नेभिगेशन
साहित्य

त्यस्तो के लेखिन् सोनियाले ?

भारतीय राष्ट्रिय कंग्रेसकी पूर्वअध्यक्ष तथा संसदीय दलकी प्रमुख सोनिया गान्धीको आत्मकथा ‘बिलङिङ ः अ जर्नी अफ लभ’ यतिबेला भारतीय राजनीतिमा चर्चाको विषय बनेको छ । व्यक्तिगत जीवन, प्रेम, विवाह, पारिवारिक दुःख, सत्ता राजनीति र भारतका विवादित ऐतिहासिक घटनाबारे उनले पुस्तकमा गरेका खुलासाले राजनीतिक बहस चर्काएको छ ।
५४४ पृष्ठको पुस्तक गत मंगलबार भारत र अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको हो । भारतमा हार्परकलिन्स र अमेरिकामा अल्फ्रेड ए नप्फले पुस्तक प्रकाशन गरेका हुन् । पुस्तकमा इटालीमा बिताएको बाल्यकालदेखि राजीव गान्धीसँगको विवाह, भारत आगमन, गान्धी परिवारसँगको सम्बन्ध र कंग्रेसको नेतृत्वसम्मको यात्रा समेटिएको छ ।
सोनियाको जन्म ९ डिसेम्बर १९४६ मा इटालीको भेनेटो क्षेत्रमा भएको थियो । पिता स्टेफानो माइनो र माता पाओला माइनोको परिवारमा हुर्किएकी उनी अध्ययनका लागि बेलायत पुगेकी थिइन् । त्यही क्रममा क्याम्ब्रिजमा राजीव गान्धीसँग उनको भेट भयो । प्रेम सम्बन्ध विवाहमा परिणत भएपछि उनी सन् १९६८ फेब्रुअरीमा भारत आइन् ।
भारत आएपछि भारतीय रहनसहन, भाषा, खानपान र संस्कृतिमा घुलमिल हुन उनलाई सहज थिएन । आत्मकथामा उनले साडी लगाउन सिक्दाको कठिनाइदेखि भारतीय परिकारसँग परिचित हुँदासम्मका अनुभव उल्लेख गरेकी छन् । विवाहमा उनले लगाएको साडी जवाहरलाल नेहरूले जेलमा रहँदा कातेको धागोबाट बनेको थियो । पुस्तकमा यस्ता निजी प्रसंगले पनि स्थान पाएका छन् ।
सन् १९८४ मा सासू इन्दिरा गान्धीको हत्या र सन् १९९१ मा पति राजीव गान्धीको आत्मघाती विस्फोटमा भएको हत्याले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । त्यसअघि सन् १९८० मा देवर सञ्जय गान्धीको विमान दुर्घटनामा मृत्यु भएको थियो । परिवारमा लगातार भएका यी घटनाले आफूलाई पारेको प्रभाव पनि उनले पुस्तकमा उल्लेख गरेकी छन् ।
राजीवको हत्यापछि तत्काल राजनीतिमा नआएकी सोनिया सन् १९९८ मा कांग्रेस अध्यक्ष बनिन् । सन् २००४ को लोकसभा निर्वाचनपछि कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन सत्तामा पुग्दा उनले प्रधानमन्त्री पद अस्वीकार गरेकी थिइन् । त्यसको कारण र तत्कालीन राजनीतिक परिस्थितिबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।
पुस्तकमा सन् १९७५ को संकटकाललाई गल्तीका रूपमा व्याख्या गरिएको छ । इन्दिरा गान्धीले पनि पछि त्यस निर्णयप्रति असहज महसुस गरेको सोनियाको भनाइ छ । उनका अनुसार सञ्जय गान्धीलाई नियन्त्रणमा राख्न सकेको भए संकटकालका केही नकारात्मक परिणाम रोक्न सकिन्थ्यो । राजीवले भने निर्वाचनसम्म पर्खन आमालाई सुझाव दिएका थिए ।
सन् १९८४ को अपरेसन ब्लुस्टारपछि आफ्नो घरको एउटा कोठामा ग्रिनेड फेला परेको प्रसंग पनि पुस्तकमा छ । स्वर्ण मन्दिरमा भएको सैन्य कारबाहीका तस्बिर देखेपछि इन्दिरा गान्धी रोएको उनले लेखेकी छन् । त्यस्तै, सन् १९९२ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काइएको घटनालाई भारतीय राजनीतिमा निर्णायक मोडका रूपमा व्याख्या गरेकी छन् ।
सन् १९८४ को शिखविरोधी हिंसालाई उनले दुःखद र लज्जास्पद अध्याय भनेकी छन् । हिंसा रोक्नुपर्ने अधिकारीले बेवास्ता गरेको र न्याय प्राप्तिमा ढिलाइ भएको उनको भनाइ छ । तर, राजीव गान्धीमाथि लागेको हिंसामा संलग्नताको आरोपको उनले बचाउ गरेकी छन् । यही विषयलाई लिएर भारतीय जनता पार्टीले सोनियामाथि इतिहासलाई आफ्नो अनुकूल प्रस्तुत गर्न खोजेको आरोप लगाएको छ ।
पुस्तकमा सन् २०१० मा स्तन क्यान्सर देखिएको र त्यसको उपचारका लागि इटाली गएको प्रसंग पनि छ । त्यसको एक वर्षपछि प्यान्क्रियाजमा असामान्य वृद्धि देखिएको उनले उल्लेख गरेकी छन् । इन्दिरा गान्धीसँगको प्रारम्भिक सम्बन्ध, बुहारी मेनका गान्धीसँगको पारिवारिक विवाद र पूर्वराष्ट्रपति प्रणव मुखर्जीसँगको राजनीतिक संवादसमेत पुस्तकका महŒवपूर्ण प्रसंग हुन् ।
पुस्तक सार्वजनिक हुनुअघि नै प्रकाशन विवादमा परेको थियो । सुरुमा पेंगुइन ¥यान्डम हाउस इन्डियाले प्रकाशन गर्ने तयारी गरेको थियो । तर, नरेन्द्र मोदी सरकार, राष्ट्रिय स्वयंसेवक संघ, साम्प्रदायिक हिंसा र अल्पसंख्यकका अवस्थासम्बन्धी केही अंश हटाउनुपर्ने विषयमा सहमति नजुटेपछि सम्झौता अघि बढेन । त्यसपछि हार्परकलिन्सले भारतीय संस्करण प्रकाशन गरेको हो ।
पुस्तक सार्वजनिक भएपछि भाजपाले यसलाई कांग्रेसको ऐतिहासिक गल्ती ढाकछोप गर्ने प्रयास भनेको छ । कांग्रेस नेताहरूले भने आत्मकथालाई राजनीतिक विवादमा तान्न खोजिएको आरोप लगाएका छन् । पुस्तकका विषयवस्तुले भारतको इतिहास र वर्तमान राजनीतिक नेतृत्वबीच नयाँ बहस सिर्जना गरेको छ । यसअघि स्पेनी लेखक हाभियर मोरोको उपन्यास ‘द रेड सारी’ पनि सोनियाको जीवन चित्रणलाई लिएर विवादमा परेको थियो । (एजेन्सीहरू)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
मुन्धुम शब्दकोश सार्वजनिक

मुन्धुम शब्दकोश सार्वजनिक