सेउटा (स्पेन) । उत्तरी मोरक्कोका २१ वर्षीय अब्दुलाह बुजीले स्पेन पुगेर नयाँ जीवन सुरु गर्ने सपना लामो समयदेखि देख्दै आएका थिए । स्पेनको उत्तर अफ्रिकास्थित सानो भूभाग सेउटाको सीमामा ठूलो संख्यामा मानिस प्रवेश गरेको खबर सुन्नासाथ उनी मोटरसाइकल चढेर सीमा क्षेत्रतर्फ दौडिए । हजारौं मोरक्कोवासीसँगै समुद्र तरेर स्पेनी भूभागमा पुग्न सफल भए पनि त्यो सपना धेरै समय टिकेन ।
‘स्पेनमा भविष्य बनाउने अवसर छ, मोरक्कोमा छैन,’ शिक्षक बन्न अध्ययन गरिरहेका बुजीले भने, ‘मसँग क्षमता छ, मलाई केवल एउटा अवसर चाहिएको हो ।’
तर स्पेनी भूमिमा पाइला टेकेलगत्तै उनले वास्तविकता बुझे । मुख्य भूमि युरोप अझै भूमध्यसागरपारि थियो र नयाँ आएका आप्रवासीलाई स्पेनी अधिकारीहरू स्वीकार गर्न तयार थिएनन् । उनीहरूलाई तत्काल फर्किन वा निष्कासनको प्रक्रियामा जान निर्देशन दिइयो ।
बुजीका अनुसार सीमा क्षेत्रमा रहेको बार घुमेर पौडी खेल्दै सेउटा पुग्ने क्रममा ज्यान गुमाउने ५० भन्दा बढीमध्ये आफू पनि पर्न सक्ने अवस्था थियो । उनी कुनै प्रकारले पार तरे पनि आफ्ना सामान र पैसा सबै गुमाए । त्यसपछि कानुनी अन्योल र हिरासतको सम्भावना देखेपछि उनी स्वदेश फर्किने निर्णयमा पुगे ।
‘१४ वर्षभन्दा बढी पढेँ, तर घरमा कुनै अवसर छैन । १२ घण्टा काम गर्दा पनि अत्यन्तै कम तलब पाइन्छ,’ उनले भने, ‘त्यसैले यहाँ आएँ, तर यहाँ पनि अवसर भेटिनँ । अब फर्किनैपर्छ ।’
बिहीबारदेखि शुक्रबार बिहानसम्म करिब ६० हजार मानिस सेउटा प्रवेश गरेका थिए। तीमध्ये करिब ४५ हजार केही घण्टामै मोरक्को फर्किएका थिए । अधिकांशले रातभर सेउटाका सडकमा बिताएका थिए भने स्थानीय बासिन्दा, स्पेनी प्रहरी र सैनिकहरू ठूलो दबाबमा परेका थिए ।
यो संख्या सेउटाको कुल जनसंख्याको करिब ७० प्रतिशत बराबर भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउन प्रहरी र सेनाको परिचालन बढाएको थियो । सडकमा हजारौं युवा उद्देश्यविहीन रूपमा हिँडिरहेको दृश्यले स्थानीय बासिन्दामा त्रास फैलिएको थियो ।
सेउटाका बासिन्दाले सन् २०२१ को घटना पनि सम्झिएका छन्, जतिबेला मोरक्को सरकारले केही समय सीमा नियन्त्रण खुकुलो बनाएपछि केही हजार मोरक्को र सहारा मरुभूमिदक्षिणका अफ्रिकी नागरिक दुई दिनमै सेउटा प्रवेश गरेका थिए । तर यसपटकको मानवीय संकट त्यसबेलाभन्दा धेरै ठूलो बनेको स्थानीय अधिकारीहरूको भनाइ छ ।
सेउटा पुगेका मानिसहरूको भिडियो र समाचार सामाजिक सञ्जालमा फैलिनासाथ मोरक्कोका विभिन्न भागबाट थप मानिसहरू युरोपेली संघको भूभागमा पुग्ने आशामा उत्तरतर्फ लागेका थिए । राजधानी रबाट र सबैभन्दा ठूलो सहर कासाब्लांकाका रेल स्टेसनहरू सीमातर्फ जान खोज्ने मानिसहरूले भरिएका थिए । केही स्थानमा प्रहरीले उनीहरुलाई रेल र बस चढ्नै नदिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयको माइग्रेसन, नीति तथा समाज केन्द्रकी वरिष्ठ अनुसन्धानकर्ता मिरियम चेर्टीका अनुसार सीमामा ठूलो भीड किन जम्मा भयो भन्ने स्पष्ट नभए पनि केही दिनअघिदेखि सामाजिक सञ्जालमा मोरक्कोवासीलाई सेउटा प्रवेश गर्न प्रोत्साहित गर्ने सामग्री व्यापक रूपमा फैलिएको थियो । ती सामग्रीमा सीमा कसरी पार गर्ने र स्पेनमा बस्न पाउने सम्भावना बढाउन के भन्नुपर्ने भन्ने जानकारीसमेत समावेश थियो ।
चेर्टीका अनुसार उनले भेटेका धेरै आप्रवासीले सीमा पार गर्ने प्रयास कति पटक गरे भन्ने गणना नै गर्न छाडिसकेका छन् । उनीहरू निराशाका कारण, आफ्ना परिवारलाई सहयोग गर्ने जिम्मेवारीका कारण तथा आफ्नै देशमा जीवन बनाउन असफल भएपछि यस्तो जोखिम उठाउन बाध्य भएको उनले बताइन् । उनका अनुसार धेरैलाई स्पेन पुग्न सके मात्र आफ्नो र परिवारको भविष्य बदलिने विश्वास छ ।
३३ वर्षीय अहमद करिम पनि सेउटा पुग्न सफलमध्ये एक हुन् । उनी बेरोजगार छन् र मोरक्कोबाट बाहिर जान कठिन भएकाले धेरै मानिस युरोप वा अमेरिका जान चाहेको तर अवसर नपाएको बताउँछन् ।
यद्यपि सीमा पार गर्ने सबै मानिस बसोबासका लागि आएका थिएनन् । कतिपय भने बेपत्ता आफन्तको खोजीमा सेउटा पुगेका थिए । उनीहरू आफ्ना परिवारका सदस्य मृत्यु हुनेहरूको सूचीमा नपरेका होऊन् भन्ने आशामा खोजी गरिरहेका थिए ।
३३ वर्षीया इक्रा खाइ पनि त्यस्तैमध्ये एक हुन् । उनी स्पेनका कृषि फार्ममा मौसमी काम गर्न अस्थायी अनुमति पाउने हजारौं मोरक्को महिलामध्ये एक हुन् । शुक्रबार उनी आफ्नी दिदीको छोराको खोजीमा सेउटा पुगेकी थिइन् ।
‘उनी जीवित छन् कि छैनन्, मलाई थाहा छैन,’ उनले भनिन्, ‘उहाँको बसोबास अनुमति पत्र मसँग छ । तर उहाँ कहाँ हुनुहुन्छ भन्ने केही जानकारी छैन । म उहाँलाई खोजिरहेकी छु ।’ (एपी)
स्पेन छिर्ने होडमा ७२ जनाको गयो ज्यान
जब बेरोजगारी र महँगी उच्च हुन्छ, जनअपेक्षा अनुसारको शासन हुँदैन, कसले देशको माया गरेर बसिरहन्छ ? यही भएको हो मोरोक्कोमा । उत्तर अफ्रिकास्थित स्पेनको स्वायत्त सहर सेउटामा केही दिनयता देखिएको अभूतपूर्व आप्रवासी संकटले युरोपेली सीमा सुरक्षा, बेरोजगारी, गरिबी र आप्रवासन नीतिबारे बहस सुरु गराएको छ ।
हजारौं मोरक्कोवासीले समुद्र र सीमा बार पार गरेर युरोपेली संघको भूभागमा पुग्ने जोखिम उठाउनुको मुख्य कारण आफ्नै देशमा रोजगारीको अभाव, न्यून आम्दानी र राम्रो भविष्यको खोजी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
समाचार संस्था एपीका अनुसार अधिकांश आप्रवासी युवा छन्, जो मोरक्कोमा लामो समय अध्ययन गरे पनि सम्मानजनक रोजगारी नपाएको, दैनिक १२ घण्टासम्म काम गर्दा पनि न्यून तलबमा जीवन धान्नुपर्ने बाध्यता रहेको बताउँछन् । उनीहरूको विश्वास छ कि स्पेन वा अन्य युरोपेली मुलुक पुग्न सके आफ्नो मात्र होइन, परिवारको जीवन पनि बदल्न सकिन्छ ।
गत बिहीबारदेखि सुरु भएको यो लहरमा करिब ६० हजार मानिस सेउटा प्रवेश गरेको अनुमान गरिएको छ । यद्यपि तीमध्ये ४८ हजारभन्दा बढी ४८ घण्टाभित्रै स्वेच्छाले वा सुरक्षाकर्मीको निर्देशनपछि मोरक्को फर्किएका छन् भने केही हजार अझै स्पेनी नियन्त्रणमा छन् ।
समुद्र तरेर वा सीमा बार चढेर प्रवेश गर्ने क्रममा कम्तीमा ७२ जनाको मृत्यु भइसकेको छ । धेरै जना डुबेका, भागदौडमा च्यापिएका वा गम्भीर घाइते भएका छन् । एक हजारभन्दा बढीलाई उपचार गर्नुपरेको स्पेनी अधिकारीहरूले बताएका छन् ।
स्पेन सरकारले सीमा क्षेत्रमा थप प्रहरी, सैनिक र तटरक्षक परिचालन गरेको छ । समुद्री मार्गबाट हुने प्रवेश रोक्न अस्थायी तैरिने अवरोधसमेत राखिएको छ । साथै अनियमित रूपमा प्रवेश गरेका व्यक्तिलाई मुख्य भूमि स्पेन वा अन्य युरोपेली मुलुक जान नदिने र आवश्यक कानुनी प्रक्रिया पूरा गरी फर्काउने नीति अपनाइएको सरकारले स्पष्ट पारेको छ ।
उता मोरक्कोमा सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सन्देशले पनि ठूलो भीड सीमा क्षेत्रमा पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् । सीमा कसरी पार गर्ने र स्पेन पुगेपछि बस्न पाउने सम्भावना बढाउने उपायसमेत सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइएको थियो । रेल र बसमार्फत सीमा क्षेत्रमा जान खोज्ने धेरैलाई मोरक्को प्रहरीले रोकेको समाचारसमेत सार्वजनिक भएका छन् ।
यस घटनाले सेउटामा मानवीय संकट मात्र होइन, युरोपभर आप्रवासन नीति, बाह्य सीमा सुरक्षा र शरणार्थी व्यवस्थापनबारे नयाँ राजनीतिक बहस पनि चर्काएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।