नेभिगेशन
अर्थतन्त्र

सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो समय विभिन्न उपभोग्य वस्तु तथा दैनिक उपभोगका सामग्रीमा नक्कली उत्पादन बजारमा पुगिरहेको गुनासो बढ्न थालेपछि विभागले देशका विभिन्न स्थानमा अनुगमनलाई तीव्र बनाएको हो । विभागले बजारमा बिक्री–वितरण भइरहेका १०० भन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका उत्पादनको गुणस्तर र मौलिकता परीक्षणका लागि प्रयोगशालामा पठाइएको विभागले जनाएको छ । परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने विभागको तयारी छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले नक्कली उत्पादनको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन विभागलाई निर्देशन दिएकी छन् । उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि प्रत्यक्ष असर पर्ने विषय भएकाले यसमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने उनले स्पष्ट पारेकी छन् ।
‘बजारमा नक्कली उत्पादनको बिक्री–वितरण कुनै पनि हालतमा स्वीकार्य हुँदैन । उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने, नक्कली वस्तु उत्पादन गर्ने वा बिक्री–वितरणमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिन्छ,’ उनले भनिन् । बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उनले बताइन् । उनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने बताइन् । 
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोति सापकोटाले अहिले पनि बजारमा केही नक्कली उत्पादनको बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भइरहेकाले विभाग नियमित रूपमा बजार अनुगमनमा सक्रिय रहेको बताए । उनका अनुसार नियन्त्रणमा लिइएका उत्पादनहरूको प्रयोगशाला परीक्षण भइरहेको छ । परीक्षणबाट नक्कली भएको पुष्टि भएमा सम्बन्धित उत्पादक, आयातकर्ता वा विक्रेतामाथि प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।
‘अनुगमनका क्रममा शंकास्पद उत्पादन नियन्त्रणमा लिएका छौं । अहिले ती उत्पादनको प्रयोगशालामा परीक्षण भइरहेको छ । परीक्षण प्रतिवेदन प्राप्त भएपछि कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ। साथै उपभोक्ताले पनि शंकास्पद वा नक्कली उत्पादन देखेमा विभाग वा सम्बन्धित निकायमा जानकारी गराइदिन आग्रह गर्दछौं,’ सापकोटाले भने । विभागले उपभोक्तालाई खरिद गर्दा उत्पादनको लेबल, उत्पादक कम्पनी, म्याद, गुणस्तर चिन्ह तथा अन्य विवरणसमेत ध्यानपूर्वक हेर्न आग्रह गरेको छ । साथै, बजारमा नक्कली उत्पादनको बिक्री–वितरण नियन्त्रण गर्न सरकारी निकाय, व्यवसायी र उपभोक्ताबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्