्लाटुन परिचालन गरिएको छ ।
नोबेल शान्ति पुरस्कार विजेता तथा पूर्वअन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको चटगाउँस्थित पैतृक घरमा समेत आगजनी भएको छ । प्रहरीका अनुसार बुधबार मध्यरातअघि घरको भुइँतलाको एउटा कोठामा आगो लागेको थियो । घटनाको अनुसन्धान भइरहेको एपीको समाचारमा छ । तर अशान्ति राजनीतिक विवादमा मात्र सीमित छैन । न्यून ज्याला र श्रमिक अधिकारको माग गर्दै गार्मेन्ट उद्योगका मजदुरले पनि प्रदर्शन गरिरहेका छन् । उनीहरूले राजधानी प्रवेश गर्ने प्रमुख राजमार्ग अवरुद्ध गरेपछि केही उद्योग बन्द भएका छन् । बंगलादेशको अर्थतन्त्रको महŒवपूर्ण आधार रहेको तयारी पोसाक उद्योगमा देखिएको असन्तुष्टिले सरकारलाई थप दबाबमा पारेको छ ।
बंगलादेशको पछिल्लो संकटको केन्द्रमा हसिनाको स्वदेश फिर्ती छ । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन चर्किएपछि १५ वर्ष शासन गरेकी हसिना देश छाडेर भारत पुगेकी थिइन् । त्यसपछि नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । गत फेब्रुअरीमा भएको निर्वाचनपछि बीएनपीका नेता तारिक रहमान प्रधानमन्त्री बनेका हुन् ।

युनुस नेतृत्वको सरकारले अवामी लिगको राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । सन् २०२४ को आन्दोलनका क्रममा प्रदर्शनकारीको हत्यामा जिम्मेवार ठहर गर्दै बंगलादेशको अदालतले हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ । यसले उनको स्वदेश फिर्तीलाई थप जटिल बनाएको छ । एपीका अनुसार हसिनाले भने आफूमाथिको सजाय र राजनीतिक परिस्थितिका बाबजुद डिसेम्बरमा फर्किने घोषणा गरेकी छन् ।
हसिनाले भारतस्थित बंगलादेशी कूटनीतिक नियोगमार्फत नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र मागेकी छन् । तर, बीएनपी सरकारले त्यसलाई अस्वीकार गर्दै भारतसँगको सुपुर्दगी सन्धिअनुसार उनलाई फिर्ता ल्याउनुपर्ने अडान राखेको छ । ढाका ट्रिब्युनले नोभेम्बर ९ मा यसबारे समाचार प्रकाशित गरेको थियो । सरकारले राहदानी दिएर सामान्य यात्रुका रूपमा फर्कने बाटो खोल्न चाहेको छैन ।
हसिना भारतमा रहेकाले उनको फिर्तीमा नयाँदिल्लीको भूमिका महŒवपूर्ण छ । बीबीसी बंगलाले नोभेम्बर १३ मा प्रकाशित गरेको समाचारमा भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै सुपुर्दगीका लागि दुई सर्तको संकेत गरेको थियो । पहिलो, उनलाई बंगलादेशी सेनाको विमानबाट लैजानुपर्ने वा सीमामा बुझ्नुपर्ने । दोस्रो, मृत्युदण्डविरुद्ध पुनरावेदन र निष्पक्ष पुनः सुनुवाइको सुनिश्चितता हुनुपर्ने भनिएको थियो । तर, बंगलादेशका विदेश राज्यमन्त्री शामा ओबेद इस्लामले भारतले औपचारिक रूपमा कुनै सर्त नराखेको र यस विषयमा छलफलसमेत नभएको बताएका छन् । प्रधानमन्त्रीका सूचना सल्लाहकार जाहेद उर रहमानले पनि कुनै देशले बंगलादेशलाई सर्त थोपर्न नसक्ने बताएका छन् । 
त्यसैले हसिना कहिले फर्कन्छिन् भन्ने दिन निश्चित छैन । भारतले सुपुर्दगी स्वीकार नगरे र बंगलादेशले राहदानी नदिए उनको फिर्ती कठिन हुनेछ । मृत्युदण्डको फैसला पुनरावलोकन र राजनीतिक सुरक्षाको प्रश्न पनि उत्तिकै महŒवपूर्ण छन् । अर्कोतर्फ, भारतसँगको गंगा जल बाँडफाँट सम्झौता नवीकरण, व्यापार तथा क्षेत्रीय परियोजनाका विषयले पनि दुई देशबीच अविश्वास बढाइरहेको इन्डिया टुडेले उल्लेख गरेको छ । हसिनाको मुद्दा अब बंगलादेशको आन्तरिक राजनीतिक विवादमा मात्र सीमित छैन । यो भारत–बंगलादेश सम्बन्ध र क्षेत्रीय कूटनीतिको पनि महŒवपूर्ण विषय बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्