नेभिगेशन
साहित्य

दशकौँ उपेक्षित बुकर पुरस्कार विजेता

८१ वर्षको उमेरमा बुकर पुरस्कार जितेर वृद्ध पुरस्कार विजेताको इतिहास बनाएका एम. जोन ह्यारिसन साहित्यलाई विधाको साँघुरो घेरामा बाँध्न चाहँदैनन् । विज्ञानकथा, कालो हास्य, गथिक भय र समुद्री किनारको कथालाई मिसाएर लेखिएको उनको उपन्यासले संसारको अन्त्यभन्दा पनि त्यसपछि पैदा हुने अन्योलको चित्रण गर्छ । उनी भन्छन्– ‘मानवता गलत दिशातर्फ अघि बढिरहेको छ, तर त्यसलाई रोक्न कसैले परिणामको सम्झना गराइरहनुपर्छ ।’
एम. जोन ह्यारिसनको अनुहारमा चम्किला आँखा छन्, कपाल चाँदीजस्तै सेतो छ र पछाडि पोनीटेल बनाएर बाँधिएको छ । उमेरले ८१ वर्ष पुगे पनि उनी त्यति बूढा देखिँदैनन् । उनको नामको ‘एम’ ले माइकल जनाउँछ । साथीहरू उनलाई माइक भनेर बोलाउँछन् । तर अहिले साहित्यिक संसारमा उनको परिचय एउटा असाधारण उपलब्धिसँग जोडिएको छ– ८१ वर्षको उमेरमा बुकर पुरस्कार जित्ने अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ लेखक ।
उनले आफ्नो १३औं उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’का लागि यो पुरस्कार जितेका हुन् । बुकर पुरस्कारको ५८ वर्ष लामो इतिहासमा विज्ञानकथासँग निकट सम्बन्ध राख्ने उपन्यासले पहिलोपटक यो सम्मान पाएको हो । ह्यारिसनको लेखन यात्रा सुरु भएको समयसँग पनि बुकर पुरस्कारको इतिहास लगभग बराबर छ । सन् १९६५ देखि लेखनमा सक्रिय उनी झण्डै छ दशकपछि साहित्यको प्रतिष्ठित पुरस्कारको केन्द्रमा आइपुगेका छन् ।
पुरस्कार जितेको घोषणा हुँदा समारोहस्थलमा उपस्थित क्यामेराहरू उनको अनुहारतिर सोझिएका थिए । उनले एउटा हातले मुख छोपेका थिए । अनुहारमा आश्चर्यको भाव स्पष्ट देखिन्थ्यो । अघिल्लो रातको त्यो क्षण सम्झँदै उनी भन्छन्, ‘त्यो मेरा लागि ठूलो झट्का थियो । तर पक्कै पनि सुखद झट्का ।’
ह्यारिसनको जित धेरैका लागि अप्रत्याशित थियो । उनी लामो समयदेखि मूलधारको साहित्यिक पुरस्कारको दौडमा देखिने लेखक थिएनन् । उनका पुस्तकहरू परम्परागत कथावाचनभन्दा फरक, अनौठा र कहिलेकाहीँ बुझ्न कठिन मानिन्छन् । उनी आफैँ पनि आफ्ना पुस्तक सबै पाठकलाई मन नपर्ने स्वीकार गर्छन् ।
‘मेरो लेखन कि असाध्यै मन पर्छ, कि पटक्कै मन पर्दैन । यो ‘मार्माइट’ जस्तै हो,’ उनी भन्छन् । बेलायतमा प्रचलित मार्माइट नामको खाद्य पदार्थ कसैलाई अत्यन्त मन पर्छ भने कसैलाई पटक्कै मन पर्दैन । ह्यारिसनका पुस्तकको स्वाद पनि त्यस्तै छ । उनका अनुसार कुनै पुस्तक हातमा लिनेबित्तिकै मन पराउने पाठक जीवनभर उनका पुस्तक पढिरहन्छन् ।
उनलाई आफ्ना पुस्तक कठिन र अलमलपूर्ण लाग्ने गरेकोमा आश्चर्य लाग्छ कि लाग्दैन ? उनी भन्छन्, ‘लाग्छ पनि, लाग्दैन पनि । मलाई आफैं पढ्न गाह्रो हुने पुस्तक मन पर्छ । त्यस्ता पुस्तकले मेरो रुचि कायम राख्छन् । तर सजिलै बुझिने पुस्तकले मलाई चाँडै दिक्क बनाउँछन् ।’
उनको विचारमा कथाको सबै रहस्य खोलिदिनु नै साहित्यको उद्देश्य होइन । उनी भन्छन्, ‘रहस्यको महŒव समाधानमा भन्दा बढी हुन्छ । पाठकलाई पुस्तकको अन्त्यसम्म तानिराख्ने कुरा रहस्य नै हो । जब तपाईं सबै गाँठो फुकाएर अन्त्य गरिदिनुहुन्छ, त्यही क्षण पुस्तकको यात्रा सकिन्छ । तर पाठकका लागि सम्भावनाका ढोका खुला राख्दै कथालाई प्रभावकारी रूपमा अगाडि बढाइरहनुभयो भने पाठक पुस्तकसँगै रहिरहन्छ ।’

अन्त्यभन्दा ठूलो अन्योल
‘द एन्ड अफ एभ्रिथिङ’ लेख्न ह्यारिसनलाई करिब १५ वर्ष लाग्यो । यसबीच वास्तविक संसारका घटनाहरूले उनको कल्पनालाई समेत उछिनिरहेका थिए । कृत्रिम बुद्धिमत्ता, पछिल्लो चरणको पुँजीवाद, पर्यावरणीय विनाश, शरणार्थी संकट र ब्रेक्जिटजस्ता समकालीन समस्याहरू उपन्यासमा भेटिन्छन् । छोटो भए पनि रहस्यमय यो कृतिले आजको संसारका अनेक संकटलाई एउटै कथाभित्र समेटेको छ ।
उपन्यासको शीर्षकले नै हाम्रो अन्त्यको समयबारे संकेत गर्छ । तर, ह्यारिसनका लागि संसारको अन्त्य ठूलो विस्फोट वा नाटकीय विनाशका साथ हुँदैन । त्यो अन्त्यहीन अन्योलका रूपमा देखा पर्छ ।
‘एक दिन अचानक मैले सोचें, अब तिमी ८० वर्षका भइसक्यौ । एकपटक फेरि सबै कुरा किनाराबाट धकेलेर तल खसाल्ने प्रयास किन नगर्ने ?’ उनी आफ्नो लेखन प्रक्रियाबारे भन्छन्, ‘मेरो नियम सधैं कुनै विषयलाई सकेसम्म अन्तिम सीमासम्म पु¥याउने र त्यसपछि अलिकति पछाडि फर्किने थियो । तर यसपटक मैले त्यसलाई सिधै किनाराबाट धकेलिदिएँ र के हुन्छ भनेर हेर्ने निर्णय गरें ।’
त्यसपछि के हुन्छ भन्ने कुरा पाठकले सजिलै ठम्याउन सक्दैन ।
उनका अनुसार यो उपन्यास कुनै समाजले आफ्नो आधार गुमाएपछि उत्पन्न हुने व्याख्यात्मक पतन र ज्ञानसम्बन्धी संकटको चित्रण गर्ने प्रयास हो । उनी यसलाई गोथिक भयकथा, सडक यात्रामा आधारित चलचित्र, विज्ञानकथा र काल्पनिक साहित्यको मिश्रण मान्छन् । ‘समुद्री किनारको उपन्यास’ पनि भन्छन् । यसमा व्यंग्यको पाटोसमेत छ ।
तर ह्यारिसन आफ्नो कृतिलाई डिस्टोपियन उपन्यास मान्दैनन् । बरु प्रारम्भिक जे.जी. बलार्ड वा जोन विन्डहमका कृतिको परम्परामा लेखिएको विपत्तिपछिको संसारको कथा ठान्छन् । उनले पाठकलाई कथाका पात्रभन्दा बढी जानकारी नहोस् भन्ने चाहेका थिए । ‘यदि तपाईंलाई यो ट्रिफिड्स नामक वनस्पतिजस्ता जीवहरूको कथा हो भनेर सुरुमै बताइन्थ्यो भने यो सामान्य विज्ञानकथा मात्र हुन्थ्यो,’ उनी भन्छन् ।
यो उपन्यासको बीजारोपण सन् २००७–०८ को विश्वव्यापी वित्तीय संकटका बेला भएको थियो । त्यसबेला ह्यारिसनभित्र आक्रोश थियो तर त्यसलाई लेखनमा उतार्न सकिरहेका थिएनन् । उनले लेखिसकेको सामग्री दराजमा थन्क्याए । सन् २०१५ मा त्यही सामग्रीलाई आधार बनाएर ‘द क्राइसिस’ नामको छोटो कथा लेखे । पछि ‘द क्राइसिस’ कथामा फर्केर हेर्दा त्यसैभित्र पूरै उपन्यासको खाका भेटे । ‘मलाई लाग्यो, वाह ! अनि त्यसैमा काम गर्न थालें,’ उनी भन्छन् ।

किताबको दराजदेखि साहित्यको संसारसम्म
ह्यारिसनको जन्म सन् १९४५ मा बेलायतको वारविकसायरस्थित रग्बीमा भएको थियो । दोस्रो विश्वयुद्ध सकिएको धेरै समय भएको थिएन । युद्धको प्रभाव उनको बाल्यकालमा पनि परेको थियो । ‘तपाईंलाई त्यो युद्ध बिर्सनै दिइँदैनथ्यो,’ उनी सम्झन्छन् ।
उनका बुबा इन्जिनियर थिए । परिवार युद्धपछि देशका महŒवपूर्ण सेवामा काम गर्ने कर्मचारीहरूका लागि बनाइएको आधुनिक घरहरूको बस्तीमा बस्थ्यो । बाल्यकालको एउटा विशेष सम्झना कपडाको दराज हो, जुन नार्नियाको कथामा वर्णन गरिएको दराजजस्तै थियो । उनी त्यसको भित्र पस्दा १९२० को दशकका रहस्यपूर्ण उपन्यासदेखि समकालीन विज्ञानकथा पत्रिकासम्मका पुस्तक भेट्थे ।
“त्यहाँ तपाईंले आनन्द लिनु हुँदैन भनिएका सबै खालका पुस्तक थिए,” उनी हाँस्दै भन्छन् । ती पुस्तक कसका थिए भन्ने उनलाई थाहा छैन । उनका आमाबुबासँग भने बैठक कोठाको तल्लो तलामा क्लासिक पुस्तक राखिएको एउटा सानो दराज मात्र थियो । तर ती अनौठा पुस्तकहरू नै उनको कल्पनाशक्तिका लागि असाधारण पाठशाला बने ।
ह्यारिसन १३ वर्षको हुँदा उनका बुबाको निधन भयो । त्यसपछि उनकी आमाले पनि श्रीमान्को मृत्युको पीडाबाट कहिल्यै पूर्ण रूपमा मुक्ति पाउन सकिनन् । ह्यारिसनले कहिल्यै आत्मकथा लेखे भने यो विषय त्यसमा समेटिनेछ ।
विद्यालयमा उनको खासै रुचि थिएन । उनी नियमित रूपमा विद्यालय नगई बाहिर घुम्न जान्थे र १८ वर्षको उमेरमा औपचारिक शिक्षा छाडे । किशोरावस्थामै उनी विभिन्न खालका पुस्तक पढ्थे र विज्ञानकथा पत्रिकाका लागि कथा लेख्न थालेका थिए ।
२१ वर्षको उमेरमा उनको पहिलो छोटो कथा ‘साइन्स फ्यान्टासी’ पत्रिकामा प्रकाशित भयो । सन् १९६८ मा उनी विज्ञानकथा पत्रिका ‘न्यू वल्ड्र्स’ को साहित्यिक सम्पादक बने । त्यसअघि र त्यसपछि उनले अनेक खालका काम गरे । आफू केही हदसम्म हिप्पी स्वभावको भएको बताउने ह्यारिसनले लेखनलाई नै जीवनको पेसा बनाउने निर्णय गरे । ‘लेख्ने हो भने लेखनबाहेक अरू केही नगर्ने र त्यसको परिणाम जे आए पनि स्वीकार गर्ने निर्णय गरेँ,’ उनी भन्छन् ।
त्यसको अर्थ कहिले साथीहरूको घरमा सोफामा रात बिताउनु हुन्थ्यो त कहिले पर्याप्त खाना नहुनु । पश्चिमी लन्डन अहिलेको जस्तो परिचित ठाउँ बन्नुअघि त्यहाँ उनी र उनका समकालीन लेखकहरू अत्यन्तै दयनीय अवस्थामा बाँचिरहेका थिए तर उनी ती दिनलाई रमाइलो समयका रूपमा सम्झन्छन् ।
उनको पहिलो उपन्यास ‘द कमिटेड मेन’ सन् १९७१ मा प्रकाशित भयो । त्यसपछि उनले लेखेरै जीवन चलाउँदै आए । उनी भन्छन्, ‘मैले लेखक बन्ने हो भने लेखेरै बाँच्ने प्रयास गर्नुपर्छ, लेखनलाई नै पेसा बनाउनुपर्छ भन्ने निर्णय गरें । त्यसैले धेरै समय कुनै जागिर नगरी जसोतसो जीवन चलाएँ । मेरो यो सल्लाह कसैले मान्नु हुँदैन । तर जीवनयापनका लागि लेखनबाहेक अरू विकल्प नरहने अवस्था सिर्जना गर्नुभयो भने त्यसले तपाईंलाई लेखनमा असाध्यै केन्द्रित बनाउँछ ।’
पश्चिमी लन्डनको कठिन जीवन सम्झँदा उनी त्यस समयको अभाव र आनन्द दुवैलाई एकसाथ सम्झन्छन् । अहिले भने उनी आफ्नी जीवनसाथी, सम्पादक तथा लेखिका क्याथ फिलिप्ससँग स्रोपसायरको ग्रामीण क्षेत्रमा बस्छन् । उनीहरूको घर निकै पुरानो छ– सन् १७८५ तिर बनेको हुन सक्ने ह्यारिसन बताउँछन् । उनीहरूका सन्तान छैनन् । तर फिलिप्सका भतिजीहरू भने ह्यारिसनको नाम बुकर पुरस्कार विजेताका रूपमा घोषणा हुँदा बैठक कोठामा उफ्रिँदै चिच्याएका थिए ।
लेखनमा उनको अनुशासन पनि आफ्नै खालको छ । उपन्यासको पहिलो मस्यौदा उनी कालो नोटबुकमा लेख्छन् । लेख्नका लागि उनी ‘मुजी’ कम्पनीका ०.५ मिलिमिटरका रातो र कालो कलम प्रयोग गर्छन् । अहिले पनि उनी नयाँ विषयमा काम गरिरहेका छन् । त्यो अन्ततः उपन्यास बन्न सक्छ वा छोटा कथाहरूको संग्रह ।

विधा भञ्जनको अडान
ह्यारिसनको लेखन यात्राको सुरुदेखि नै एउटा महŒवाकांक्षा रह्यो– साहित्यका विभिन्न विधाबीच खडा गरिएका विभाजन हटाउने । सन् १९६५ मा लेख्न सुरु गरेदेखि नै यही उनको मार्गदर्शक सिद्धान्त बनेको छ ।
विज्ञानकथा लेख्ने लेखकले कमजोर पात्र सिर्जना गर्नुपर्छ वा साहित्यका अन्य विषयमा लेख्न पाउँदैन भन्ने मान्यतासँग उनी कहिल्यै सहमत भएनन् । धेरै वर्ष पुस्तक समीक्षकका रूपमा काम गर्दा उनले बारम्बार प्रश्न उठाउँथे, ‘हामी विज्ञानकथा लेख्छौं भन्दैमा किन कमजोर लेखक हुनुपर्ने ? हामीले राम्रा पात्रहरू किन सिर्जना गर्न नसक्ने ? हामीले सबै कुरा किन लेख्न नपाउने ?’
उनका पुस्तक विभिन्न प्रकाशन गृहले फरकफरक विधाअन्तर्गत प्रकाशित गरेका छन् । ‘भिरिकोनियम’ शृंखला काल्पनिक साहित्यका रूपमा, ‘केफाहुची ट्रयाक्ट’ शृंखला विज्ञानकथाका रूपमा र ‘द एन्ड अफ एभ्रिथिङ’ साहित्यिक उपन्यासका रूपमा प्रस्तुत गरिएको छ । पुस्तक पसलमा आफ्ना पुस्तक फरकफरक ठाउँमा राखिएको देख्दा उनलाई अनौठोभन्दा पनि रिस उठ्छ ।
‘पुस्तकलाई विभिन्न विधामा राख्नु अनिवार्य कुरा होइन । यस्ता विधा प्राकृतिक रूपमा अस्तित्वमा आएका पनि होइनन् । लेखकले पुस्तक लेख्न आफूलाई आवश्यक पर्ने कुरा विभिन्न विधाबाट लिन्छ,’ उनी भन्छन् ।
तर विधाको मिश्रणले कहिलेकाहीँ रमाइलो अनुभव पनि दिएको छ । सन् १९८९ मा पर्वतारोहीहरूबारे ‘क्लाइम्बर्स’ उपन्यास लेखेपछि उनी एउटा ठूलो पुस्तक पसलमा पुगेका थिए । त्यहाँ उनको पुस्तक पाँचवटा फरक ठाउँमा राखिएको थियो– आत्मकथा, समकालीन उपन्यास, खेलकुद, पर्वतारोहण र अर्को कुनै विधा । ‘त्यो देखेर मैले सोचें, यो त गजबै भो ! उनीहरूले मेरो पुस्तक कुन विधामा राख्ने भनेर निर्णय गर्नै सकेनछन् ।’
उनका साहित्यिक आदर्शमध्ये एक जे. जी. बलार्ड पनि लेखनमा यस्तै मिश्रित शैली अपनाउँथे । १६ देखि २० वर्षको उमेरसम्म बलार्ड र टी. एस. इलियटको लेखनले ह्यारिसनलाई गहिरो प्रभाव पारेको थियो । विशेषगरी बलार्डको लेखनमा पाइने अनुभूति उनलाई प्रिय थियो ।
‘बलार्डले एउटा खास अनुभूति लेख्थे । उनको पुस्तक पढ्दा त्यो अनुभूति तपाईंले पनि महसुस गर्नुहुन्थ्यो । पुस्तक पढिसक्दा सुरुमाभन्दा बढी केही थाहा पाएको हुँदैनथ्यो । तर एउटा विशेष अनुभूति मनमा रहिरहन्थ्यो । त्यसमा सन्देश हुन्थ्यो, जुन सीधै भावना र संवेदनासँग जोडिएको हुन्थ्यो,’ उनी भन्छन् ।
ह्यारिसनलाई दिवंगत उर्सुला के. ले गुइन र इयान बैंकजस्ता लेखकदेखि अहिलेका चिनियाँ लेखक चाइना मिएभिलसम्मले साहित्यिक विज्ञानकथाका महŒवपूर्ण लेखकका रूपमा सम्मान गर्छन् । आश्चर्यजनक रूपमा ‘सेक्स एन्ड द सिटी’ की चर्चित अभिनेत्री तथा गत वर्षकी बुकर पुरस्कार निर्णायक सारा जेसिका पार्कर पनि उनका प्रशंसकमध्ये एक हुन् । यद्यपि उनी अझै आम मानिसले घरघरमा चिन्ने लेखक बनिसकेका छैनन् ।
उनको पहिचान पछिल्ला वर्षमा विस्तार हुँदै गएको थियो । उनले ‘द सनकेन ल्यान्ड बिगिन्स टु राइज अगेन’ का लागि गोल्डस्मिथ्स पुरस्कार जितेका थिए । उक्त पुस्तकले परम्परागत लेखनशैलीको घेरा तोडेको थियो । सन् २०२२ मा उनी स्वयं बुकर पुरस्कारको निर्णायक मण्डलमा पनि थिए । यसपटक आफ्नै उपन्यासले बुकर जितेपछि उनले यसलाई लामो लेखकीय यात्राको मान्यताका रूपमा लिएका छन् ।
‘विज्ञानकथासँग नजिकको सम्बन्ध भएको पुस्तकलाई पनि गम्भीर साहित्यिक कृतिका रूपमा स्वीकार गरेर बुकर पुरस्कार दिन सकिँदो रहेछ,’ उनी भन्छन्, ‘मेरो समस्या सधैं एउटै रह्यो– म साहित्यलाई विभिन्न विधामा बाँड्ने कुरामै विश्वास गर्दिनँ । कुनै पनि अर्थमा गर्दिनँ ।’
उनका लागि यो पुरस्कार सम्मान मात्र होइन, आफूले चाहेको शैलीमा लेखिरहन पाउने अनुमति पनि हो । ‘मैले धेरै वर्षअघि नै आफैंलाई भनेको थिएँ, बुकरको लामो सूचीमा मात्र पर्न सके पनि त्यो ठूलो उपलब्धि हुनेछ । गोल्डस्मिथ्स पुरस्कार र त्यसपछि यो पुरस्कार जित्नु भनेको आफू जे हो, त्यही रूपमा र आफूले जे लेख्न चाहेको हो, त्यही लेख्न पाउने अनुमति पाएजस्तै हो ।’
पुरस्कार जितेपछि उनले प्रकाशन उद्योगप्रतिको पुरानो आक्रोश केही कम भएको बताएका छन् । ‘उमेर बढ्दै जाँदा म पनि शान्त हुँदै गएको छु,’ उनी भन्छन् । तर विधागत वर्गीकरणप्रतिको असन्तुष्टि भने अझै उस्तै छ ।
उनका अनुसार प्रकाशन उद्योगले पुस्तकलाई निश्चित विधामा राखेर बजार व्यवस्थापन गर्दै आएको छ । यसले लेखकको सिर्जनात्मक स्वतन्त्रता मात्र होइन, पाठकको दायरा पनि सीमित बनाउँछ । पुरस्कार राशि ग्रहण गरेपछि उनले भनेका थिए, ‘पुस्तकको बजार व्यवस्थापन लामो समयदेखि विधागत वर्गीकरणकै आधारमा हुँदै आएको छ । त्यसैले अहिले यो अवधारणाको प्रभाव निकै बलियो भइसकेको छ ।’
उनको विचारमा लेखकले आफूलाई कुनै एउटा परिचयको ट्यागमा सीमित गर्नुपर्ने अवस्था हुनुहुँदैन । ‘अन्ततः तपाईं आफू जे हुनुहुन्छ, त्यही रूपमा चिनिन पाउनुपर्छ । निधारमा कुनै एउटा परिचयको ट्याग टाँसिनु हुँदैन । यो पुरस्कार जितेजस्तो घटनाले त्यस्तो स्वतन्त्रता दिन्छ ।’
८१ वर्षीय लेखकले बुकर पुरस्कारबाट प्राप्त मञ्चलाई विधागत वर्गीकरणविरुद्धको अभियानलाई निरन्तरता दिन प्रयोग गर्ने बताएका छन् । उनको आशा छ– यसले मूलधारका प्रकाशकलाई दुईवटा मात्र होइन, तीन वा चारवटा विधाको मिश्रण गरेर पनि उपन्यास लेख्न सकिन्छ भन्ने देखाउनेछ ।
यस वर्षको बुकर पुरस्कार निर्णायक मण्डलकी अध्यक्ष मेरी बियर्डले पनि पुस्तकको बजार व्यवस्थापनमा गलत वर्गीकरण हुने गरेको बताएकी थिइन् । उनका अनुसार समस्या उपन्यासभित्र के लेखिएको छ भन्नेमा मात्र सीमित छैन, पुस्तकको परिचय र आवरणमा त्यसलाई कसरी प्रस्तुत गरिन्छ भन्नेमा पनि छ । निर्णायकहरूले विभिन्न विधाको मिश्रण भएका उपन्यास भेटेका थिए, तर तिनको आवरणमा ‘किशोरावस्थाबाट वयस्क जीवनतर्फको यात्रा’ जस्ता परिचय दिइएको थियो । भित्री कथासँग मेल नखाए पनि बजारमा पुस्तकलाई त्यही रूपमा प्रस्तुत गरिन्थ्यो ।
ह्यारिसनका अनुसार पुस्तक कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा अत्यन्त महŒवपूर्ण छ । ‘अहिले आफ्नै पुस्तक लेख्नुको खासै अर्थ छैन जस्तो लाग्छ । किनकि बिक्रीका लागि त्यसलाई तपाईंले लेखेको भन्दा अर्कै रूपमा प्रस्तुत गरिन्छ । पुस्तकबारे अत्यन्तै हास्यास्पद दाबी गरिन्छन् । कतिपय अवस्थामा ती दाबी लेखककै लागि अपमानजनक हुन्छन् ।’
गत महिना लेखक रिचर्ड उस्मानले पनि यही विषय उठाएका थिए । उनले आफ्नो ‘थर्सडे मर्डर क्लब’ शृंखलाका पुस्तकलाई हास्य उपन्यासका रूपमा नभई हत्यासम्बन्धी रहस्यकथाका रूपमा बजारमा प्रस्तुत गरिएको बताएका थिए । ‘किनकि मानिसहरूले हास्य उपन्यास किन्दैनन्,’ उनको भनाइ थियो ।
ह्यारिसनको पुरस्कार विजेता उपन्यास प्रकाशित गर्ने सर्पेन्ट्स टेलजस्ता स्वतन्त्र प्रकाशन गृह भने विधाको मिश्रण भएका वा कुनै निश्चित विधामा नपर्ने उपन्यासप्रति बढी खुला रहेको उनको अनुभव छ । ‘विधागत वर्गीकरणले लेखकलाई अपांग बनाउँछ,’ उनी भन्छन् । लेखकले आफूले सामना गरेका समस्याको समाधान गर्न जुनसुकै विधाका विशेषता र शैली प्रयोग गर्न पाउनुपर्छ ।
‘आखिर पुस्तक लेख्नु भनेकै समस्याहरू समाधान गर्नु हो । कुनै पुस्तकलाई एउटा निश्चित कोटिमा राख्न सकिएला, तर त्यसो गर्नुको अर्थ के? यसले पाठकको दायरा सीमित बनाउँछ । म त जोसुकैसँग, सबैसँग संवाद गर्न चाहन्छु ।’

यन्त्रमेधा (एआई)सँगको अनौठो भेट
विधागत सीमा भत्काएर नयाँ शैलीमा लेख्ने ह्यारिसनलाई कृत्रिम बुद्धिमत्ताले पनि एक दिन साहित्य सिर्जना गर्न सक्ला कि भन्ने प्रश्न गरिएको थियो । उनको जवाफमा निश्चितता थिएन । ‘यसले भविष्यमा के गर्न सक्छ भन्ने जान्न हामी अहिले धेरै टाढासम्म हेर्न सक्दैनौं,’ उनी भन्छन् ।
तर यस विषयमा उनको एउटा रोचक अनुभव छ । उनले आफ्नो उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’ बारे लेखिएका दुईवटा समीक्षा पढेका थिए । ती समीक्षा पढेर उनी निकै खुसी भएका थिए । पुस्तकबारे गरिएको मूल्यांकन उनलाई सही लागेको थियो । पछि ती समीक्षा कृत्रिम बुद्धिमत्ताले लेखेको थाहा पाएपछि भने उनी स्तब्ध भए ।
एआईको सम्भावित विनाशकारी प्रभावबारे सोध्दा उनी त्यसलाई आवश्यकताभन्दा बढी महŒव दिइएको विचार मान्छन् । ‘मलाई लाग्छ, यो विचारलाई आवश्यकताभन्दा बढी महŒव दिइएको छ । मलाई त यो विज्ञानकथाजस्तै लाग्छ । तर म के जानूँ र ? हामीले धेरै कुरा देखिसकेका छौं, तर अझै पर्याप्त कुरा देखेका छैनौं ।’
उनको उपन्यासमा गैरमानवीय बौद्धिकताले संसारको नियन्त्रण लिने सम्भावनासमेत समेटिएको छ । तर वास्तविक संसारको भविष्यप्रति उनको दृष्टिकोण भने एआईको भयभन्दा व्यापक छ । पर्यावरणीय विनाश, पुँजीवाद, शरणार्थी संकट र सामाजिक अन्योलजस्ता विषयले उनलाई बढी चिन्तित बनाएका छन् ।

पहाड चढ्ने मोहबाट लेखनको एकाग्रतासम्म
ह्यारिसनले लेखेका पुस्तकहरूमध्ये ‘क्लाइम्बर्स’ लाई आफ्नो सबैभन्दा उत्कृष्ट कृति मान्छन् । भविष्यमा लेख्ने कुनै पुस्तकले पनि त्यसलाई उछिन्न नसक्ने उनको विश्वास छ ।
‘म ‘क्लाइम्बर्स’ जस्तो अर्को पुस्तक लेख्न सक्ने अपेक्षा गर्दिनँ । किनकि त्यो एउटा सीमित विषय र पूर्णतः मानवीय दृष्टिकोणबीचको उत्कृष्ट सन्तुलन थियो,’ उनी भन्छन् ।
उनी आफैं पनि लामो समय पर्वतारोहण गर्थे । तर कोभिड महामारीपछि उनले त्यो रुचि छाडे । एकपटक शेफिल्डनजिकैको स्टेनेज एजमा पानी परिरहेका बेला आरोहण मार्गमा थिए । त्यसबेला उनलाई पर्वतारोहणमा पहिलेको जस्तो आनन्द आउन छाडेको महसुस भयो । ‘त्यतिबेला मैले सोचेँ, धत् ! अब यो काम छाड्नुपर्छ । यो निकै दुःखद कुरा थियो किनभने लामो समयसम्म पर्वतारोहण नै मेरो सबैभन्दा ठूलो मोह थियो ।’
अहिले उनको त्यो मोह लेखनमा केन्द्रित भएको छ । उनी भन्छन्, “एक हिसाबले हेर्दा मैले राम्रो निर्णय गरेँ । यसले मलाई लेखनप्रति फेरि उस्तै गहिरो लगाव विकास गर्ने अवसर दियो ।”
आफ्नो जीवनको ‘अन्तिम चरण’मा रहेको बताउने ह्यारिसनका अनुसार उमेर ढल्किँदै जाँदा लेखकहरू केही जटिल र जिद्दी स्वभावका हुँदै जान्छन् । उनीहरूलाई आफूले चाहेको काम मात्र गर्न मन लाग्छ । ह्यारिसनका लागि पनि यही कुरा लागू हुन्छ । आफ्नो अडानमा अडिग रहँदा प्रकाशन उद्योगसँग सम्झौता गरेर भन्दा धेरै पुस्तक बिक्री गर्न सकेको उनको दाबी छ ।
“यसरी आफ्नो अडानमा अडिग रहेर मैले प्रकाशन उद्योगसँग सम्झौता गरेर भन्दा धेरै पुस्तक बिक्री गरेँ,” उनी भन्छन् । अहिले त उनले त्यही उद्योगको सबैभन्दा ठूलो पुरस्कारसमेत जितेका छन् ।
पुरस्कारसँगै प्राप्त हुने ५० हजार पाउन्ड उनको जीवनमा उपयोगी हुने रकम हो । “मैले जीवनमा खासै धेरै पैसा कमाएको छैन । त्यसैले मेरा लागि जस्तोसुकै पारिश्रमिक पनि राम्रो पारिश्रमिक हो,” उनी भन्छन् ।
पुरस्कारको रकम केमा खर्च गर्ने भन्ने प्रश्नमा उनी घरको मर्मतसम्भार गर्ने योजना सुनाउँछन् । विशेषगरी पुरानो घरमा राम्रो छाना हाल्न चाहन्छन् । २० वर्षअघि यो पुरस्कार पाएको भए चढाइका सामान किन्ने र फ्रान्स गएर पहाड चढ्ने योजना बनाउने थिए । तर अहिले त्यसका लागि आफू धेरै बूढो भइसकेको उनको ठम्याइ छ ।
उनको लेखनमा आत्मविश्वासको कमी पनि छ । बुकर पुरस्कार ग्रहण गर्ने क्रममा उनले आफूमा आत्मविश्वास निकै कम रहेको बताएका थिए । यद्यपि आफ्ना पुस्तकप्रतिको अडानमा भने उनी कहिल्यै कमजोर भएनन् । अहिले पनि उनी नयाँ कृतिमा काम गरिरहेका छन् । लेखनलाई जीवनको केन्द्रमा राख्ने उनको योजना छ ।

भविष्यप्रति आशा छैन, तर चेतावनी जारी छ
ह्यारिसनको उपन्यासको अन्त्यलाई उनी आशावादीभन्दा पनि ‘सकारात्मक’ मान्छन् । तर मानवताको भविष्यप्रति आशा छ कि छैन भन्ने प्रश्नमा उनको जवाफ स्पष्ट छ– ‘छैन । मलाई कुनै आशा छैन ।
उनी थप्छन्, ‘हामी सपनामा हिँडेजस्तै गर्दै एउटा भयावह अवस्थातर्फ अघि बढिरहेका छौं । कसैले त हामीलाई हरेक कामको परिणाम हुन्छ र हामी ती परिणामलाई बेवास्ता गरिरहेका छौं भन्ने कुरा सम्झाइरहनुपर्छ ।’
के मानिसलाई यस्तो कुरा सम्झाउनु उपन्यासकारको जिम्मेवारी हो ? ह्यारिसनका अनुसार उपन्यासकारका धेरै जिम्मेवारी हुन्छन् । पाठकलाई मोहित बनाउनु, मनोरञ्जन दिनु र कथामा बाँधिराख्नु तिनै जिम्मेवारीमध्ये पर्छन् । तर उनी आफूलाई सधैँ ‘क्यासान्ड्रा’ को भूमिकामा रहेको लेखक ठान्छन् । ग्रीक मिथककी क्यासान्ड्राले भविष्यमा आइपर्ने विपत्तिको चेतावनी दिन्थिन्, तर उनको कुरा कसैले पत्याउँदैनथ्यो ।
‘मेरो लेखन सधैँ एउटा चेतावनी हो– तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरामा सावधान रहनुहोस्,’ उनी भन्छन् ।
ह्यारिसनको लेखनले उनलाई साहित्यिक विज्ञानकथाका महान् लेखकको पंक्तिमा पु¥याएको छ । उनका प्रशंसक र आलोचक दुवै छन् । कसैलाई उनका पुस्तक असाध्यै मन पर्छन्, कसैलाई पटक्कै पर्दैनन् । तर उनी आफूलाई मन पर्ने पुस्तक लेख्न र साहित्यका विधाबीचका पर्खाल भत्काउन निरन्तर लागिरहे ।
बुकर पुरस्कार जितेपछि उनको लेखकीय जीवनमा ठूलो परिवर्तन आएको छ । उनी यसलाई आफ्नो करिअरको महŒवपूर्ण मोड मान्छन् । तर पुरस्कारले उनको लेखनको बाटो बदल्ने छैन । उनी लेखिरहनेछन् ।
‘अल्जाइमर रोगले ढोका ढकढक्याउन नआएसम्म लेखिरहनेछु,’ कुराकानीको अन्त्यमा उनी भन्छन् । यति भनेर उनी फेरि हाँस्छन् । यसपटक उनको हाँसो पहिलेभन्दा लामो हुन्छ ।

(विभिन्न एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
श्रीकृष्णका कविता लोकार्पित

श्रीकृष्णका कविता लोकार्पित

विगतका कथा लेख्ने मोह

विगतका कथा लेख्ने मोह