नेभिगेशन
अर्थतन्त्र

सामाजिक सद्भाव कायम राख्न महासंघ र परिसंघको आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज लगायत पूर्वी नेपाल तथा तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले गम्भीर चासो व्यक्त गर्दै सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राखी सबै पक्षसँग संयमता अपनाउन अपिल गरेका छन् । दुवै संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक सहअस्तित्व र सहिष्णुताको अनुपम उदाहरण रहँदै आएकाले त्यसलाई कायम राख्न भनेका हुन् ।
महासंघ र परिसंघले कुनै पनि बहानामा हुने हिंसा, झडप, मुठभेड वा अशान्तिले कसैको हित नगर्ने भन्दै सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकतालाई कमजोर पार्ने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । दुवै संस्थाले पछिल्ला घटनाक्रमले मुलुकको सामाजिक सद्भावसँगै आर्थिक गतिविधिमा समेत नकारात्मक असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ । दुवै संस्थाले कुनै पनि मतभेद, असन्तुष्टि वा विवादको समाधान हिंसा, आन्दोलन वा मुठभेडबाट नभई वार्ता, संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने बताएका छन् । आन्दोलनका क्रममा जनधनको क्षति हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार तथा पसल बन्द गराउने र लुटपाटका घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न समेत आग्रह गरेका छन् ।
मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक गतिविधिलाई गति दिन आवश्यक रहेको बेला यस्ता घटनाले उद्योग, व्यापार, पर्यटन तथा समग्र अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पार्ने विज्ञप्तीमा भनिएको छ । सामाजिक शान्ति र सद्भाव नै आर्थिक विकास तथा समृद्धिको आधार भएकाले त्यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको विज्ञप्तीमा उल्लेख छ ।
दुवै संस्थाले प्रभावित क्षेत्रमा आम नागरिक तथा उद्योग–व्यवसायको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन नेपाल सरकार, स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग माग गरेका छन् । साथै भ्रम, अफवाह र उत्तेजनाबाट प्रभावित नहुन, संयमता अपनाउन तथा परम्परादेखि कायम रहेको सामाजिक, धार्मिक र साम्प्रदायिक सहिष्णुतालाई थप सुदृढ बनाउन सबैमा अपिल गरेका छन् ।
उद्योग परिसंघले देशभरका आफ्ना प्रदेश तथा जिल्ला संघहरू तथा निजी क्षेत्रका अन्य संस्थालाई सामाजिक सद्भाव कायम राख्न सद्भाव ¥याली लगायत शान्ति प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । महासंघले भने वर्तमान तनावपूर्ण अवस्थाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय नेतृत्वले सकारात्मक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्