नेभिगेशन
साहित्य

‘द ओडेसी’ले बढायो, क्लासिक पुस्तकको माग

‘पुरानो कथालाई हाम्रो आधुनिक समयका लागि फेरि सुनाऊ,’ सन् २०१८ मा प्रकाशित एमिली विल्सनद्वारा अनुदित होमरको ‘द ओडेसी’को सुरुवाती पंक्ति नै यही छ र सोही सन्देश अहिले वास्तविकतामै परिणत भएको देखिएको छ । क्रिस्टोफर नोलनद्वारा निर्देशित ‘द ओडेसी’ चलचित्रले भारतमा मात्र १४० करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै सफलताको यात्रा तय गरिरहँदा यसले भारतीय युवापाठकलाई तीन हजार वर्ष पुरानो यस महाकाव्य र त्यससँग सम्बन्धित अन्य क्लासिक साहित्यतर्फ पनि फर्काइरहेको छ ।
नील्सेनआईक्यू बुकडाटा इन्डियाका अनुसार, सन् २०२६ मा (जुलाई १८ सम्म) ‘द ओडेसी’का मुद्रित संस्करणको बिक्री ६ हजार ५ सय प्रति नाघेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो । बेंगलुरुको ब्लसम बुक हाउसका मयी गौडाले भने, नोलनले डिसेम्बर २०२४ मा चलचित्र निर्माणको घोषणा गरेयता यस पुस्तकको माग लगातार बढ्दै आएको छ । नील्सेनआईक्यूका तथ्यांकअनुसार जुन २१ देखि जुलाई १८ सम्म चार साताको अवधिमा बिक्री दुई हजार प्रतिभन्दा माथि पुगेको छ । यो सन् २०२५ को उही अवधिको तुलनामा तीन गुणा बढी हो ।
जुलाई १७ मा भारतमा चलचित्र प्रदर्शनमा आएपछि यसको प्रभाव झन् तीव्र देखियो । चलचित्र प्रदर्शनपछिको पहिलो सातामै ‘द ओडेसी’का मुद्रित संस्करणको अर्डर प्रदर्शनअघिको अवधिको तुलनामा झण्डै पाँच गुणाले बढेको थियो । पेंगुइन रेन्डम हाउस इन्डियाका पुस्तक बिक्री विभागका उपाध्यक्ष रशी बहादुरका अनुसार, यसको अधिकांश माग पेपरब्याक संस्करणका लागि थियो । अमेजन इन्डियामा पुस्तक श्रेणीका प्रमुख आकाश गुप्ताले पनि चलचित्र प्रदर्शन भएको दुई सातामै क्रसवर्ड बुकस्टोरका सबै शाखामा ‘द ओडेसी’को बिक्री तीन गुणाले बढिसकेको छ ।
युवापुस्ताको बढ्दो रुचि
प्रकाशक र पुस्तक विक्रेताहरूका अनुसार यो वृद्धिको प्रमुख कारण भारतका युवापाठकमा क्लासिक साहित्यप्रतिको पुनर्जागृत रुचि हो । गुप्ताले भने, ‘हामी अहिले किशोरावस्थाको अन्तिम चरण र बीसको दशकका पाठकहरूले क्लासिक पुस्तक किनिरहेका देखिरहेका छौं । यो प्रवृत्ति चलचित्र आउनुभन्दा पहिले नै सुरु भइसकेको थियो । पछिल्ला दुई वर्षदेखि भारतको जेनजी पुस्ता आफैं क्लासिक साहित्यतर्फ फर्किरहेको थियो । नोलनको चलचित्रले पहिलेदेखि तयार रहेको यही वातावरणलाई थप बल दियो ।’
सस्तो मूल्यका पेपरब्याक संस्करण सबैभन्दा धेरै बिक्री हुने पुस्तक बनेका छन् । पेंगुइनको ४९९ भारतीय रुपैयाँ मूल्यको ‘ब्ल्याक क्लासिक्स’ शृंखलाअन्तर्गत प्रकाशित ई.भी. रियुको ‘द ओडेसी’ अनुवादको बिक्री १० गुणाले बढेको पेंगुइन रेन्डम हाउस इन्डियाका समीर महालेले बताए । मुम्बईको चर्चित पुस्तक पसल किताबखानामा पनि यही संस्करण सबैभन्दा धेरै बिक्री भएको सञ्चालन प्रमुख जगथ टेक्कट्टेले बताए ।
एक हजारदेखि दुई हजार रुपैयाँ मूल्य पर्ने शैक्षिक अनुवादहरूको माग पनि उल्लेखनीय रूपमा बढेको छ । किताबखाना र ब्लसम बुक हाउसमा रोबर्ट फेगल्सको संस्करण सङ्कलकहरूबीच लोकप्रिय छ भने, नोलनले प्रेरणाको स्रोतका रूपमा उल्लेख गरेको एमिली विल्सनको सन् २०१८ को अनुवादको माग यति धेरै बढेको छ कि किताबखानामा त्यसको मौज्दात सकिएको छ र नयाँ स्टकको प्रतीक्षा भइरहेको छ । गौडाका अनुसार स्टिफेन फ्राइले सरल शैलीमा लेखेको संस्करणको माग पनि उच्च छ ।
‘द ओडेसी’मा मात्र सीमित छैन प्रभाव
यो उछाल ‘द ओडेसी’मा मात्र सीमित छैन । पुस्तक खोज्दै आएका धेरै पाठक थप पुस्तकहरूको सूची लिएर फर्किने गरेका छन् । महाले र गुप्ताका अनुसार होमरको अर्को महाकाव्य ‘द इलियड’को माग पनि उल्लेखनीय रूपमा बढेको छ । त्यस्तै, ग्रीक पौराणिक कथासम्बन्धी संग्रह, म्याडेलिन मिलरका ‘सर्की’ र ‘द सङ अफ एकिलिज’जस्ता उपन्यास तथा बालबालिकाका लागि लेखिएका पौराणिक कथाका पुस्तकहरूको बिक्री पनि बढेको छ । गुप्ताले भने, ‘जब १० वर्षको बच्चाले ‘पर्सी ज्याक्सन’ पढेर ग्रीक पौराणिक कथाबारे खोज्न थाल्छ, त्यसले दुई साताका लागि होइन, आगामी बीस वर्षका लागि एउटा पाठक तयार गर्छ ।’
‘नोलन प्रभाव’
महालेका अनुसार नोलनले “नयाँ र पुराना दुवै पुस्ताका पाठकलाई एउटै पुस्तकसँग जोड्ने दुर्लभ अवसर” सिर्जना गरेका छन् । उनका अनुसार सन् २०२६ पुस्तकमा आधारित चलचित्रहरूको वर्षका रूपमा देखिएको छ । ‘प्रोजेक्ट हेल मेरी’ र ‘ड्युन’ले अपेक्षाभन्दा बढी सफलता पाए पनि ‘द ओडेसी’ त्यसकै हाराहारीमा, कतिपय अवस्थामा अझ अगाडि देखिएको छ । गौडाका अनुसार बिक्रीका हिसाबले ‘प्रोजेक्ट हेल मेरी’ अझै पहिलो स्थानमा रहे पनि ‘द ओडेसी’का विभिन्न संस्करणहरूको वृद्धिदर लगभग त्यत्तिकै बलियो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्