सन् २०१८ को कुरा हो । ओपनएआईले जीपीटी–२ सार्वजनिक गर्नुभन्दा केही समयअघि र जेनोमिक प्रेडिक्सनले भ्रूणको बहुजीनिक परीक्षणसम्बन्धी सेवा प्रचार गर्न थालेको केही समयपछि म एउटा अनौठो परिस्थितिमा थिएँ । भर्खरै वैवाहिक सम्बन्ध टुटेको थियो । साना छोराछोरी पनि साथमा थिएनन् । थ्यांक्सगिभिङ पर्वका बेला म न्यु अर्लिन्स सहरमा थिएँ । त्यहाँको एउटा रेस्टुरेन्टबाहिर राखिएको कालोपाटीमा लेखिएको थियो– ‘आजको सुप ः भोड्का ।’ म त्यस दिन टर्कीको परम्परागत परिकार खान गएको थिइनँ । मेरो यात्रासँगै रहेका साथीले मेरो खस्किँदो मनस्थिति बुझेर फ्रेन्च क्वार्टरका केही जादुटुना र भूतप्रेतसम्बन्धी सामग्री बेच्ने पसल घुम्न जाने प्रस्ताव गरे ।
सायद त्यहाँबाट आफ्नो रित्तो घरको सुरक्षा गर्न कुनै जादु किनेर ल्याउन सक्थें । त्योभन्दा पनि राम्रो, मेरो जीवन अस्तव्यस्त बनाउने व्यक्तिलाई श्राप दिन सकिने कुनै पुतली किन्न सक्थें । त्यसबेला मेरो जीवनको अस्तव्यस्तताका लागि म त्यही व्यक्तिलाई दोषी ठान्थें ।
कसैलाई श्राप दिने विचारले एकछिन लोभ्यायो पनि । तर, त्यस्तो पसलभित्र पस्ने बेलामा म हच्किएँ । जादु भनेको काल्पनिक कुरा हो भन्नेमा म ९९ प्रतिशत ढुक्क थिएँ । पुतलीमा कुनै मन्त्र फुकेर कसैलाई साँच्चिकै हानि पु¥याउन सकिँदैन भन्ने पनि थाहा थियो । तर, म इभान्जेलिकल क्रिश्चियन परम्परामा हुर्किएकी थिएँ । मलाई भूतप्रेत वास्तविक हुन्छन् भनेर सिकाइएको थियो । त्यसैले कुनै जोखिम मोल्न चाहिनँ ।
कुनै व्यक्तिको सामान्य आकृति बनाएर, त्यसको माध्यमबाट टाढै बसेर उसमाथि प्रभाव पार्ने प्रयास गर्नु मलाई आफूले राम्ररी नबुझेका शक्तिसँग खेलवाड गरेजस्तो लाग्यो ।
डिजिटल पुतलीहरूको बढ्दो विस्तार
अहिले पछाडि फर्केर हेर्दा मेरो त्यो डर कति पुरानो र अनौठो लाग्छ । त्यतिबेलै पनि मानिसका प्रतिरूप जताततै थिए । त्यसयता त तिनको संख्या झन् बढेको छ । यी दोस्रो स्वरूप कपडा वा मैनबाटै बनाउनुपर्छ भन्ने छैन । तथ्यांकका माध्यमबाट पनि तिनलाई अस्तित्वमा ल्याउन सकिन्छ ।
हामीले इन्टरनेटमा गर्ने क्लिक, मन पराउने सामग्री, हाम्रा स्थानसम्बन्धी जानकारी र किनमेलका विवरणका आधारमा तथ्यांक संकलन गर्ने कम्पनीहरूले हामी प्रत्येकका अनेकौं डिजिटल प्रतिरूप तयार पारेका छन् । हामी आफैंले पनि सामाजिक सञ्जाल र जोडी खोज्ने माध्यममा आफ्नो परिचय प्रस्तुत गरेर यस्ता प्रतिरूप थपिरहेका छौं ।
भविष्यमा जन्मिने मानिसका समेत डिजिटल प्रतिरूप तयार हुन थालेका छन् । भ्रूण छनोट गर्ने कम्पनीहरूले अहिले नै सम्भावित अभिभावकलाई कृत्रिम गर्भाधानबाट तयार गरिएका भ्रूणमा विभिन्न स्वास्थ्य तथा मनोवैज्ञानिक विशेषतासँग सम्बन्धित आनुवंशिक भिन्नताको अंक निकाल्ने सुविधा बेचिरहेका छन् । यसरी केही अभिभावकले आफ्नो भविष्यको सन्तानसँग पहिलोपटक परिचित हुने माध्यम नै उसलाई प्रतिनिधित्व गर्ने बहुजीनिक अंकहरूको तालिका बन्न थालेको छ ।
परम्परागत जादुटुनामा प्रयोग गरिने पुतलीजस्तै हाम्रा डिजिटल प्रतिरूप पनि अपूर्ण र सामान्य प्रकृतिका हुन्छन् । तर, तिनको अपूर्णताले अरूलाई हामीमाथि वास्तविक प्रभाव पार्नबाट रोक्दैन ।
हामीले तिर्नुपर्ने मूल्य, पाउने तलब, घर किन्न पाउने वा नपाउने अवस्था, ऋण प्राप्त गर्ने सम्भावना, रोजगारीको अवसर, प्रहरी निगरानीमा पर्ने जोखिम, प्रेम तथा यौनसम्बन्ध र स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकारसमेत अब क्रमशः हामीबारे तथ्यांकमा आधारित प्रतिरूपसँग अरूले कसरी व्यवहार गर्छन् भन्ने कुराले निर्धारण गर्न थालेको छ । तीमध्ये कतिपय व्यक्तिलाई हामीले जीवनमा कहिल्यै भेटेका पनि हुँदैनौं । उनीहरूले हाम्रो वास्तविक शरीर र व्यक्तित्वसँग साक्षात्कार नगरी डिजिटल विवरणकै आधारमा निर्णय गरिरहेका हुन्छन् ।
मेगन ओ’गिब्लिनले सन् २०२१ मा प्रकाशित आफ्नो पुस्तक ‘गड, ह्युमन, एनिमल, मेसिन’मा यस अवस्थालाई व्याख्या गरेकी छन् । उनका अनुसार यी डिजिटल ‘दोस्रो स्वरूप’ मा कुनै स्वायत्तता वा चेतना हुँदैन । तिनका आफ्नै रुचि, चाहना, आशा वा आध्यात्मिक आकांक्षा हुँदैनन् । तर, विशाल तथ्यांकको सूचनात्मक संसारमा सबैभन्दा मूल्यवान् र वास्तविक भने हामी नभएर तिनै डिजिटल प्रतिरूप बनेका छन् ।
पुतली कुनै खास व्यक्तिलाई प्रतिनिधित्व गर्ने गरी बनाइन्छ । हाम्रा डिजिटल पुतलीको मूल्य पनि तिनले कुनै व्यक्तिलाई जति विशिष्ट रूपमा प्रतिनिधित्व गर्न सक्छन्, त्यति नै बढ्छ ।
आखिर तथ्यांक विभिन्न चरणहरूबाट बनेका हुन्छन् । हामीबीचका समानता देखाउनुभन्दा हाम्रा भिन्नता पहिचान गरेर नमूना तयार पार्नु व्यापारी, ऋणदाता, रोजगारदाता, घरधनी, बीमा कम्पनी, जोडी खोज्ने संस्था र प्रहरीका लागि बढी उपयोगी हुन्छ । व्यक्तिगत पहिचानलाई बजारमा प्रस्तुत गर्ने हाम्रो आफ्नै प्रयासका लागि पनि भिन्नता महŒवपूर्ण हुन्छ ।
यसको परिणामस्वरूप हाम्रा भौतिक र डिजिटल परिवेश व्यक्तिको पहिचानसम्बन्धी यिनै नमुनाअनुसार ढालिँदै गएका छन् । हामीबीचको भिन्नता अझ स्पष्ट हुँदै गएको छ । प्रत्येक व्यक्ति झन् विशिष्ट, अलग र एक्लो बन्दै गएको छ । अब मानिसलाई भीडमा सजिलै मिसिन पनि कठिन हुन थालेको छ । किनभने सबैसँग उस्तै देखिने, एकअर्काको स्थान लिन सक्ने र छुट्याउन नसकिने मानिसको समूहमा हराउने अवस्था क्रमशः हराउँदै गएको छ ।
हामी व्यक्तिगत रूपमा झन् सजिलै पहिचान गर्न सकिने हुँदै गएका छौं । तर, अर्कातर्फ यन्त्रमेधा (एआई)को विकाससँगै सामूहिक मानव पहिचानको सीमा भने धमिलो हुँदै गएको छ ।
व्यक्तिगत डिजिटल प्रतिरूप कुनै खास मानिसलाई प्रतिनिधित्व गर्न बनाइन्छ र बाहिरबाट कुनै क्रियाकलाप नभएसम्म ती निष्क्रिय रहन्छन् । तर, विशाल भाषा नमूना (लार्ज ल्यांग्वेज मोडल)हरू मानव जातिको सोच्ने क्षमताको नक्कल गर्न सक्ने गरी तालिम दिइएका छन् । तिनले आफैं काम गरिरहेको जस्तो देखिन पनि सक्छन् ।
यन्त्रमेधा (एआई)को सम्भावनाबारे लामो समयदेखि जादु र लोककथामा वर्णन गरिएको अर्को प्रकारको प्रतिरूप ‘गोलेम’सँग तुलना हुँदै आएको छ । पुतलीजस्तै गोलेम पनि मानिसले बनाउने वस्तु हो । तर, त्यसलाई भाषा र प्रतीकका माध्यमबाट जीवन्त बनाइन्छ ताकि त्यसले कुनै मानव समूहको सेवा गर्न सकोस् र आवश्यक पर्दा मानिसको प्रतिनिधित्वसमेत गर्न सकोस् ।
प्रतिरूपको दोहोरो संकट
साहित्यमा कुनै व्यक्तिको प्रतिरूप वा नक्कली स्वरूपको अस्तित्वले मूल व्यक्तिका लागि नराम्रो परिणाम निम्त्याउने संकेत गर्छ ।
‘फ्रान्केन्स्टाइन’मा आफ्नो सिर्जनालाई पछ्याउँदै हिउँमा दौडिने क्रममा फ्रान्केन्स्टाइनको मृत्यु हुन्छ । ‘द फेयरी क्विन’मा नक्कली फ्लोरिमेलले सबैलाई झुक्याउँछ भने वास्तविक फ्लोरिमेल समुद्रको गहिराइमा पु¥याइन्छे । त्यस्तै, ‘माइनोरिटी रिपोर्ट’मा जोन एन्डरटनले भविष्यमा आफूले अपराध गर्ने भविष्यवाणीलाई गलत साबित गर्न खोज्नुभन्दा अन्ततः आफैं हत्या गर्न पुग्छ ।
त्यसैले हामीजस्तै देखिने र व्यवहार गर्ने प्रविधिको विकासले मानिसलाई चिन्तित बनाउनु अस्वाभाविक होइन ।
के साहित्यमा जस्तै हाम्रा डिजिटल प्रतिरूपले अन्ततः हामीलाई नै विस्थापित गर्नेछन् ? हामीलाई नष्ट पनि गर्लान् त ? यदि त्यसो भएन भने पनि दिनप्रतिदिन परिष्कृत हुँदै गएका हाम्रा नक्कली प्रतिरूप र वास्तविक हामीबीच के कुराले भिन्नता छुट्याउला त ?
दैवी प्रेरणाको खोजी
यो अन्तिम प्रश्नबारे सोच्दा कहिलेकाहीँ म फेरि सक्रिय इसाई भएको भए हुन्थ्यो भन्ने लाग्छ । किनभने क्याथोलिक चर्चले यसको स्पष्ट उत्तर दिएको छ । पोप लियो चौधौंले हालै प्रकाशित आफ्नो धर्मादेशात्मक पत्र ’म्याग्निफिका ह्युमानिटास’मा मानिसको सामूहिक र व्यक्तिगत पहिचान विशिष्ट रहेको बताएका छन् । त्यसलाई प्रविधिका माध्यमबाट नक्कल गर्न सकिँदैन र यही कारणले प्रविधिमाथि केही सीमा तोकिनुपर्छ भन्ने उनको तर्क छ । किनभने मानिस ‘त्रिएक परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि गरिएको’ हो ।
अर्थात्, हामीलाई डिजिटल प्रतिरूपबाट अलग बनाउने वास्तविक मानवीय विशेषता हामीभित्र ईश्वरको प्रतिविम्ब हुनु हो । यो स्पष्ट र प्रभावकारी उत्तर हो तर त्यसका लागि इसाई ईश्वरमा विश्वास गर्नुपर्छ ।
तर, ईश्वरमा विश्वास नगर्ने मानिसका लागि यसको अर्थ के हुन्छ ? पहिलो दृष्टिमा हेर्दा प्रविधिले बनाएका मानव प्रतिरूपबारे क्याथोलिक चर्चको शिक्षाले नास्तिक, भौतिकवादी र वैज्ञानिकलाई खासै केही दिन नसक्ने देखिन्छ । तैपनि म एउटा विचारमा बारम्बार अड्किरहन्छु– ईश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि गरिएको मानिस ।
चर्चको इतिहासको ठूलो हिस्सामा मानिसको ईश्वरसँगको समानतालाई तर्क गर्ने क्षमता र स्मरणशक्ति जस्ता बौद्धिक विशेषतासँग जोडेर व्याख्या गरिएको छ । तर, अहिले यन्त्रमेधामा यिनै क्षमता उल्लेखनीय रूपमा देखिन थालेका छन् । बहुजीनिक अंक र अन्य भविष्यवाणी गर्ने गणितीय प्रणालीले पनि मानिसका यस्ता क्षमताको अपूर्ण नक्कल गरिरहेका छन् ।
तर, पोप लियोले मानिसको ईश्वरसँगको समानतालाई तर्क गर्ने क्षमतासँग जोडेर व्याख्या गरेका छैनन् । एआईबारेकै धर्मादेशात्मक पत्रमा उनले त्यसो गर्नु पनि कसरी सम्भव हुन्थ्यो र ? बरु उनले मानिसको एकअर्कामाथिको निर्भरतालाई यसको आधार मानेका छन् । ईश्वरको स्वरूपमा सृष्टि हुनुको अर्थ मानिसलाई ‘सम्बन्धका लागि सृष्टि गरिएको’ हो भन्ने उनको तर्क छ । उनका अनुसार ‘सम्बन्ध स्थापित गर्ने र प्रेम गर्ने क्षमता नै मानवताको वास्तविक सार हो ।’
अन्तरनिर्भरताले नै मानिसलाई मानव बनाउँछ
मानिसको आधारभूत मानवीय विशेषता एकअर्कामाथिको निर्भरता हो भन्ने व्याख्या प्रस्तुत गर्दै ‘म्याग्निफिका ह्युमानिटास’ले मानवको विशिष्टताबारे एउटा यस्तो दृष्टिकोण दिएको छ, जुन धर्मनिरपेक्ष क्षेत्रमा नारीवादी दार्शनिक, अपांगता अध्ययनका विज्ञ, विकासवादी मानवशास्त्री, विकास मनोवैज्ञानिक र अन्य अध्येताले प्रस्तुत गर्दै आएका तर्कसँग मेल खान्छ । त्यो तर्क हो– मानिसको अस्तित्व नै हेरचाह र परस्पर सहयोगबाट बनेको हुन्छ ।
हामी सबै अरू कसैको शरीरभित्र हुर्कियौं र अरूकै शरीरबाट पोषण प्राप्त ग¥यौं । कसैले बोलेपछि मात्र हामीले बोल्न सिक्यौं । सम्बन्ध स्थापित हुनुभन्दा पहिले कुनै स्वतन्त्र ‘स्व’ को अस्तित्व हुँदैन ।
हाम्रो ठूलो र चाउरिएको मस्तिष्कले नै सोच्ने क्षमता र व्यवहारमा लचकता प्रदान गर्छ । यी क्षमतालाई लिएर हामी लामो समयदेखि गर्व गर्दै आएका छौं । अहिले प्रविधिले पनि यिनै क्षमताको नक्कल तीव्र गतिमा गरिरहेको छ । तर, हाम्रो मस्तिष्कको विकास बाल्यकालको लामो निर्भरता र सामूहिक हेरचाहका कारण सम्भव भएको हो । हामी सबै कुनै समय पूर्ण रूपमा असहाय थियौं । भविष्यमा फेरि पनि असहाय हुन सक्छौं ।
वास्तवमा मानवशास्त्री सारा ब्लाफर हर्डीले तर्क गरेअनुसार मानव शिशु जन्मँदै अत्यन्त असहाय हुने भएकाले अरूबाट हेरचाह र प्रतिबद्धता प्राप्त गर्न उसले उनीहरूसँग अनुकूल हुनुपर्ने आवश्यकता पर्छ । सम्भवतः यही कारणले मानिसको विशिष्ट मनोविज्ञानको विकास भएको हो । अर्को शब्दमा भन्नुपर्दा, हामीले गर्व गर्ने हाम्रा बौद्धिक र व्यवहारगत क्षमताहरू सबै मानिसमा समान रूपमा रहेको सामान्य असहायपन र परनिर्भरताकै उपज हुन् ।
प्राणीका रूपमा बाँच्ने कि मेसिनका रूपमा
निःसन्देह, मानिसको कमजोरी र परनिर्भरताको महिमा गाउनु नै लुथरन धर्मगुरुका छोरा फ्रेडरिक नित्सेलाई इसाई कथामा सबैभन्दा आपत्तिजनक लागेको कुरा थियो । (ईश्वर पनि शिशुका रूपमा जन्मिनुपर्ने !)
अहिले प्रविधि कम्पनीहरूले पनि मानिसको आवश्यकतायुक्त र कमजोर शरीरप्रति आफ्नो उपेक्षा नित्सेले प्रयोग गर्ने भाषासँग मिल्दोजुल्दो शैलीमा प्रस्तुत गरिरहेका छन् । उनीहरूले आफूले बनाएका डिजिटल पुतली र गोलेम बेच्न यही दृष्टिकोण अपनाएका छन् ।
‘तपाईंको सबैभन्दा उत्कृष्ट सन्तान जन्माउनुहोस्’ भन्ने विज्ञापन गरिन्छ । यहाँ ‘उत्कृष्ट’ भन्नाले सबैभन्दा कम हेरचाह आवश्यक पर्ने सन्तान भन्ने बुझिन्छ । त्यस्तै, ‘मानिसलाई काममा राख्न बन्द गर्नुहोस्’ भन्ने नारा पनि सुनिन्छ । किनभने मानिसले खाना खान्छ, दिसापिसाब गर्छ, सुत्छ, बिरामी हुन्छ, नुहाउँछ, हाँस्छ, चुम्बन गर्छ, नाच्छ, खेल्छ, कला सिर्जना गर्छ, गल्ती गर्छ र अरूलाई पनि यस्तै काम गर्न सहयोग गर्छ । यी सबै कारणले मानिसलाई निरन्तर काममा लगाएर सेयरधनीको नाफा बढाउन सम्भव हुँदैन भन्ने उनीहरूको तर्क छ ।
यी कम्पनीहरूले आफूलाई भविष्यवक्ताजस्तै प्रस्तुत गर्दै मानव वास्तवमा के हो भन्नेबारे क्याथोलिक धर्मशास्त्रसँग मिल्दोजुल्दो कथा सुनाइरहेका छन् । मानिस अरूमाथि निर्भर रहने र पूर्ण रूपमा तर्कसंगत निर्णय गर्न नसक्ने प्राणी हो ।
तर, दुवै दृष्टिकोणबीचको मुख्य भिन्नता यही हो– मानिसको यस्तो प्राणीगत निर्भरता त्याग्नुपर्ने कमजोरी हो कि स्वीकार गर्नुपर्ने मानवीय विशेषता ?
के हाम्रा सीमितता ‘सच्याउनुपर्ने त्रुटि’ हुन् ? अथवा ‘यही वास्तविकताका माध्यमबाट हाम्रो मानवता परिपक्व हुन्छ र अरूसँग सम्बन्ध स्थापित गर्ने बाटो खुल्छ ?’
२० वर्षभन्दा पहिले नै कवि तथा निबन्धकार वेन्डेल बेरीले यो बढ्दो विभाजनबारे चेतावनी दिएका थिए । उनी त कम्प्युटरसमेत किन्न अस्वीकार गर्ने व्यक्ति थिए । उनले भनेका थिए, ‘आगामी दिनमा संसारको सबैभन्दा ठूलो विभाजन प्राणीका रूपमा बाँच्न चाहने मानिस र मेसिनका रूपमा बाँच्न चाहने मानिसबीच हुनेछ भन्ने कल्पना गर्न मलाई कठिन लाग्दैन ।’
बेरीको जस्तो अवस्था मेरो छैन । मसँग कम्प्युटर छ, इन्स्टाग्राम खाता छ र एन्थ्रोपिकको सदस्यतासमेत छ । तर, यदि मलाई आफ्ना डिजिटल प्रतिरूपविनाको जीवन र शरीरसहितको परस्पर निर्भरताविनाको जीवनमध्ये एउटा रोज्न भनियो भने म कुन रोज्छु भन्नेमा कुनै द्विविधा छैन ।
मलाई बोर्बन स्ट्रिटको कामुक र उन्मुक्त ऊर्जा चाहिन्छ । मलाई यस्तो तीव्र एक्लोपन चाहिन्छ, जहाँ भोड्का नै थ्यांक्स गिभिङ पर्वको एक मात्र सम्भावित भोजनजस्तो लागोस् । पाँच दिनसम्म छुट्टिएर बसेको बच्चालाई अँगालो हाल्दा निसास्सिने गरी आउने आनन्द पनि मलाई चाहिन्छ । म आफूलाई मान्छेकै रूपमा बाँच्न चाहनेहरूको पक्षमा उभ्याउँछु ।