नेभिगेशन
अर्थतन्त्र

वर्ल्डलिंकले ति-यो विद्युत् प्राधिकरणको पोल भाडाको बक्यौता

काठमाडौं । इन्टरनेट सेवा प्रयायक वल्र्डलिंकले नेपाल विद्युत् प्राधिकरणको विद्युतीय पोल प्रयोग गरेबापतको भाडाको बक्यौता रकम बुझाएको छ । वल्र्डलिंकले प्राधिकरणको पटक पटकको ताकेतापछि लामो समयदेखि रोकिएकोे वितरण लाइनको विद्युतीय पोल भाडाबापतको बक्यौता रकम बुझाएको हो । 
वल्र्डलिंकले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतको बागमती प्रदेश डिभिजनल कार्यालयमा पोल भाडाको बक्यौता भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । वल्र्डलिंकले आर्थिक वर्ष २०८२÷८३ को स्वःघोषणाको आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टी पश्चात् भुक्तानी गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्सको प्रमाणीकरणका आधारमा हिसाब मिलान गरी यसअघि भएको दोहोरो भुक्तानीसमेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरेको जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुनअनुसार तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताए । उनले  वल्र्डलिंकबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआत भएको उल्लेख गर्दै अन्य सेवा प्रदायकहरूले पनि कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्याको समाधान कानुनको सीमाभित्र रहेर गरिने बताए । साथै, कानुन कार्यान्वयनलाई अनावश्यक रूपमा राजनीतिक रंग दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै सबैका लागि समान रूपमा कानुन कार्यान्वयन हुने सरकारको नीति रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्