नेभिगेशन
अर्थतन्त्र

गौतम होलिडेजको ब्रान्ड एम्बेसडरमा कमेडियन भरतमणि पौडेल नियुक्त

काठमाडौं । नेपालको प्रतिष्ठित पर्यटन तथा ट्राभल व्यवस्थापन कम्पनी गौतम होलिडेज प्रा.लि.ले चर्चित हास्यकलाकार तथा 'कमेडी च्याम्पियन सिजन २' का विजेता भरतमणि पौडेललाई आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कम्पनीले पौडेलसँग यो व्यावसायिक सहकार्य गरेको हो । कम्पनीले मङ्सिर २ गतेदेखि लागू हुने गरी पौडेललाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

कम्पनीको प्रचारप्रसार, ब्रान्ड पहिचान तथा व्यावसायिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले पौडेललाई ब्रान्ड एम्बेसडरको जिम्मेवारी दिइएको गौतम होलिडेजले जनाएको छ ।

नियुक्तिसँगै पौडेल आगामी एक वर्षसम्म कम्पनीका विभिन्न प्रचारात्मक तथा प्रवर्द्धनात्मक गतिविधिमा सहभागी हुनेछन् । पर्यटन, यात्रा तथा स्वदेश तथा विदेश भ्रमणसम्बन्धी सेवा प्रदान गर्दै आएको गौतम होलिडेज विगत १५ वर्षदेखि यस क्षेत्रमा सक्रिय रहँदै आएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक उत्तम गौतमले मास्टर भरतमणि पौडेलसँगको सहकार्यले संस्थाको ब्रान्ड पहिचान स्थापित गर्न, बजार विस्तार गर्न तथा व्यावसायिक प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्