नेभिगेशन
खेलकुद

क्रिकेटर ढकाललाई सम्मानको ओइरो

चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । उनलाई विभिन्न सङ्घसंस्थाले सम्मान गरेको हो । 
    आइतबार हेटौँडा आएदेखि मङ्गलबारसम्म ढकाललाई विभिन्न सङ्घसंस्थाले सम्मान गर्दैआएका छन् । देव्रे हाते तीव्र गतिका बलर ढकाललाई हेटौँडा उपमहानगरपालिकाले एक लाख रूपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । उनी हेटौँडा उपमहानगरपालिका–२ का बासिन्दा हुन् । 
यस्तै ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसले पनि एक लाख रूपैयाँसहित सम्मान गरेको छ । उनलाई बालजागृती इङ्लिस स्कुलले २५ हजारसहित सम्मान गरेको छ । हेटौँडा–४ हुप्रचौरमा रहेको डिडिसी आउटलेटले पनि सम्मान गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ नम्बर वडा कार्यालय, हेटौँडा २ पुरानो मकवानपुर रोडमा रहेको निको अस्पताल प्रालिले पनि रिजनलाई सम्मान गरेको छ । 
यस्तै २ नम्बर वडा कार्यालले ढकाललाई रु ३५ हजार र अस्पतालले नगदसहित सम्मानपत्र प्रदान गरेको हो । साथै, अस्पतालले उनको परिवारका सदस्यको एक वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा समेत गरेको छ । गृह जिल्लाका विभिन्न सङ्घसंस्थाले सम्मान गर्दा आफूलाई थप हौसला मिलेको ढकालले बताए । 
    “गृह जिल्लामा यति धेरै माया पाउँदा निकै खुसी छु । आगामी दिनमा निरन्तर क्रिकेट खेलमै लाग्न हौसला पाएको छु,” उनले भने । ढकालले एनपिएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बनेका थिए । सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जितेका उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्