नेभिगेशन
साहित्य

कसरी जन्मिन्छ एउटा उत्कृष्ट कथा ?

चिनुवा अचेबेका अनुभव, कल्पना, भाषा, पात्र र कथावाचनको शक्ति

संसारका उत्कृष्ट लेखकहरूलाई पढ्नु र उनीहरूका कृतिको प्रशंसा गर्नु एउटा कुरा हो तर उनीहरू कसरी लेख्छन्, कुनै कथा उनीहरूको मस्तिष्कमा कसरी जन्मिन्छ, पात्रहरू कसरी जीवन्त हुन्छन्, कथाको संरचना कसरी बन्छ र एउटा सामान्य विचार कसरी असाधारण साहित्यिक कृतिमा रूपान्तरित हुन्छ भन्ने कुरा बुझ्नु अर्कै कुरा हो । कुनै लेखकको कृति पढ्दा हामी कथाभित्र छिर्छौं तर लेखकको लेखन प्रक्रियाबारे पढ्दा हामी त्यो कथा जन्माउने तालीमशालाभित्र छिर्ने गर्छौं ।
प्रख्यात अफ्रिकी लेखक चिनुवा अचेबेको साहित्यिक यात्रालाई बुझ्न उनको पहिलो उपन्यास ‘थिङ्स फल अपार्ट’को पृष्ठभूमि बुझ्नुपर्छ । सन् १९५८ मा प्रकाशित यो उपन्यासले अफ्रिकी साहित्यलाई विश्वसाहित्यको नक्सामा नयाँ पहिचान दिलायो । तर यसको जन्म सहज थिएन ।
अचेबेले उपन्यासको प्रारम्भिक पाण्डुलिपि बोकेर सन् १९५७ मा बेलायत जाँदा त्यो पूर्ण भइसकेको थिएन । केही महिना अध्ययन गर्न छात्रवृत्ति पाएर उनी लन्डन पुगेका थिए । त्यही बेला उनका एक जना साथीले बीबीसीका प्रशिक्षक गिल्बर्ट फेल्प्सलाई पाण्डुलिपि देखाउन सुझाव दिए । फेल्प्सले पनि उपन्यास निकालिसकेका थिए । सुरुमा अचेबे आफ्नो पाण्डुलिपि अरूलाई देखाउन चाहँदैनथे । उनलाई आफूले लेखेको सामग्री कस्तो छ भन्नेमा पर्याप्त विश्वास थिएन होला । साथीहरूको आग्रहपछि उनले पाण्डुलिपि फेल्प्सलाई दिए । फेल्प्सले सुरुमा सामान्य प्रतिक्रिया दिए । तर केही समयपछि उनले अचेबेलाई खोज्दै फोन गरे र पाण्डुलिपि असाधारण भएको बताए । त्यो अचेबेका लागि ठूलो उत्साहको क्षण थियो ।
तर फेल्प्सले प्रकाशकलाई पाण्डुलिपि दिन प्रस्ताव गर्दा अचेबेले तत्काल स्वीकृति दिएनन् । उनलाई आफ्नो उपन्यासको संरचना ठीक नभएको लागिरहेको थियो । सुरुमा उनले तीन परिवारको कथा समेट्ने प्रयास गरेका थिए । तर त्यसो गर्दा कथाले धेरै ठाउँ ओगटेको र आवश्यक गहिराइमा छिर्न नसकेको महसुस गरे । त्यसैले पाण्डुलिपि फिर्ता लिएर नाइजेरिया जाने र फेरि लेख्ने निर्णय गरे । लेखकले आफ्नो रचनाको प्रशंसा सुन्नेबित्तिकै त्यसलाई अन्तिम रूप ठान्नु हुँदैन भन्ने उनीबाट सिक्न सकिन्छ । अरूको प्रशंसा उपयोगी हुनसक्छ तर लेखकले आफ्नो रचनाको कमजोरी आफैँ पहिचान गर्न सक्नुपर्छ । अचेबेले राम्रो प्रतिक्रिया पाउँदा पनि पाण्डुलिपि पुनर्लेखन गर्ने निर्णय गरे । उनलाई उपन्यासको विषयवस्तु मात्र होइन, त्यसलाई प्रस्तुत गर्ने रूप पनि उत्तिकै महŒवपूर्ण लाग्यो ।
इतिहासलाई अर्काको आँखाबाट होइन, आफ्नै आँखाबाट हेर्नुपर्छ
चिनुवा अचेबेको लेखनको सबैभन्दा ठूलो विशेषता अफ्रिकी समाजलाई आफ्नै दृष्टिकोणबाट प्रस्तुत गर्नु हो । उनी कथा मात्र लेखिरहेका थिएनन्, अफ्रिकाबारे संसारमा स्थापित एउटा भाष्यलाई चुनौती पनि दिइरहेका थिए । युरोपेली उपनिवेशवादी लेखकहरूले लामो समयसम्म अफ्रिकालाई पिछडिएको, असभ्य, अन्धविश्वासी र इतिहासविहीन महादेशका रूपमा चित्रण गरेका थिए । अफ्रिकी मानिसलाई आफ्नै विचार, संस्कृति, सामाजिक संरचना र मानवीय संवेदनाविहीन पात्रका रूपमा प्रस्तुत गर्ने साहित्यिक परम्परा पनि थियो । अचेबेले यही प्रवृत्तिलाई प्रश्न गरे । उनको ‘थिङ्स फल अपार्ट’ पढ्दा अफ्रिकी समाज युरोपेलीहरूको आगमन हुनुअघि पनि आफ्नै सामाजिक नियम, राजनीतिक व्यवस्था, धार्मिक विश्वास, न्याय प्रणाली, सांस्कृतिक परम्परा र जीवनदर्शन भएको समाज थियो भन्ने बुझिन्छ । त्यो समाज पूर्ण थिएन । त्यहाँ पनि द्वन्द्व थिए, अन्याय थिए, हिंसा थिए र कमजोरी थिए । तर त्यसलाई सभ्यताविहीन समाजका रूपमा चित्रण गर्न मिल्दैनथ्यो ।
अचेबेले उपन्यास लेख्नुको एउटा आधारभूत उद्देश्य नै युरोपले पहिलो पटक अफ्रिकालाई भेट्दा अफ्रिकाली दृष्टिकोणबाट कथालाई पुनः भन्नु थियो । उनी यसलाई आफ्नो जीवनको आधारभूत कथा मान्छन् । त्यसैले ’थिङ्स फल अपार्ट’ले पाएको विश्वव्यापी प्रसिद्धिप्रति उनी असन्तुष्ट छैनन् । उनका अरू पुस्तकले पनि अलग–अलग साहित्यिक गुण बोकेका छन् तर पहिलो उपन्यासले उनको आफ्नो अवस्थाबारे भन्नुपर्ने एउटा ऐतिहासिक कथा बोकेको छ ।
अचेबे जोसेफ कोनराडको ‘हार्ट अफ डार्कनेस’लाई आलोचना गरेका कुरा पनि सुनाउँछन् । कोनराडलाई साम्राज्यवादको विरोधी लेखकका रूपमा व्याख्या गर्नेहरू धेरै छन् । तर अचेबेको प्रश्न फरक छ, कुनै लेखक साम्राज्यवादको विरोध गर्छ भन्दैमा उसको रचनामा अफ्रिकी मानिसको चित्रण स्वतः मानवीय र न्यायपूर्ण हुन्छ त ?
कोनराडको लेखनमा अफ्रिकी मानिसलाई जनावरसँग तुलना गर्ने प्रवृत्ति अचेबे देख्छन् । उनका अनुसार कुनै लेखकले साम्राज्यवादको विरोध गरेको दाबी गर्न सक्छ तर उसले आफ्नै कथामा उत्पीडित मानिसलाई अमानवीय रूपमा चित्रण गरेको छ भने त्यसलाई बेवास्ता गर्न मिल्दैन ।
अचेबे ‘हार्ट अफ डार्कनेस’ पढ्नै हुँदैन भन्ने पक्षमा छैनन् । उनी स्वयं त्यो कृति पढाउँछन् तर पढाउँदा विद्यार्थीलाई सोध्छन्, ‘यसमा अफ्रिकी मानिसको चित्रण हेर्दा तिमीहरूले उनीहरूमा मानवता देख्छौ ?’
उनले अफ्रिकी समाजलाई आदर्श बनाएर प्रस्तुत गरेनन्, तर त्यसलाई अरूले परिभाषित गरेको सीमाभित्र पनि राखेनन् । आफ्नै समाजका कमजोरीको आलोचना गर्ने अधिकार पनि लेखकलाई हुनुपर्छ भन्ने उनको मान्यता थियो । यस अर्थमा उनी लेखकलाई आफ्नो समाजको प्रशंसक मात्र होइन, आलोचक पनि मान्छन् । लेखकको काम आफ्नो समुदायको छवि चम्काउनु मात्र होइन, त्यसको वास्तविकता देखाउनु पनि हो ।
उपन्यास जन्मिने प्रक्रिया
सामान्यतः कुनै व्यापक विचार सबैभन्दा पहिले आउँछ । त्यसपछि त्यससँग जोडिएर प्रमुख पात्र देखा पर्छन् । तर विचार मात्रै उपन्यास हुँदैन । हामी वरिपरि अनेक विचार, घटना, समस्या र अनुभूति देख्छौँ । तीमध्ये कुनै एउटा विचारलाई पात्रसँग जोड्न सकियो भने त्यसले गति लिन थाल्छ । अचेबेले यही अवस्थालाई इन्जिन चल्न थालेजस्तो भनेका छन् । कुनै विषयमा लेख्न मन लाग्नु र त्यस विषयमा उपन्यास लेख्न सक्नु फरक कुरा हुन् । उदाहरणका लागि भ्रष्टाचारबारे लेख्ने विचार आफैँमा उपन्यास होइन । तर कुनै गाउँको इमानदार कर्मचारी, उसको परिवार, उसको आर्थिक अवस्था, कार्यालयको दबाब, समाजको अपेक्षा र भ्रष्ट प्रणालीसँगको उसको द्वन्द्वलाई कथामा रूपान्तरण गर्न सकियो भने उपन्यासको सम्भावना जन्मिन्छ । त्यसैले विचारलाई जीवन्त बनाउने काम पात्रले गर्छ ।
उपन्यासमा पात्रको जीवन विश्वसनीय हुनुपर्छ । उसको व्यवहार, निर्णय, कमजोरी, आकांक्षा र असफलताले कथाको दिशा निर्धारण गर्छन् । लेखकले पात्रलाई केवल आफ्नो विचार बोलाउने माध्यम बनायो भने पात्र कृत्रिम हुन्छ । तर पात्रलाई आफ्नै स्वभावअनुसार चल्न दियो भने कथा स्वाभाविक रूपमा विस्तार हुन थाल्छ ।
अचेबेले उपन्यास सुरु भएपछि आफू कथानक वा विषयवस्तुबारे अत्यधिक चिन्ता नगर्ने बताएका छन् । जब उनलाई उपन्यास चल्न सक्ने अवस्थामा पुगेको विश्वास हुन्छ, त्यसपछि पात्रहरूले कथालाई तान्न थाल्छन् । कथानक र विषयवस्तु धेरै हदसम्म आफैँ विकसित हुन्छन् ।
यहाँ उनी लेखकको नियन्त्रणबारे रोचक कुरा गर्छन् । उपन्यास लेख्दै जाँदा कुनै समयमा लेखकले घटनामाथिको आफ्नो नियन्त्रण पहिलेको जस्तो महसुस गर्न छाड्छ । कथामा केही घटना हुनैपर्ने हुन्छन् । ती घटना नभए कथा अपूरो देखिन्छ । कहिलेकाहीँ लेखकले ती घटनाको आवश्यकता पहिले नै बुझ्दैन । तर लेख्दै जाँदा तिनको उपस्थिति अनिवार्य हुँदै जान्छ । त्यस्ता आवश्यक घटना स्वाभाविक रूपमा आए भने उपन्यास अघि बढ्छ । आएनन् भने लेखक समस्यामा पर्छ र उपन्यास रोकिन सक्छ । यसलाई लेखनको सिर्जनात्मक स्वायत्तता भन्न सकिन्छ । लेखकले कथा निर्माण गर्छ, तर कथा तयार हुँदै जाँदा त्यसको आफ्नै आन्तरिक तर्क विकसित हुन्छ । त्यस तर्कलाई लेखकले सम्मान गर्नुपर्छ ।
लेखन विचारसँगको कुस्ती हो
लेखन सजिलो काम हो कि कठिन भन्ने प्रश्नमा अचेबेले भन्छन्, ‘लेखन कठिन छ तर कठिन शब्दले मात्र त्यसको वास्तविक अनुभव व्यक्त गर्न सक्दैन । यो विचार र कथासँगको कुस्ती हो ।’ लेखनमा पनि लेखकले विचार, पात्र, घटना र भाषासँग लगातार संघर्ष गर्नुपर्छ, कुस्ती खेल्नु पर्छ । कुनै वाक्य आफूले चाहेजस्तो बन्दैन । कुनै पात्रले अपेक्षित व्यवहार गर्दैन । कुनै घटनाको अर्थ स्पष्ट हुँदैन । कहिलेकाहीँ पूरा कथा नै अड्किन्छ । तर यही संघर्षमा आनन्द पनि हुन्छ । त्यसैले अचेबे लेखनलाई एकैपटक कठिन र सहज दुवै मान्छन् । उनी लेखनलाई आफूले रोजेको अवधिका लागि जेल सजाय भोग्न तयार भएजस्तो अनुभवसँग तुलना गर्छन् । यो उनको शैलीमा गरिएको अतिशयोक्तिपूर्ण अभिव्यक्ति हो, तर त्यसले लेखनमा चाहिने एकाग्रता र त्यागको गहिराइ प्रकट गर्छ ।
अचेबे लेखनका लागि निश्चित समय वा निश्चित ठाउँलाई अनिवार्य मान्दैनन् । उनलाई नाइजेरियामा आफ्नै घरको वातावरणमा काम गर्न सबैभन्दा सहज लाग्छ । आफूले लेखिरहेको परिवेशसँग परिचित हुँदा लेखनमा सहजता आउँछ । तर आवश्यक परे अन्य ठाउँमा पनि काम गर्न सकिन्छ । उनी बिहान पाँच बजे उठेर लेख्ने लेखक होइनन् । दिन सुरु भएपछि लेख्न थाल्छन् र आवश्यक परे रातिसम्म काम गर्न सक्छन् । दैनिक निश्चित शब्द संख्या पूरा गर्ने नियम पनि उनी मान्दैनन् । धेरै लेखिएको दिन नै सबैभन्दा राम्रो लेखिएको दिन हुन्छ भन्ने छैन । कुनै दिन धेरै लेख्न सकिन्छ, तर त्यो लेखाइ उत्कृष्ट नहुन सक्छ । लेखकले नियमित रूपमा काम गरिरहनुपर्छ । कहिलेकाहीँ धेरै उत्पादन हुन्छ, कहिलेकाहीँ थोरै । तर काम गर्ने बानी टुट्नु हुँदैन ।
भाषा संस्कृतिको स्मृति हो
अचेबेको लेखनबारे चर्चा गर्दा भाषाको प्रश्नलाई अलग राख्न सकिँदैन । उनी इग्बो समुदायका लेखक हुन् तर उनका विश्वप्रसिद्ध उपन्यास अंग्रेजी भाषामा लेखिएका छन् । यो छनोट व्यावहारिक निर्णय होइन । यसमा औपनिवेशिक इतिहास, स्थानीय संस्कृति र विश्वव्यापी पाठकसँगको सम्बन्ध जोडिएको थियो । उनको भनाइमा आफूले लेख्ने कथा इग्बो समाजको अनुभवबाट आएको हुन्छ । तर त्यसलाई प्रस्तुत गर्न उनले अर्को ठाउँमा विकसित भएको अंग्रेजी भाषा प्रयोग गर्नुपर्छ । यसले लेखनमा एउटा विरोधाभास सिर्जना गर्छ । कथा स्थानीय हुन्छ, भाषा विश्वव्यापी हुन्छ ।
अचेबेले आफ्ना पाठकलाई केन्द्रमा राखेर लेख्ने गर्दैनन् । उनी आफ्नो लेखनलाई विभिन्न घेराको रूपमा व्याख्या गर्छन् । सबैभन्दा नजिकको घेरा आफ्नो घर र इग्बो समाज हो । कथा निर्माणका लागि आवश्यक सामग्री त्यही समाजबाट आउँछ । त्यसपछि क्रमशः नाइजेरिया, अफ्रिका र विश्वका अरू पाठकसम्म ती घेरा विस्तार हुँदै जान्छन् । विभिन्न पाठकले एउटै कथाबाट फरक–फरक अर्थ ग्रहण गर्न सक्छन् । स्थानीय पाठकले त्यहाँका सांस्कृतिक संकेत, उखान, परम्परा र व्यवहार सहजै बुझ्न सक्छन् । बाहिरका पाठकले भने ती कुराको अर्को अर्थ ग्रहण गर्न सक्छन् । उनीहरूको अनुभव, ज्ञान र सांस्कृतिक पृष्ठभूमिले कथाको अर्थ निर्माणमा भूमिका खेल्छ ।
अचेबे लेख्दा विश्वभरिका पाठकलाई सम्झेर बस्दैनन् । उनी आफूले भन्न चाहेको कथा सबैभन्दा प्रभावकारी रूपमा भन्न चाहन्छन् । पाठकको सम्भावित प्रतिक्रिया उनको प्राथमिक चिन्ता होइन । यो लेखकका लागि निकै महत्त्वपूर्ण पाठ हो । पाठकलाई ध्यान दिनु आवश्यक छ तर पाठकलाई खुसी पार्ने उद्देश्यले आफ्नो कथाको स्वाभाविकता गुमाउनु हुँदैन । लेखकले आफ्नो समाजको भाषिक र सांस्कृतिक विशिष्टता मेटाएर मात्रै विश्वव्यापी हुन सक्दैन ।
लेखनकला सिक्न चाहनेले बुझ्नुपर्ने कुरा के हो भने भाषा सही शब्द छान्ने काम होइन । भाषामा समाजको स्मृति, लय, संस्कृति, हास्य, दुःख, सम्बन्ध र जीवनशैली समेटिएको हुन्छ । लेखकले भाषालाई व्याकरणको संरचना मात्र होइन, जीवित अनुभवका रूपमा बुझ्नुपर्छ ।

मानवताको पक्षमा उभिनु
चिनुवा अचेबे साहित्यलाई मनोरञ्जन वा व्यक्तिगत अभिव्यक्तिको माध्यममा मात्र सीमित गर्दैनन् । उनी लेखकलाई समाजको जिम्मेवार नागरिकका रूपमा हेर्छन् । लेखकको सामाजिक र राजनीतिक भूमिका हुनुपर्छ कि हुँदैन भन्ने प्रश्नमा उनको उत्तर स्पष्ट छ— लेखक पनि नागरिक हो, ऊ पनि समाजको सदस्य हो र उसले आफ्नो समयका प्रश्नबाट अलग रहन सक्दैन । तर यसको अर्थ लेखकले राजनीतिक नारा लेख्नुपर्छ वा आफ्नो सिर्जनालाई कुनै विचारधाराको प्रचारमा लगाउनुपर्छ भन्ने होइन ।
उनले आफूले लेखेका पुस्तकमा आफ्नै समुदायको प्रशंसा मात्र नगरेको पनि स्पष्ट पारेका छन् । आफ्नो समाजका सबैभन्दा कठोर आलोचक आफू नै भएको उनको भनाइ छ । उनको ’द ट्रबल विथ नाइजेरिया’ पुस्तकका कारण पनि उनी विवादमा परेका थिए तर आलोचना गर्नु लेखकको अधिकार र जिम्मेवारी दुवै हो भन्ने उनको विश्वास छ ।
यहाँ एउटा महŒवपूर्ण भिन्नता बुझ्नुपर्छ । आफ्नो समाजको पक्षमा उभिनु र आफ्नो समाजका सबै कामको समर्थन गर्नु एउटै कुरा होइन । लेखकले आफ्नो समाजलाई माया गर्न सक्छ तर त्यसका गलत अभ्यासको विरोध पनि गर्न सक्छ । समाजप्रतिको वास्तविक जिम्मेवारी भनेकै त्यसलाई सुधारको दिशामा लैजान सक्ने सत्य बोल्नु हो ।
अचेबेले रुसी कवि येभगेनी येभ्तुसेन्कोले फ्रान्सेली कवि आर्थर रिम्बोबारे भनेको प्रसङ्ग पनि सम्झन्छन् । रिम्बो अफ्रिकाको इथियोपिया पुगेका थिए र पछि दास व्यापारमा संलग्न भए । येभ्तुसेन्कोको भनाइमा कवि दास व्यापारी बन्न सक्दैन । जब रिम्बो दास व्यापारी बने, उनले कविता लेख्न छाडे । अचेबे यही विचारसँग सहमत छन्, कविता र दास व्यापार सँगसँगै जान सक्दैनन् । 
एउटै कथा, अनेक सत्य
अचेबेको लेखनदृष्टिको सबैभन्दा सुन्दर पक्ष मानवीय जीवनको जटिलताप्रतिको उनको विश्वास हो । उनी एउटै कथा एउटै तरिकाले मात्र भन्न सकिन्छ भन्ने मान्यता स्वीकार गर्दैनन् । उनको विचारमा कुनै पनि मानिस वा घटनाबारे फरक स्थानमा उभिएका मानिसले फरक कथा भन्न सक्छन् । एउटै मानिसले पनि फरक परिस्थितिमा उही घटनालाई फरक तरिकाले प्रस्तुत गर्न सक्छ । त्यसैले साहित्यले एउटै दृष्टिकोणलाई अन्तिम सत्य मानेर अघि बढ्नु हुँदैन । यसलाई बुझाउन उनी इग्बो समुदायको एउटा सांस्कृतिक नाचको उदाहरण दिन्छन् । मुखौटा लगाएको पात्र सार्वजनिक मैदानमा नाच्दै विभिन्न दिशामा घुम्छ । दर्शकले एउटै ठाउँमा उभिएर हेरे भने त्यस नाचको सबै सुन्दरता देख्न सक्दैनन् । त्यसलाई राम्रोसँग हेर्न चाहनेले आफू पनि ठाउँ परिवर्तन गर्नुपर्छ ।
अचेबेको विचारमा संसारका कथा पनि यस्तै हुन् । एउटा दृष्टिकोणमा अडिएर जीवनको सम्पूर्ण अर्थ बुझ्न सकिँदैन । विभिन्न कोणबाट हेर्दा मात्रै कथाको वास्तविक जटिलता खुल्छ । यो विचार साहित्यको आधारभूत सौन्दर्यशास्त्रसँग जोडिन्छ । लेखकले कुनै पात्रलाई एउटै विशेषणमा सीमित गर्नु हुँदैन । कुनै समाजलाई एउटै निष्कर्षमा बुझ्नु हुँदैन । कुनै ऐतिहासिक घटनाको व्याख्या एउटा पक्षको अनुभवमा मात्र आधारित हुनु हुँदैन ।
अचेबे आफ्नो पहिलो उपन्यास ‘थिङ्स फल अपार्ट’लाई अरू पुस्तकभन्दा बढी चर्चा पाएकामा उति गुनासो गर्दैनन् । तर त्यसलाई आफ्नो सबैभन्दा उत्कृष्ट पुस्तक भनेर घोषणा गर्न पनि चाहँदैनन् । उनका अनुसार हरेक पुस्तकले फरक काम गर्ने प्रयास गरेको छ । एउटा पुस्तकले अर्को पुस्तकको ठाउँ लिन सक्दैन । उनको यो धारणा लेखकका लागि अर्को पाठ हो कि आफ्नो सफलताको पुनरावृत्ति गर्ने लोभमा पर्नु हुँदैन । कुनै कृति सफल भयो भन्दैमा अर्को कृति पनि त्यही शैली, त्यही विषय र त्यही संरचनामा लेखिरहनु आवश्यक छैन ।
प्रत्येक नयाँ कृतिले नयाँ सम्भावना खोज्नुपर्छ । लेखकले आफ्नो सिर्जनात्मक क्षेत्र विस्तार गर्नुपर्छ । एउटै विषयमा जीवनभर लेख्न सकिन्छ, तर हरेक पटक त्यसलाई नयाँ कोणबाट हेर्नुपर्छ । 
सन् १९७० को दशकतिर अमेरिकाको म्यासाचुसेट्स विश्वविद्यालयमा कार्यरत रहँदा एक लजालु देखिने गोरा अमेरिकी युवक उनको कार्यालयमा आएर भनेछन्, ‘त्यो मानिस, ओकोन्क्वो, मेरो बुबा हो ।’ अचेबे आश्चर्यचकित भए । अफ्रिकी गाउँको परम्परागत समाजमा आधारित पात्रलाई अमेरिकी युवकले आफ्नो बुबासँग तुलना गर्नु असाधारण प्रतिक्रिया थियो । त्यसैगरी एक सार्वजनिक बहसमा लेखक जेम्स बाल्डविनले पनि ओकोन्क्वो आफ्नो बुबाजस्तै भएको बताएका थिए । स्थानीय परिवेशमा जन्मिएको पात्र पनि विश्वव्यापी मानवीय अनुभवको प्रतिनिधि बन्न सक्छ भन्ने यी प्रतिक्रियाले अचेबेलाई पाठ पढाएका छन् ।
ओकोन्क्वो इग्बो समाजको एउटा विशेष ऐतिहासिक र सांस्कृतिक परिवेशमा बाँचेको पात्र हो । तर उसको महत्वाकांक्षा, डर, पुरुषत्वप्रतिको आग्रह, कमजोरी, असफलता र पारिवारिक सम्बन्ध संसारका अन्य समाजका पाठकले पनि बुझ्न सक्छन् । यसरी स्थानीय जीवनको सूक्ष्म चित्रणले विश्वव्यापी अर्थ प्राप्त गर्न सक्छ । विश्वव्यापी बन्न स्थानीय विशेषता त्याग्नुपर्छ भन्ने छैन । बरु आफ्नै समाजलाई जति इमानदारीपूर्वक र गहिराइमा लेख्न सकिन्छ, त्यति नै फराकिलो पाठकसमूहसँग जोडिने सम्भावना हुन्छ ।
राम्रो लेखकलाई कसैले लेख्न सिकाउनुपर्छ ?
नयाँ लेखकलाई तपाईं के सल्लाह दिनुहुन्छ भनेर अचेबेलाई धेरै पटक सोधिएको छ । उनी भन्छन्, ’राम्रो लेखकलाई वास्तवमा लेखिरहनू भन्नेबाहेक अरू धेरै कुरा भनिरहनु पर्दैन । आफूले गर्न खोजेको काममा ध्यान दिनुपर्छ र सकेसम्म राम्रोसँग गर्नुपर्छ । आफूले गर्न सक्ने सबै प्रयास गरिसकेपछि मात्रै आफ्नो पाण्डुलिपि अरूलाई देखाउनुपर्छ ।’
उनको विचारमा नयाँ लेखकहरूमा एउटा प्रवृत्ति बढिरहेको छ, पहिलो मस्यौदा लेख्नेबित्तिकै कसैलाई देखाएर राम्रो सल्लाहको अपेक्षा गर्ने । कतिपयले त अरू कसैले आफ्नो पाण्डुलिपि सुधारिदियोस् भन्ने चाहन्छन् । अचेबे यस्तो प्रवृत्तिप्रति त्यति उत्साहित छैनन् । लेख्न सुरु गर्दा उनलाई मार्गदर्शन गर्ने कोही थिएन । आफैँ प्रयास गरे, गल्ती गरे र आफ्नो लेखनको गुणस्तरबारे आफैँसँग सम्झौता गर्न सिके । उनी आफूलाई साहित्यको प्रहरी ठान्दैनन् । आफ्नो पाण्डुलिपि लिएर आउने सबै नयाँ लेखक उत्कृष्ट हुँदैनन् भन्ने उनलाई थाहा छ । तर कुनै युवालाई तिमी राम्रो लेखक बन्न सक्दैनौ भनेर निरुत्साहित गर्ने अधिकार आफूलाई छैन भन्ने पनि उनी मान्छन् ।
त्यसैले उनको सल्लाह सरल छ— लेखिरहनू, पसिना बगाउनू, आफ्नो कामलाई सकेसम्म राम्रो बनाउनू ।
लेखकले आफूलाई कसरी सुधार्ने ?
पहिलो, लेखनका लागि पूर्वनिर्धारित जीवनयोजना अनिवार्य छैन । जीवनका विभिन्न अनुभवले लेखक निर्माण गर्न सक्छन् । साहित्यसँग प्रत्यक्ष सम्बन्ध नभएको कामले पनि लेखकलाई भाषा, मानिस र समाज बुझ्न मद्दत गर्न सक्छ । दोस्रो, लेखनको पहिलो मस्यौदा अन्तिम रचना होइन । लेखकले आफ्नै कामको कमजोरी पहिचान गर्न सक्नुपर्छ । प्रशंसा पाएपछि पनि आवश्यक परे पुनर्लेखन गर्नुपर्छ । अचेबेले ‘थिङ्स फल अपार्ट’को प्रारम्भिक संरचना नै परिवर्तन गरेका थिए । तेस्रो, विषयवस्तु मात्रले कथा बन्दैन । विचारलाई जीवन्त बनाउने पात्र चाहिन्छ । पात्रको मनोविज्ञान, व्यवहार र सामाजिक परिवेश बुझ्नुपर्छ । पात्रलाई लेखकको विचार बोलाउने कठपुतली बनाउन हुँदैन ।
चौथो, कथानकलाई अत्यधिक नियन्त्रण गर्ने लोभ गर्नु हुँदैन । कथा विकसित हुँदै जाँदा त्यसका आन्तरिक आवश्यकता बुझ्नुपर्छ । पात्रको स्वभाव र घटनाको तर्कअनुसार कथा अघि बढ्न दिनुपर्छ । पाँचौँ, लेखनमा नियमितता आवश्यक छ । दैनिक शब्द संख्या पूरा गर्नु नै सफलता होइन । निरन्तर काम गरिरहनु महŒवपूर्ण हो । कहिलेकाहीँ थोरै लेखिएको दिन पनि राम्रो लेखनको दिन हुन सक्छ । 
छैटौँ, भाषा लेखनको प्राण हो । शब्दको छनोट, वाक्यको प्रवाह, स्थानीय भाषिक स्वाद, संवाद र कथावाचनको लयले रचनाको गुणस्तर निर्धारण गर्छन् । राम्रो सन्देश मात्र भएर पुग्दैन, त्यसलाई राम्रोसँग भन्न पनि जान्नुपर्छ । सातौँ, लेखकले आफ्नो समाजलाई माया गर्नुपर्छ, तर त्यसको आलोचना गर्न डराउनु हुँदैन । आफ्नो समाजका कमजोरी देखाउनु समाजप्रतिको घृणा होइन । वास्तविक साहित्यले मानिस र समाजलाई जटिलतासहित बुझ्न खोज्छ । आठौँ, साहित्यलाई एउटै दृष्टिकोणमा सीमित गर्नु हुँदैन । एउटै घटना विभिन्न मानिसका लागि फरक अर्थ बोकेर आउन सक्छ । पात्र, घटना र समाजलाई फरक कोणबाट हेर्न सक्नुपर्छ । नवौँ, लेखकले अरूका रचना पढ्नुपर्छ । तर प्रभावलाई नक्कलमा परिणत गर्नु हुँदैन । अध्ययनबाट प्राप्त ज्ञानलाई आफ्नै अनुभव र भाषिक चेतनासँग जोड्नुपर्छ । दसौँ, आफ्नो कामलाई अरूले सुधारिदिने प्रतीक्षा गरेर बस्नु हुँदैन । आफूले गर्न सक्ने सबै प्रयास गर्नुपर्छ । आलोचना र सुझाव उपयोगी हुन्छन्, तर सिर्जनाको अन्तिम जिम्मेवारी लेखककै हो ।
धेरै शब्द लेख्ने राम्रो लेखक होइन, बरु जसले मानिसलाई गहिराइमा बुझ्छ, जीवनका विरोधाभासलाई देख्छ र ती अनुभवलाई पाठकले आफ्नै जीवनसँग जोडेर महसुस गर्न सक्ने गरी प्रस्तुत गर्न सक्छ । चिनुवा अचेबेको लेखनमा कथा भन्नु घटना सुनाउनु मात्र हुँदैन । त्यो मानिस, समाज, इतिहास, संस्कृति र मानवीय नियतिको अर्थ खोज्नु हुन्छ । र उत्कृष्ट साहित्य त्यतिबेला जन्मिन्छ, जब लेखकले आफूले देखेको संसारलाई इमानदारीपूर्वक, कलात्मक ढङ्गले र अनेक दृष्टिकोणको सम्मान गर्दै अभिव्यक्त गर्न सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
आलोचना पचाउने कला

आलोचना पचाउने कला

पन्तको ‘राणा’ लोकार्पित

पन्तको ‘राणा’ लोकार्पित