नेभिगेशन
अर्थतन्त्र

पेट्रोल, डिजेल र हवाई इन्धन महँगियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ बढाएको छ । यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रति लिटर २ सय रुपैयाँ पुगेको छ ।
डिजेल र मट्टितेलमा भने प्रति लिटर ५ रुपैयाँ बढाएको छ । नयाँ मूल्य सूचीअनुसार तेस्रो वर्गका क्षेत्रहरूमा अब डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ सय रुपैयाँ कायम भएको छ ।
हवाई इन्धनमा आन्तरिकतर्फ  प्रति लिटर २० रुपैयाँ बढाएको छ ।  हवाई इन्धनको नयाँ मूल्य २४९ रुपैयाँ कायम भएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि गरिएको छ ।
खाना पकाउने ग्यास (एलपी ग्यास) प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ नै यथावत राखिएको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएकाले ती वस्तुको मूल्य वृद्धि गरे तापनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो ।
इन्डियन आयल कर्पोरेसनबाट साउन १५मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर  २० रुपैयाँ १९ पैसा र डिजेलमा ३९ रुपैयाँ ६७ पैसा बढेर आएकाले मूल्य समायोजन गर्नु परेको निगमले स्पष्ट पारेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको आकस्मिक र निरन्तर वृद्धिका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निगमले सम्पूर्ण उपभोक्ताहरूलाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन समेत अपिल गरेको छ । 
यसरी मूल्य वृद्धि गर्दा पनि निगमलाई मासिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने दाबी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्