काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको जनकपुरधाम–अयोध्या रेल जनकपुर आइपुगेको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सोमबार दुवै प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट स्वीच थिचेर ६०४ किलोमिटर लामो रेल सेवाको शुभारम्भ गरेका थिए ।
अयोध्यास्थित भगवान् रामको जन्मभूमि र जनकपुरधामस्थित माता सीताको जन्मभूमिलाई जोड्ने रेल सेवाको नाम ‘सरयू–कमला एक्सप्रेस’ राखिएको छ । उदघाटनपछि अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान जनकपुरधाम रेल्वे स्टेसन आइपुगेको हो ।
१७ डिब्बासहितको रेलमा करिब १ हजार १०० यात्रु, भारतीय अधिकारी, साधुसन्त, राजनीतिक तथा कूटनीतिक प्रतिनिधि र रेल्वेसम्बद्ध पदाधिकारी जनकपुर आएका थिए । रेलको आगमनसँगै जनकपुरधाम रेल्वे स्टेसनमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासलगायत सरकारी अधिकारी तथा स्थानीयवासी स्वागतका लागि उपस्थित थिए । यात्रुहरूलाई फूलमाला लगाएर स्वागत गरिएको थियो भने बटुकहरूले स्वस्तिवाचन गरेका थिए । स्टेशन परिसरमा सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
रेलमा आएका पाहुनालाई निःशुल्क पानी, नास्ता, भोजन, स्वास्थ्य परीक्षण तथा मन्दिर दर्शनको व्यवस्था गरिएको थियो । यात्रुहरूले जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिर दर्शन गरी सोही दिन फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
मंसिर १३ देखि नियमित व्यावसायिक सेवा
उदघाटनका लागि सञ्चालन गरिएको विशेष रेलपछि आगामी नोभेम्बर २८ अर्थात् मंसिर १३ देखि नियमित यात्रुवाहक सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । रेल सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ । जनकपुरधामबाट शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्ने तालिका तय गरिएको छ ।
रेल नम्बर १५५९५ जनकपुरधामबाट प्रत्येक शनिबार नेपाली समयअनुसार दिउँसो १ः१० बजे अयोध्याका लागि प्रस्थान गर्ने र आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्ने तालिका छ । त्यस्तै, रेल नम्बर १५५९६ अयोध्या क्यान्टबाट प्रत्येक सोमबार भारतीय समयअनुसार साँझ ५ः५० बजे जनकपुरधामका लागि छुट्ने र मंगलबार दिउँसो १२ः४० बजे जनकपुर आइपुग्ने व्यवस्था गरिएको छ ।
करिब ६०४ किलोमिटर दूरी पार गर्न रेललाई झन्डै १९ घण्टा लाग्नेछ । बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुने रेलले जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुरलगायतका स्टेसनमा यात्रु चढाउने तथा ओराल्नेछ ।
१७ डिब्बामा विभिन्न श्रेणीका सुविधा
सरयू–कमला एक्सप्रेस १७ डिब्बायुक्त एलएचबी रेलबाट सञ्चालन हुनेछ । रेलमा वातानुकूलित र सुत्न मिल्ने दुवै प्रकारका यात्रु कोच रहनेछन् । उपलब्ध विवरणअनुसार रेलमा आठ एसी कोच, सात स्लिपर कोच, एक सामान तथा अपांगमैत्री सुविधा भएको कोच र एक पावर कार रहनेछन् ।
रेलमा एसी टु टियर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी तथा स्लिपर श्रेणीका सुविधा उपलब्ध हुने जनाइएको छ । तर नियमित सेवाका लागि टिकट बुकिङ, विभिन्न श्रेणीको भाडादर र यात्रु सुविधासम्बन्धी अन्तिम विवरण सार्वजनिक हुन बाँकी छ । भारतीय रेलको टिकट बुकिङ प्रणालीमार्फत भाडा तथा आरक्षण विवरण उपलब्ध गराइने अपेक्षा गरिएको छ ।
धार्मिक पर्यटन र सीमापार सम्बन्धमा नयाँ आयाम
जनकपुरधाम र अयोध्यालाई सिधा रेल सेवाले जोडिएपछि नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ अवसर खुल्ने अपेक्षा गरिएको छ । रामायण परम्परासँग जोडिएका दुवै सहर धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य हुन् ।
यसले भारतका विभिन्न राज्यबाट जनकपुर आउने पर्यटक तथा नेपालबाट अयोध्या जाने तीर्थयात्रीको आवागमन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रेल सेवा विस्तारले जनकपुरधामसहित सीमावर्ती क्षेत्रको होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा हस्तकलामा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा पनि गरिएको छ । पर्यटकको आवागमन बढे स्थानीय उत्पादन, मिथिला चित्रकला, धार्मिक सामग्री र अन्य परम्परागत वस्तुको बजार विस्तार हुन सक्नेछ ।
नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई रेल सम्पर्कले थप मजबुत बनाउने विश्वास दुवै देशका अधिकारीहरूले व्यक्त गरेका छन् । जनकपुर–अयोध्या रेल सेवा दुई धार्मिक नगरीलाई जोड्ने यातायात सुविधा मात्र नभई सीमापार पर्यटन र जनस्तरको सम्बन्ध विस्तार गर्ने नयाँ माध्यमका रूपमा समेत हेरिएको छ ।
नियमित सेवा सुरु भएपछि यात्रुको चाप, सञ्चालन व्यवस्थापन, सीमापार जाँच प्रक्रिया र सेवा प्रभावकारिताले यसको दीर्घकालीन सफलता निर्धारण गर्नेछ ।