नेभिगेशन
अर्थतन्त्र

थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप ४ वटा स्थानीय तहमा सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो । त्यसपछि हालसम्म शिवसताक्षी नगरपालिका, चौदण्डीगढी नगरपालिका, भुम्लु नगरपालिका, रोशी गाउँपालिका, मेलम्ची नगरपालिका, भगवतिमाइ  गाउँपालिका, राप्ति सोनारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, कालिका नगरपालिका, ग्रामथन गाउँपालिका र इश्वरपुर नगरपालिका, वैतेश्वर नगरपालिका गरी १४ स्थानीय तहबाट स्थानीय स्तरमै जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह हुन थालेको छ ।
मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने योजनाअन्तर्गत उक्त सेवा सञ्चालनमा ल्याएको हो । मन्त्रालयका अनुसार देशभरका इच्छुक पालिकामा चरणबद्ध रूपमा नापी तथा मालपोत सेवा हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत सेवा विस्तार भइरहेको छ । यसअघि मन्त्रालयको आह्वानमा २०७ वटा स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालन गर्न इच्छुक रहेको जानकारी गराएका थिए ।
स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि नागरिकले जग्गा प्रशासनसम्बन्धी कामका लागि जिल्ला सदरमुकामस्थित मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट घट्नुका साथै सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयको छ ।

मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा कर्मचारी तालिमको व्यवस्था गर्दै आगामी दिनमा अन्य स्थानीय तहमा समेत नापी तथा मालपोत सेवा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्